सरकारलाई डा. गोविन्द केसीको प्रश्न : अपराधीको ठाउँ कहाँ हो ?

नेपालभ्युज

1183229745901973

काठमाडाैं। निर्मला कुर्मीको न्यायका लागि माइतीघर मण्डलामा विरोध प्रदर्शन भएको छ । आइतबार महिला अधिकारकर्मीहरूले माइतीघर मण्डलामा लालटिन बालेर सांकेतिक रूपमा सरकार खोज्दै विरोध प्रदर्शन गरेका हुन् ।

विरोध प्रदर्शनका क्रममा उनीहरूले महिला राष्ट्रपति भएको देशमा महिलाकै दूरावस्था, राष्ट्रपतिज्यु महिलाहरू सुरक्षित हुने कहिले ? महिलाको बाँच्न पाउने अधिकार खोई, के महिला एकल हुनु पाप हो ? लगायतका प्लोकार्ड बोकेर सांकेतिक विरोध जनाएका थिए । विरोध कार्यक्रममा बोल्दै डा. गोविन्द केसीले अपराधीलाई कारबाही गर्ने भनेको १ वर्ष बितिसक्दासमेत सरकारले अपराधीलाई अनुसन्धानको कठघरामा उभ्याउन नसकेको बताए ।

उनले सरकारले अपराधीलाई कारबाही गर्नुपर्ने ठाउँमा उल्टै सांसद बनाएर राखेको बताए । उनले देशमा अपराधीको स्थान कहाँ हो भन्दै सरकारसँग प्रश्नसमेत गरे। डा. केसीले राजनीति शुद्धीकरण हुनुपर्नेमा भ्रष्टीकरण र अपराधीकरण भइरहेको बताए । उनले राजनीति अपराधीहरूले चलाउने ठाउँ भएको बताए ।

उनले भने, ‘कारबाही गर्ने भनेको १ वर्ष भइसक्यो तर अहिलेसम्म अनुसन्धानका लागि कठघरामा समेत लगिएको छैन । उल्टो टिकट दिएर सांसद बनाइएको छ । अपराधीलाई कारबाही गर्ने ठाउँमा सांसद बनाउने भनेपछि अपराधीको स्थान कहाँ हो ? पार्टीमा हो कि जेलमा हो ?

अपहरण गरेर मार्ने देखेका मान्छेहरूले भन्दाभन्दै टिकट दिएर सांसद बनाइन्छ भने त्यो भन्दा बढी राजनीतिको भ्रष्टीकरण र अपराधीकरण अरु के हुन्छ । राजनीति शुद्धीकरण हुनुपर्छ । राजनीति भ्रष्टीकरण र अपराधीकरण गर्नेहरूको छ । चरमसीमामा गरिएको छ । राजनीति भनेको अपराधीहरूले चलाउने भएको छ ।’

विरोध प्रदर्शनमा महिला अधिकारकर्मी रुबी खानले सरकार आफूले गरेका वाचा र प्रतिबद्धताबाट बारम्बार पछि हटिरहेको बताए । उनले अपराधीलाई तत्काल कारबाहीको दायरामा ल्याउन आग्रह गरे ।

उनले भने, ‘सरकारले गरेको वाचा पूरा गरेको छैन । प्रतिवेदन बनायो, कार्यान्वयन भएन । दोस्रो चरणको आन्दोलन गर्दा अन्य अभियुक्तलाई समातियो तर मुख्य अभियुक्तलाई समातिएन । मुख्य अभियुक्तलाई सरकार र स्थानीय प्रहरीले नै समर्थन गरेको छ । जसकारण पीडकले सजाय पाउन सकेको छैन, पीडित मर्नुपरिरहेको छ । अनुसन्धानमा प्रहरीले समेत प्रभाव पारेको छ ।’

आन्दोलनकारी महिला अधिकारकर्मीहरूले सरकारले निर्मला कुर्मीका अपराधीलाई कारबाही नगरेसम्म आफ्नो आन्दोलन जारी राख्ने चेतावनी दिएका छन् । उनीहरूले आज (आइतबार) र्मातीघर मण्डलामा लालटिन बालेर सांकेतिकरूपमा सरकारको खोजी गरेका थिए ।

अपहरण तथा शरीर बन्धक गरी हत्यासम्बन्धी घटना छानबिन गर्न सरकारले बनाएको छानबिन समितिले आरोपितहरूलाई तत्काल पक्राउ गरी अनुसन्धान गर्न सरकारलाई प्रतिवेदन बुझाएको थियो । तर, प्रहरीले घटनाका मुख्य अभियुक्त कांग्रेसका नेता शाह कुर्मीलाई प्रहरीले पक्राउ गरेको छैन ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved