नेपाल टी–२० लिग : नेपाली क्रिकेट र संस्थाहरूको ऐना

यो लिगले नेपाली क्रिकेट र यो सँग सम्बन्धित संस्थाको दयनीय अवस्था देखाएको छ । साथै खेलाडीले कस्तो अवस्था भोग्नु पर्दो रहेछ भन्ने पनि छर्लंग भएको छ ।

नेपाल टी–२० लिग : नेपाली क्रिकेट र संस्थाहरूको ऐना

काठमाडौं। नेपाल क्रिकेट संघ क्यानले पहिलोपटक आयोजना गरेको नेपाल टी–२० लिग जेनतेन सकिएको छ। लुम्बिनी अलस्टार्सले बुधबार उपाधि जितेसँगै १९ दिने क्रिकेट प्रतियोगिता समापन भएको थियो ।

विभिन्न बाधाअवरोध, कमजोर व्यवस्थापन र विवादको सामना गरेको लिग बीचमै रोकिने हो कि भन्ने आशंका पनि थियो तर त्यसो भएन । तर, लिग सकिए पनि धेरै प्रश्नको जवाफ भने पाउन बाँकी नै छ।

लिगमा उठेको स्पट फिक्सिङ, म्याचफिक्सिङ, अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीको छानबिन, राष्ट्रिय खेलकुद परिषद् राखेपको छानबिन, खेलाडीको पारिश्रमिक, यस्ता अनेकौं प्रसङ्गको नतिजा आउन बाँकी नै छ। धेरै प्रश्नको जवाफ प्रतिक्षामा छ ।

साथै, क्यान र सेभेन थ्री स्पोर्ट्सबीचको सम्झौता, सो कम्पनीको वास्तविक छवि, आर्थिक लेनदेन लगायतका तथ्य पनि अब विस्तारै बाहिर आउलान् । तर, यो लिगले नेपाली क्रिकेट र यो सँग सम्बन्धित संस्थाको दयनीय अवस्था भने देखाएको छ ।

साथै, खेलाडीले कस्तो अवस्था भोग्नुपर्दो रहेछ भन्ने पनि छर्लंग भएको छ । लिग दोस्रो चरणमा प्रवेश गर्दा ‘धन्न…. हाम्रा खेलाडीले खेलिरहेका छन्।’, भन्ने धेरैलाई महशुस पनि भयो होला।

लिग सुरु हुनु अगाडि खेलाडीले वर्गीकृत रूपमा ५, १० र १५ लाख रुपैँया पारिश्रमिक पाउँछन् भनेर घोषणा गर्ने सेभेन थ्री स्पोर्ट्सका मालिक जतिन आलुवालिया दोस्रो चरणको खेल सुरु हुँदै गायब भए।

‘हामी वर्ल्ड क्लास क्रिकेट देखाउँछौँ’, भन्ने आलुवालियाले खेलाडीको पारिश्रमिकसमेत नदिएर सम्पर्कविहीन भएपछि क्यानमाथि पनि प्रश्न उठेको छ । क्यानले पारिश्रमिकको जिम्मा लिने घोषणा त गरेको छ। तर, कहिले रकम पाउँछन्, भन्ने थाहा छैन।

लिगमा नेपाली खेलाडीको खेल प्रतिको लगाव भने प्रशंसा गर्न लायक देखियो । उनीहरू भद्रगोल व्यवस्थापनका बीच पनि मैदानमा डटिरहे । काठमाडौं नाइट्स र विराटनगर सुपर किङ्सबीचको एउटा खेल त उदाहरणीय नै बन्यो ।

काठमाडौं नाइट्सको कुल ११ खेलाडी मात्रै रहेको त्यो खेलमा टोलीको प्रशिक्षक, मेन्टर, कोही पनि उपस्थित थिएनन्। विदेशी खेलाडी फर्किएपछि बाँकी रहेका नेपाली खेलाडी मात्रै मैदान उत्रिएका थिए ।

खेलाडीलाई पानी खुवाउनेसमेत साथी नहुँदा विपक्षी खेलाडीले सहयोग गरेको दृश्य देखियो । लिगमा नेपाली क्रिकेटरको औसत प्रदर्शनका पछाडि पनि मुख्य यही कारण थियो । अर्थात् सङ्घर्षका बीचबाट उनीहरूले मैदानमा गतिलो गरी खेल्न सकेनन् ।

गत शनिबार एक अन्तवार्तामा नेपालका पूर्वकप्तान तथा काठमाडौं नाइट्सका कप्तान ज्ञानेन्द्र मल्लले पनि खेलाडीको अवस्था दर्शाए। नेपाली खेलाडी कसरी खेलिरहेका छन् भन्ने सबैले बुझ्न नखोजेको उनले उल्लेख गरे।

खेलाडीको मानसिक स्वास्थ्यलाई पनि ध्यान दिनु आवश्यक छ भन्ने यो लिगको प्रदर्शनबाट प्रष्ट भएको छ । एक समय क्रिकेट भनेपछि हुरुक्कै हुने नेपाली समर्थकले यो लिगमा भने खासै चासो देखाएनन् । सुरुवातबाटै विवादमा परेको र टिकट महँगो राखिएपछि मैदानमा दर्शकको खडेरी लाग्यो ।

जतिबेला खेल नि:शुल्क बनाइयो त्यतिबेलासम्म ढिला भइसकेको थियो । नेपाली खेलाडीको ब्याटिङमा पकड गुमेको देखियो। बलिङमा भने प्रदर्शन सन्तोषजनक नै रह्यो। तथापि, मैदान बाहिरको अव्यवस्थित शैलीले खेलाडीलाई पार्ने असर नेपाल टी–२० लिगले ऐना जसरी देखायो।

नेपाल टी–२० लिगमा प्रतिष्ठा गुमाएको क्यानले नेपाली क्रिकेटको गरिमा जोगाउन अब कस्तो कदम चाल्ला भन्ने प्रतिक्षा छ । उसले अब भरपर्दो लगानीकर्ता खोज्न आवश्यक देखिएको छ। खेलाडीको भविष्य सुनिश्चित गर्ने गरी क्यानले नयाँ योजना बनाउनुको विकल्प छैन । नत्र नेपाली क्रिकेट माथि उठ्न निकै सकस पर्नेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved