संसद भवनमा पत्रकारहरुलाई रोक्नुपर्ने कारण छैनः सभामुख घिमिरे

नेपालभ्युज

संसद भवनमा पत्रकारहरुलाई रोक्नुपर्ने कारण छैनः सभामुख घिमिरे
फाइल फोटो

काठमाडौं । सभामुख देवराज घिमिरेले संसदमा पत्रकारहरुलाई सहज रुपमा रिपोर्टिङ गर्ने वातावरण बनाउने बताएका छन् । सोमवार संसदीय मामिला पत्रकार समाजसँग आवद्ध पत्रकारहरुसँग परिचयात्मक भेटघाट गर्दै सभामुख घिमिरेले पत्रकारहरुलाई संसदमा सहज रुपमा रिपोर्टिङ गर्ने वातावरण बनाउने बताएका हुन् ।

उनले मिडियाले समाजलाई समयमै सूचना तथा समाचारहरु संप्रेषण गर्ने र समाजलाई परिवर्तन गर्न भुमिका खेल्ने भन्दै संसद भवनमा पत्रकारहरुलाई रोक्नुपर्ने कुनै कारण नभएको बताए । उनले पत्रकारहरुलाई परेको असहजतालाई हटाउनका लागि आफूले ध्यान दिने बताए । सभामुख घिमिरेले पत्रकारले संप्रेषण गर्न लागेको कुरालाई संसद सचिवालय अथवा सभामुखले रोक्ने स्थिति आउन नदिने प्रतिवद्धता जनाए ।

उनले भने,  ‘मिडिया भनेको भइरहेका कुराहरु समाजलाई समयमै संप्रेषण गरेर सचेत गराउने हो। अब हुने कुराहरु भनेको देश निर्माण, समाज परिवर्तन गर्नको लागि  गरिएका प्रयत्नहरु र  निर्णयहरु हुन् ।’ उनले अगाडि थपे, ‘पत्रकार जनताको बीचमा सही कुरा संप्रेषण गर्न लाग्ने, सही कुरा रोक्नको लागि चाहीँ संसद, संसद सचिवालय, सभामुख आदि लाग्नुपर्ने यस्तो स्थिति आउनुपर्ने कारणहरु छैन ।’

उनले समाजलाई सचेत गराउन पत्रकारहरुको भुमिका महत्वपूर्ण हुने बताए । उनले समाजलाई सचेत बनाउने भुमिकामा पत्रकारितालाई लानुपर्नेमा जोड दिए । पत्रकारिता क्षेत्रमा देखिएका कमी, कमजोरीहरुलाई अन्त्य गर्नुपर्ने पनि उनको भनाई छ । उनले पत्रकारितालाई राज्यको तेस्रो आँखाको रुपमा विकास गर्नुपर्ने बताए ।

‘पत्रकारहरुले खेलेको भुमिकाले नेपाली समाजलाई सचेत गर्छ । त्यो चेतनाको आधारमा संगठित गर्छ । संगठनको आधारमा उसले अगाडी बढ्ने बाटो तय गर्छ । यो मामिलामा पत्रकारहरुको धेरै ठूलो भुमिका हुन्छ भन्ने म ठान्दछु’ उनले भने,  राज्यको तेस्रो आँखा भनेर चर्चा गरिएको हाम्रो पत्रकारितालाई वास्तवमा तेस्रो अंगकै रुपबाट विकास गर्नलाई हामीले के गर्नुपर्ला ? संसदको तर्फबाट के गर्नुपर्ला ? पत्रकारहरुको तर्फबाट के गर्नुपर्ला ? हाम्रो साझा दायित्व हो ।

सभामुख घिमिरेले शहीद दिवसको अवसरमा शहीदहरुप्रति श्रद्धाञ्जली पनि व्यक्त गरे। उनले शहीदहरुको सपना साकार पार्न सबैलाई प्रेरणा मिलोस् भन्ने कामना गरे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved