नेपालमा अचम्मको चलन : आठ दिनमा चार दिन बिदा !

जानकार भन्छन्-‘देशै ठप्प पार्ने सार्वजनिक बिदा प्रणाली सुधारौँ’

पछिल्लो १२ दिनको गणना गर्ने हो भने आधा बिदामै बित्यो। पुस २७ पृथ्वी जयन्ती, पुस ३० शनिबार यसै पनि बिदा थियो। कतिपयलाई बिदाप्रति नै वितृष्णा जागिसकेको छ।

नेपालमा अचम्मको चलन : आठ दिनमा चार दिन बिदा !

काठमाडौं। संसारभरि कै मानिसहरू क्यालेन्डरको पानामा पल्टाएर बिदा कहिले रहेछ भन्दै खोजिरहेका हुन्छन्। तर नेपालमा भने क्यालेन्डर बिदाले राताम्मै छ। यति दिन बिदा हुन्छ कि कतिपयलाई बिदाप्रति नै वितृष्णा जागिसकेको छ।

माघ २ मा शोक मनाउन सरकारले बिदा दिँदा आएका प्रतिक्रियाले पनि आम नागरिकको आक्रोश देखाइसकेको छ। पछिल्लो ८ मा ४ दिन त सार्वजनिक बिदा भयो । पछिल्लो १२ दिनको गणना गर्ने हो भने आधा बिदामै बित्यो। पुस २७ पृथ्वी जयन्ती, पुस ३० शनिबार यसै पनि बिदा थियो।

माघ लागेपछि लगातार र दिन बिराएर बिदैबिदा भयो। माघ १ गते माघी बिदा, माघ २ गते शोक बिदा, माघ ७ गते शनिबार बिदा र माघ ८ गते सोनाम ल्योछार बिदा भयो।

नेपालमा चाडपर्व र जयन्तीको बहानामा बिदाले क्यालेन्डर भरिँदै गएको छ। यही प्रवृत्तिप्रति कतिपयले सामाजिक सञ्जालमा व्यङ्ग्य गरेका देखिन्छ ‘‘यसरी नै बिदाको सङ्ख्या बढाउँदै जाने हो भने कुनै समय त्यस्तो दिन आउने छ, वर्षभरिमा काम गर्नेभन्दा बिदाको दिन धेरै हुनेछ।’’

कुनैदिन साँच्चै यस्तै अवस्था आयो भने अनौठो मान्नु पर्दैन। नेपालमा सार्वजनिक बिदालाई प्रतिष्ठाको विषय बनाउने चलन छ। उत्सव मनाउन होस् या शोक मनाउन परोस पूरै देश ठप्प पारेर सार्वजनिक बिदा दिइन्छ।

किन दिने बिदा ?

कतिपय चाडपर्वमा दिइएको बिदाले सामाजिक–सांस्कृतिक सम्बन्धहरू सुमधुर बन्न सहयोग पुग्छ। व्यक्तिगत जीवन बीच सन्तुलन कायम गर्न सहयोग पुग्छ। आफन्त र पारिवारिक सामिप्यता पनि बढ्छ। तर नेपालमा भने खुशी पार्न र हचुवाको भरमा निर्मित बिदा प्रणालीलाई मुलुकलाई क्षति गरिरहेको अर्थराजनीतिका जानकार बताउँछन्।

बिदाले देशको उत्पादनमा असर गर्छ। सार्वजनिक सेवा प्रवाहको काम ठप्प हुँदा विकास निर्माणका कामदेखि जनजीविकामै असर गर्छ। अर्कोतर्फ कर्मचारीको बिदा भए पनि तलब र सुविधा दिनैपर्छ। यसले उत्पादन तथा राज्यलाई आयभन्दा लागत बढ्न जाँदा घाटा बढी हुने जानकारको ठम्याइ छ।

बिदाको दिन ज्यालामा काम गर्ने मजदुरले आफ्नो तलब गुमाउँछन्। तर दैनिक खर्च भइरहेको हुन्छ। उद्योगमा पनि बिदाको दिन उत्पादन शून्य हुन्छ। बिदाले विकास आयोजनाको दैनिक कार्ययोजनालाई नै पछाडि धकेलिदिने जानकारको ठम्याइ छ।

थोरैले मनाउने पर्वमा सबैलाई बिदा

नेपालमा दिइँदै आएको बिदा अरू देशको तुलनामा धेरै छ। कर्मचारीलाई प्रत्येक वर्ष ३० दिन घर बिदा, १२ दिन बिरामी बिदा, ६ दिन भैपरी बिदा र ६ दिन पर्व बिदा दिइने गरेको छ ।

कुल जनसङ्ख्याको १ प्रतिशतभन्दा कम जनसङ्ख्या भएका जातजातिले मनाउने कतिपय चाडपर्वमा समेत सार्वजनिक बिदा दिइन्छ।

लालबाबु पण्डित, पूर्व सामान्यप्रशासन मन्त्री

मुलुक गणतन्त्रमा गएपछि थपिएको बिदा संघीय प्रणालीमा गएसँगै स्थानीय र प्रादेशिक सरकारले समेत बढाउँदै गएका छन्। हप्ताको एक दिन शनिबार दिइने बिदाबाहेक अरूलाई राष्ट्रिय बिदा नभनि सम्बन्धित क्षेत्रलाई मात्र दिइनुपर्ने पूर्व सामान्यप्रशासन मन्त्री लालबाबु पण्डितको तर्क छ।

‘‘सान्दर्भिकता, व्यावहारिकता हेरेर बिदा दिनुपर्छ। कसैलाई खुशी पार्न बिदा दिने होइन। सरकारले पनि यस्ता बिदा कटौती गर्नुपर्छ। कुनै पनि जात, धर्म, समुदायले पनि बिदालाई प्रतिष्ठा बनाउन बन्द गर्नुपर्छ ।’’ पण्डित भन्छन्।

बिदाप्रति वितृष्णा

देश नै ठप्प पारेर बिदा दिँदा उत्पादन कम, खर्च बढी र विकास निर्माणका काम हुन पाउँदैनन्। जनताले सेवा पाउँदैनन्। अहिलेको सबैलाई खुशी पार्न दिँदै आएको बिदा प्रणालीलाई परिवर्तन गरेर वैज्ञानिक बनाउनुपर्छ’’

इन्धनको बढ्दो खपतले नेपाली मुद्रा बिदेशिएको भन्दै न्यूनीकरण गर्ने बहानामा अघिल्लो सरकारले दुई दिने बिदाको अवधारणा ल्यायो। चर्को आलोचना र जे प्रयोजनको लागि बिदा दिइयो त्यो नभएपछि कार्यान्वयनमा आएको महिना दिन नपुग्दै बिदा खारेज भयो।

जुन अभ्यास २०५० को दशकमै पूर्ण रूपमा असफल भइसकेको थियो। पछिल्लो समय सरकारले पृथ्वी जयन्तीमा दिएको सार्वजनिक बिदा पनि विवाद मुक्त बन्न सकेन।

१ माघमा विमान दुर्घटनालगत्तै सरकारले भोलिपल्ट दिइएको शोक बिदाले यसको औचित्यमाथि नै बहस निम्त्यो। यसअघि बिदा दिने विषयमा खासै टीकाटिप्पणी नभए पनि पछिल्लो पटक पुष्पकाल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले राष्ट्रिय शोकको घोषणा गरेर सार्वजनिक बिदा दिँदा आलोचनात्मक टिप्पणी भयो।

सबैलाई खुशी पार्न बिदा

श्रीलङ्कापछाडि सबैभन्दा बढी बिदा हुने मुलुकमा नेपाल पर्छ । अर्थतन्त्र सुधार गर्न यसलाई कटौती गर्नैपर्ने पूर्व प्रशासकहरूको तर्क छ। ‘जाती, धर्म, समुदाय, चाडपर्व लक्षित बिदा अनावश्यक भएको र दुर्घटनापछि पनि शोक दिनु औचित्यहीन भएको पूर्व सचिव विमल काेईराला बताउँछन्।

विमल कोइराला, पूर्व मुख्यसचिव

‘‘बिदा भनेको अत्यन्तै महत्त्वपूर्ण तथा राष्ट्रिय विषयमा दिनुपर्ने हो। यो बिदाले न त कर्मचारीलाई नै ठीक छ, नत्र सेवाग्राही सर्वसाधारणलाई नै ठीक छ। कर्मचारीले अनुमान गरेर तयारी गरेको हुन्छ। बिचमा कुन दिन आकस्मिक बिदाहुँदा काममा असर गर्छ। आकस्मिक आएको बिदाको कुनै सदुपयोग हुँदैन।” उनी भन्छन् “उता सेवाग्राहीको पनि योजनाअनुसार काम बन्दैन। बरु कर्मचारीलाई १० दिन आफूखुसी बिदा भनेर दिने। तर कार्यालय बन्द नगर्ने। यसरी बिदा दिइँदा कर्मचारीहरूले प्लानअनुसार काम गर्न पाउँछन्। बिदा सदुपयोग गर्न सक्छन्। बिदाले उत्पादन कम र खर्च मात्र बढी हुन्छ।’’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved