हात धोएर पनि बच्चालाई धेरै रोगबाट बचाउन सकिन्छ, धुने तरिका जानौं

नेपालभ्युज

हात धोएर पनि बच्चालाई धेरै रोगबाट बचाउन सकिन्छ, धुने तरिका जानौं

एजेन्सी । तपाईंको बच्चालाई धेरै रोगबाट बचाउन सक्ने एउटा एकदमै सस्तो, सजिलो र एकदमै महत्वपूर्ण तरिका हो हात धुने बानी ।

युनिसेफले एउटा आर्टिकल प्रकाशित गरेको छ जहाँ बच्चाहरुको स्वास्थ्यसँग हात धुने कुरा कसरी जोडिएको छ भनेर बताइएको छ । साथै हात धुने सही तरिका पनि सिकाइएको छ । जानौं त के रहेछ ।

१. बच्चालाई हात धुनुका फाइदाहरु बताउनुहोस्

सर्वप्रथम तपाईं आफ्नो बच्चालाई हात धुने बानीले उनीहरुलाई कैयौं किटाणुहरुको संक्रमण तथा भाइरसबाट जोगाउँछ साथै बिरामी परिँदैन भनेर सम्झाउनुहोस् । उनीहरुलाई सिकाउनुहोस् कसरी किटाणु तपाईको शरीरमा प्रवेश गर्छ र हातहरुमा पनि बसिरहेको हुन्छ ।

उनीहरुलाई यो पनि सिकाउनुहोस् कि जसरी नियमित दाँत माझ्न र खाना खान जरुरी छ त्यसरी नियमित हात धुनु पनि त्यत्तिकै जरुरी हुन्छ ।

२. सही तरिकाले हात कसरी धुने

बच्चाहरुलाई यो पनि जानकारी गराउन जरुरी हुन्छ कि, हल्का मिचेर पानीले पखाल्दैमा हातहरु सफा हुँदैनन् त्यसरी हातको किटाणुहरु मर्दैनन् । यहाँ स्टेप स्टेपमा हात धुने तरिका दिइएको छ ।

स्टेप १. बगिरहेको पानीमा हात भिजाउने
स्टेप २. भिजेको हातमा मजाले साबन लगाउने
स्टेप ३. सबैतिर हातहरु मिच्ने, हातको अगाडि पछाडि, औंलाको बीचमा तथा नङको वरिपरि २० सेकेन्ड जति राम्रोसँग मिच्नुपर्छ
स्टेप ४. बगिरहेको पानी (धाराको पानी) मा हात राम्रोसँग पखाल्ने
स्टेप ५. हातलाई सफा कपडाले पुछ्ने

३. कति समयसम्म हात धुनुपर्छ ?

हातहरु राम्रो साबुन वा ह्याण्डवासले करीब २० देखि ३० सेकेन्डसम्म धुनुपर्छ । बच्चाहरुलाई सजिलो तरिका छ, हात धुँदै गर्दा उनीहरुलाई ह्याप्पी बर्थ डे गीत पुरा गाउन लाइदिनुहोस् ।

यदी ह्याण्ड स्यानिटाइजरको प्रयोग गर्नुहुन्छ भने पनि यही तरिका नै अपनाउनुपर्छ । त्यस्तो स्यानिटाइजर प्रयोग गर्नुहोस् जसमा कम्तीमा ६० प्रतिशत अल्कोहल प्रयोग गरिएको होस् । चाहिने मात्रामा स्यानिटाइजर लिएर यसलाई २० सेकेन्ड हातमा दल्नुहोस्, जसमा हात पुरै समेटियोस् ।

ध्यान दिनुहोस्, ह्याण्ड स्यानिटाइजर बच्चाले खान पनि सक्छ त्यसैले ठूलाबडाको मद्दतमा प्रयोग गर्न दिनुपर्छ ।

४. हात धुने समय बच्चालाई बताउनुहोस्

तपाईंको बच्चाले दिनभरमा कैयौं पटक हात धुन पर्ने हुन्छ । यहाँ दिनभरमा प्रायः कतिकति बेला हात धुने भनेर दिइएको छ ।

  • जतिबेला हातहरु हेर्दै फोहोर देखिएको छ
  • खाना खान अघि र खाइसकेपछि
  • ट्वाइलेट प्रयोग गरेपछि
  • अन्य जनावर तथा पाल्तु जनावरहरुलाई छोएपछि
  • नाक कोट्याउने, खोक्ने तथा हाछ्युँ गर्दा, वा अन्य फोहोर चीज छोएपछि

५. यसलाई एउटा रमाइलो क्रियाकलापको रुपमा परिवर्तन गर्नुस्

हात धुने धारोमा बच्चाको हात पुग्दैन भने उसलाई कुर्सी राखेर अग्लो बनाइदिनुहोस् । साथै बासनादार तथा हेर्दा युनिक देखिने साबुनको प्रयोग गर्न सक्नुहुन्छ । जसले उसलाई हात धुन रमाइलो लागोस् ।

बच्चाले हात धुँदै गर्दा उनीहरुसँग गीत तथा बालगीत गाउनुहोस् जसले गर्दा उनीहरु रमाइलो मान्दै हात धुनेछन् ।

बच्चाहरुलाई हात कति कति बेला धुनुपर्छ भनेर राम्रोसँग सिकाउनुहोस् र यसलाई बानी बनाइदिनुहोस् । खानुअघि, खेलिसकेपछि, सुत्नुअघि यस्तो यस्तो समयमा हात धुनुपर्छ भनेर सिकाउनुहोस् ।

हातमा किटाणुहरु कसरी बसिरहेका हुन्छन् भनेर उनीहरुलाई सिकाउनुहोस् । हात धुँदा कसरी विरामीबाट बच्न सकिन्छ त्यसैले हात धुनुपर्छ भनेर बताउनुहोस् ।

परिवारमा हात धुने संस्कृतिको विकास गर्नुहोस् र यसलाई सबैले पालना गर्नुपर्छ भनेर सिकाउनुहोस् । यसका लागि बच्चाले हात धुनेबेला आफूले पनि धुने गर्नुहोस् ।

तातो पानी राम्रो कि चिसो ?

तपाईं तातो वा चिसो जुन पनि तापक्रमको पानी प्रयोग गर्न सक्नुहुन्छ । दुवै प्रकारको पानीले एकनासले नै किटाणु मार्छ, तपाईंले साबुनको प्रयोग कतिबेर गर्नुहुन्छ त्यसमा भर पर्छ ।

के हात धोएपछि सुकाउनु अनिवार्य छ ?

किटाणुहरु सुख्खा हातमा भन्दा भिजेको हातमा छिटो सर्ने गर्दछन् । त्यसैले हात धोएपछि राम्रोसँग पुछ्नु एकदमै महत्वपूर्ण छ ।

साबुनपानी वा ह्याण्ड स्यानिटाइजर कुन सही ?

जिवाणु तथा किटाणु नष्ट गर्नका लागि यी दुवै तरिका उत्तिकै प्रभावकारी हुन्छ । यदि तपाईंले सही ढंगले यसको प्रयोग गर्नुभयो भने । तर यदी तपाईका हात हेर्दा नै फोहोर छ भने साबुनपानीले नै धुनुपर्छ ।

ह्याण्ड स्यानिटाइजरको प्रयोग त्यतिबेला गर्नुहोस् जतिबेला तपाई घर बाहिर हुनुहुन्छ र हातमा धेरै फोहोर पनि छैन । साथै अल्कोहलले सबैखाले भाइरसलाई मार्छ भन्ने पनि हुँदैन । उदाहरणका लागि पखालाको भाइरस ।

यदी बच्चाहरुले ह्याण्ड स्यानिटाइजर मुखमा लगे वा निले भने खतरा पनि हुन्छ त्यसैले यसलाई बच्चाको पहुँचबाट टाढै राख्नुहोस् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved