विवेकशील साझाको ठम्याइँ- प्रेमप्रसाद आचार्यको आत्मदाह राज्य संरचनात्मक हत्या

नेपालभ्युज

विवेकशील साझाको ठम्याइँ- प्रेमप्रसाद आचार्यको आत्मदाह राज्य संरचनात्मक हत्या

काठमाडौं । विवेकशील साझा पार्टीले प्रेमप्रसाद आचार्यको आत्मदाहलाई राज्य संरचनात्मक हत्या भनेको छ ।

पार्टीकी संयोजक समीक्षा बाँस्कोटाद्वारा जारी विज्ञप्तिमा भनिएको छ— प्रेमलाई आत्महत्या गर्न राज्यले दुरुत्साहन गरेको हो, यसको सम्पूर्ण जिम्मा लामो समयदेखि सधैँ सत्तामा बस्ने तर युवा, उद्यमी, पौरखी र स्वदेशमै केही गरौँ भन्ने आम नागरिकहरूका विरुद्ध दलाल, बिचौलिया, सुदखोर र घुसखोर संरक्षण गर्ने दल र तिनका नेताहरू हुन् भन्ने कुरा छर्लङ्गै छ।

पार्टीले आचार्यको आत्मदाह स्वदेशमै उद्यम व्यवसाय गरेर मुलुकको समृद्धिको यात्रामा टेवा टेवा पुर्‍याउँछु भन्ने युवाहरूको सपनाको जलन भएको ठहर गरेको छ । ‘साना तथा मझौला उद्यमीले भोग्दै आएको समस्या, दलाल राज्य व्यवस्था र विकृत प्रणालीविरुद्ध स्वयम् भुक्तभोगीको रूपमा पौठेजोरी खेलिरहेका उद्यमी आचार्यको आत्मदाह आम उद्यमी व्यवसायी र युवाको सपनाको जलन हो भन्ने हाम्रो ठम्याइँ छ,’ त्यहाँ भनिउको छ ।

यस्तै पार्टीले आचार्यले आत्मदाह गर्नुअघि उठाएका सवालहरूमाथि सरकारको ध्यानाकर्षण गराएको छ । उसले आचार्यको सम्मानमा बिहीबार १ दिन पार्टीको झण्डा आधा झुकाउने भएको छ ।

पार्टीले आचार्यले उठाएका २५ बुँदे सुझावलाई आगामी महाधिवेशनमा नीतिगत छलफल सेसनमा जोडदाररूपमा उठान गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेको छ ।

यसअघि मंगलबार इलामका ३६ वर्षीय व्यवसायी प्रेमप्रसाद आचार्य सन्तोषले संसद् भवन नयाँ बानेश्वरअगाडि आत्मदाह गरेका थिए, जसको बुधबार बिहान मृत्यु भइसकेको छ ।

हेर्नूस् प्रेस विज्ञप्ति;

यहि २०७९ माघ १० गते, मंगलबार अपरान्ह सङ्घीय संसद् अगाडि आत्मदाहको प्रयास गरि गंभिर घाइते भएका विवेकशील साझा पार्टी इलामका पूर्व संयोजक प्रेम प्रसाद आचार्यको आज विहान भएको दुखद निधनले विवेकशील साझा पार्टी र समतामूलक संवृद्धि महाअभियानलाई स्तब्ध बनाएको छ।

विवेकशील साझा पार्टी आचार्यप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछ।

स्वदेशमै उद्यम व्यवसाय गरेर मुलुकको संवृद्धिको यात्रामा टेवा पु¥याउँछु भन्दै साना तथा मझौला उद्यमीले भोग्दै आएको समस्या, दलाल राज्य व्यवस्था र विकृत प्रणाली विरुद्ध स्वयं भुक्तभोगीको रूपमा पौठेजोरी खेलिरहेका उद्यमी आचार्यको आत्मदाह आम उद्यमी व्यवसायी र युवाको सपनाको जलन हो भन्ने हाम्रो ठम्याई छ।

आचार्यको आत्मदाहले मुलुकमा कुन हदसम्म विकृति, बेथिति, वितृष्णा र निराशा छ, गरिखान खोज्नेहरुलाई कसरि पाइलै पिच्छे निरुत्साहित गरिन्छ भन्ने कुरा उनले भोगेका र उठाएका निर्मम प्रश्नबाट प्रष्ट भएका छन् ।

प्रेमलाई आत्महत्या गर्न राज्यले दुरुत्साहन गरेको हो यसको सम्पूर्ण जिम्मा लामो समयदेखि सधैँ सत्तामा बस्ने तर युवा, उद्यमी, पौरखी र स्वदेशमै केही गरौँ भन्ने आम नागरिकहरूका विरुद्ध दलाल, बिचौलिया, सुदखोर र घुसखोर संरक्षण गर्ने दल र तिनका नेताहरू हुन भन्ने कुरा छर्लङ्गै छ।

विवेकशील साझा पार्टी स्वर्गीय आचार्यको सम्मानमा विहीवार १ दिन पार्टीको झण्डा आधा झुकाउने र उनले उठाएका २५ बुँदे सुझावलाई आगामी महाधिवेशनमा नीतिगत छलफल सेसनमा जोडदार रूपमा उठान गर्ने प्रतिबद्धता व्यक्त गर्दछ।

स–श्रद्धा
समीक्षा बाँस्कोटा
संयोजक
विवेकशील साझा पार्टी महाधिवेशन आयोजक मूल समिति


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved