पिसाबमा इन्फेक्सन भएको कसरी थाहा पाउने ?

सुख्खापन भएपछि संक्रमणको जोखिम बढी हुन्छ । मानिसको उमेर अवस्था र व्यक्तिगत स्वास्थ्यअनुसार संक्रमणको जोखिम हुन्छ । त्यस्तै धेरै समयसम्म पिसाब रोकेर राख्दा पनि इनफेक्सन हुने सम्भावना हुन्छ । पिसाब फेरेपछि राम्रोसँग सफा गरिएन भने पनि महिलामा इन्फेक्सन धेरै हुन सक्छ ।

नेपालभ्युज

पिसाबमा इन्फेक्सन भएको कसरी थाहा पाउने ?

काठमाडौं। मिर्गौलाबाट पिसाबको थैली हुँदै नलीबाट बाहिर निस्कने जुनसुकै ठाउँमा किटाणुले संक्रमण हुन सक्छ । पिसाबमा संक्रमण हुने कारण धेरै छन् । कुन उमेरको मानिसलाई संक्रमण भयो भन्ने कुराले अर्थ राख्छ ।

जस्तै बच्चाहरूमा जन्मजातै मुत्रथैलीबाट पिसाब किड्नीतिर सर्‍यो भने अथवा मुत्रनलीमा कतैबाट ब्लकेज भयो भने त्यसले संक्रमण गराउन सक्छ । प्राय:जसो युवाहरूमा पत्थरीका कारणले पनि पिसाबमा संक्रमण हुन सक्छ ।

त्यस्तै, बुद्ध अवस्था हो भने फरफरक कारण हुनसक्छ । पुरुष हो भने प्रोस्टेटका कारणले पिसाबमा संक्रमण हुनसक्छ । पोस्टेटको समस्या भएपछि पिसाबनली साँघुरो हुने भएकाले पिसाबको बहाव कम हुन्छ । जसका कारण पिसाबथैलीमा रहेको पिसाब पूर्ण मात्रामा निख्रिएर थैलीमा पिसाब जमेर रहन्छ ।

पिसाब जमेपछि थैलीमा ढुंगा बन्ने, पिसाब नलीमा समेत भार परेर मिर्गौला सुन्निने र संक्रमणसमेत हुन्छ । महिला हो भने छुट्टै कारण संक्रमण हुन्छ । पिसाब संक्रमण यौन अंगको सरसफाइ नगर्दा वा शरीरको कुनै भागमा भएको संक्रमण रगतको नली हुँदै पिसाब नलीमा पुग्यो भने हुने गर्छ । यो समस्या महिलाहरूमा बढी देखिने गर्दछ ।

पिसाब फेर्ने जुन ठाउँ छ र योनीको बाहिरी भागसँगै रहने हुनेले योनीको इन्फेक्सन र पिसाबको इन्फेक्सन एउटाले अर्काेलाई गराउने हुन्छ । त्यसले गर्दा पनि महिलामा पिसाबको इन्फेक्सन हुने सम्भावना धेरै हुन्छ । अझ महिनावारी बन्द भएका महिलाहरूमा संक्रमणको जोखिम धेरै हुन्छ ।

सुख्खापन भएपछि संक्रमणको जोखिम बढी हुन्छ । मानिसको उमेर अवस्था र व्यक्तिगत स्वास्थ्यअनुसार संक्रमणको जोखिम हुन्छ । त्यस्तै धेरै समयसम्म पिसाब रोकेर राख्दा पनि इनफेक्सन हुने सम्भावना हुन्छ । पिसाब फेरेपछि राम्रोसँग सफा गरिएन भने पनि महिलामा इन्फेक्सन धेरै हुन सक्छ ।

इन्फेक्सन भयो भनेर कसरी थाहा पाउने ?

पिसाबको संक्रमण हुँदा कतिपयलाई लक्षण नदेखिन पनि सक्छ । ५० वर्ष माथिका महिलाहरूलाई यसको लक्षण नै नदेखिन सक्छ, तर उनीहरूको पिसाब परीक्षण गर्ने हो भने संक्रमण देखिन सक्छ ।

सामान्यतया महिलाहरूमा तल्लो पेट दुख्ने गर्छ । कसैलाई पिसाब फेर्नुभन्दा अगाडि पनि धेरै दुख्ने हुन्छ । कसैलाई पिसाब फेरेपछि दुख्ने पनि हुन्छ । यस्तै, पिसाब फेरेपछि दुख्ने वा पोल्ने, पिसाब गरेर आएपछि फेरि जान मन लाग्ने, राति तीन चारपटक पिसाब गर्न मन लाग्यो भने पिसाबमा इन्फेक्सन भयो भनेर शंका गर्नुपर्छ ।

यस्तै, पिसाबमा रगत देखियो भने पनि संक्रमण रहेछ भनेर बुझ्नुपर्छ । लक्षण केही नदेखिए उपचार नगरे पनि खासै फरक पर्दैन, तर लक्षण देखियो भने उपचार गर्नुपर्छ।

संक्रमणबाट बच्चे उपाय

सबैभन्दा पहिला सरसफाइमा नै ध्यान दिनुपर्छ । दिशा सफा गर्ने बेला पनि ध्यान दिने गर्नुपर्छ । अहिले पछिल्लो समय हाइजिन मेन्टेन गर्ने नाममा बजारमा आएका विभिन्न क्रिम प्रयोग गरेर यौनअंगका रौँहरू सफा गर्ने चलन छ जुन विल्कुलै गलत छ ।

त्यस्ता क्रिमहरूको प्रयोगले पनि कहिलेकाही संक्रमण हुनसक्छ । सरसफाइका लागि सफा पानी नै उपयुक्त हो । यस्तै, डेढ दुई घण्टाको फरकमा पिसाब फेर्नुपर्छ । प्रशस्त पानी पिउने, आफूले प्रयोग गर्ने बाथरुम सधैं सफा हनुपर्छ ।

महिनावारीको समयमा प्रयोग गर्ने कपडा तथा प्याड समय समयमा फेर्ने गर्नुपर्छ । अझ गर्भवती महिलाले समयसमयमा पिसाबको परीक्षण गराउनुपर्छ ।

यदि, संक्रमण भइहाल्यो भने चिकित्सकको सल्लाह लिएर उपचार गर्न जरुरी छ । उपचारका लागि सबैभन्दा पहिले कल्चर गर्नुपर्छ, कल्चरको रिपोर्टअनुसार कारण पत्ता लगाएर सोही अनुसारको उपचार विधि अपनाउनुपर्छ।

(डा. भुसाल ललितपुरमा रहेको किस्ट मेडिकल कलेजका चिफ युरो एन्ड ट्रान्सप्लान्ट सर्जन हुन् । )


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved