गण्डकी कांग्रेस भन्छ- प्रतिपक्षमै बस्छौँ, केन्द्रमा जस्तो सरकारलाई विश्वासको मत दिन्नौँ

नेपालभ्युज

गण्डकी कांग्रेस भन्छ- प्रतिपक्षमै बस्छौँ, केन्द्रमा जस्तो सरकारलाई विश्वासको मत दिन्नौँ

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत लिँदैछन्। प्रदेश सभाको कार्यसूचीमा शुक्रबार (आज) दिउँसो १ बजे मुख्यमन्त्रीले विश्वासको मत छ ।

नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र स्वतन्त्र सांसद गरी ३३ सांसदहरूको समर्थनबाट मुख्यमन्त्री बनेका अधिकारीलाई नेपाली कांग्रेसले भने विश्वासको मत दिनेछैन । कांग्रेस सांसद डिल्लीराम सुवेदीले भने, ‘हामी सरकारलाई विश्वासको मत दिन्नौँ ।’

कांग्रेससँग ६० सदस्यीय गण्डकी प्रदेश सभामा २७ सिट छ । सांसद सुवेदीले थपे, ‘यहाँ सिनारियो फरक छ । हामी केन्द्रमा जस्तै सरकारलाई विश्वासको मत दिने पक्षमा छैनौँ ।’

यसअघि प्रतिनिधि सभामा भने कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिएको थियो । यसलाई स्मरण गर्दै सांसद सुवेदीले भनेका छन्, ‘हामी निर्णयका लागि स्वतन्त्र छौँ । हामीले सरकारलाई मत नदिने निर्णय गरेका छौँ । यहीअनुसार अगाडि जान्छौँ । हामी प्रतिपक्षमै बस्छौँ ।’

अधिकारीलाई मुख्यमन्त्रीमा समर्थन दिएका स्वतन्त्र सांसद दीपक मनाङेले पनि मत नदिने भएका छन् । मन्त्री नपाउने भएपछि उनले समर्थन फिर्ता लिएका हुन् । उनले भनेका छन्, ‘म प्रतिपक्षमै बस्छु । सरकारलाई विश्वासको मत दिन्नँ ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved