नेपाली क्रिकेट : डेढ वर्षमा तीन प्रशिक्षकको राजीनामा

नेपालभ्युज

नेपाली क्रिकेट : डेढ वर्षमा तीन प्रशिक्षकको राजीनामा

काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेटको मुख्य प्रशिक्षक फेरि खाली भएको छ । केवल ४ महिना मात्र कार्यभार सम्हालेका मनोज प्रभाकारले नामिबिया भ्रमणपश्चात राजीनामा दिएसँगै मुख्य प्रशिक्षकको पद खाली भएको हो।

नेपाली क्रिकेट टोलीले नामिबियामा केवल १ अङ्क जोड्न सफल भयो । यस प्रदर्शनले नेपाली क्रिकेट समर्थक र क्रिकेट संघ क्यानलाई पनि चिन्तित बनाएको छ । गत शुक्रबार नेपाल भ्यूजसँगको कुराकानीमा क्रिकेट टोलीका म्यानेजर विनाद दासले नेपालले क्षमताभन्दा कम प्रदर्शन गरेको भन्दै क्यानले नतिजालाई गम्भीरतापूर्वक लिएको बताएका थिए ।

यद्यपि, सोमबार बिहान मनोज प्रभाकर भारत प्रस्थान गरेको जानकारी अनौपचारिक रुपमा बाहिरियो । क्यानले भने औपचारिक घोषणा गरिसकेको थिएन । नेपालको एकदिवसीय मान्यता धरापमा पर्ने स्थिति उत्पन्न भएको नामिबिया भ्रमणपश्चात नेपाली टोलीको समिक्षा आवश्यक देखिएको थियो। योसँगै प्रभाकारले राजीनामा दिए ।

हरेक टोलीले मुख्य प्रशिक्षकको रणनीति अनुसार प्रतिस्पर्धा गर्ने गर्दछन् । प्रभाकरको रणनीतिमा नै प्रश्न उठेको थियो। जसका कारण नामिबिया भ्रमणमा नेपालले पुरै लय गुमाएको थियो। केन्या र यूएईविरुद्धको खेलमा देखाएको ब्याटिङ त्यहाँ दोहोरिएन । बलिङमा पनि नेपालको प्रदर्शन राम्रो भएन।

अब  नेपालको क्रिकेट के होला भन्ने प्रश्न उठेको छ । विगत डेढ वर्षमा नेपाली क्रिकेट टोलीका ३ जना प्रशिक्षकले राजीनामा दिइसकेका छन्।

सन् २०२० डिसेम्बरमा नियुक्त भएका डेभ वाट्मोरले २०२१ अगस्ट मा नै राजीनामा दिए। उनले पारिवारिक समस्या देखाउँदै ८ महिने जिम्मेवारीबाट विदा लिए । तथापि, वाट्मोरले क्यानसँगको यात्रा भने निकै चुनौतीपूर्ण र सोचेभन्दा फरक रहेको बताएका थिए।

सोही समयमा नेपालका कप्तान पारस खड्काले पनि सन्यासको घोषणा गरेका थिए। क्यानसँग विभिन्न चरणमा समस्या उत्पन्न भएको थियो । वाट्मोर ओमानबाट नै भारततर्फ गएका थिए। सन् १९९६ मा श्रीलंकालाई एकदिवसीय विश्वकपको उपाधि जिताउने तथा सन् २००७ मा बङ्गलादेशलाई सुपर ८ मा पुर्‍याउने अष्ट्रेलियाली प्रशिक्षकका रुपमा उनलाई चिनिएको थियो ।

नेपालको क्रिकेटमा भने उनी लामो समय टिक्न सकेनन् । त्यसमा एउटा कारण तत्कालिन समयमा क्यानमा चलेको विवाद पनि थियो ।

यसपश्चात सन् २०२१ डिसेम्बरमा क्यानले दोस्रोपटक प्रशिक्षकमा पुबुदु दासानायकेलाई नियुक्त गरेको थियो। नेपालको क्रिकेट विवाद उत्कर्षमा पुगेको बेला पुबुदुको आगमन भएको थियो। ओमानमा नेपाली क्रिकेटरको प्रदर्शनलाई ख्याल नगरी अव्यवस्थित वरियता देखाउँदै ज्ञानेन्द्र मल्लसँगै अन्य खेलाडीले आपत्ति जनाएपछि विवाद चर्किएको थियो ।

यसपश्चात सन्दीप लामिछानेलाई कप्तान घोषणा गरिएको थियो । पुबुदुको प्रयाससँगै टोलीमा भएको आन्तरिक समस्यालाई पाखा लगाइएको थियो । तर,करिब ७ महिना नेपाली टोलीलाई प्रशिक्षण गराएपछि सन् २०२२ जुलाईमा व्यक्तिगत कारण देखाउँदै पुबुदुले राजीनामा दिए।

सन् २०११ देखि २०१६ सम्म पुबुदु पहिलो कार्यकालका लागि नियुक्त भएका थिए। पुबुदुको पहिलो प्रशिक्षण कालमा नै नेपालले टी–ट्वान्टी विश्वकपमा सहभागिता जनाएको थियो।

वाट्मेर ‘हाइ प्रोफाइल’ र पुबुदु लोकप्रिय प्रशिक्षक मानिएका थिए । दुवैजनाको बिदाई नेपाली क्रिकेटका लागि दुःखद थियो ।

करिब ४ महिना नेपालको मुख्य प्रशिक्षकको पद खाली नै रह्यो । अगस्ट ८, २०२१ मा प्रभाकर प्रशिक्षकमा नियुक्त भए । नामिबिया भ्रमणपश्चात १५ डिसेम्बर, २०२२ मा उनले राजीनामा दिए।

प्रभाकर पनि विवादबाट टाढा रहन सकेनन् । उनले नेपाली टोलीमा हुँदा पनि खेलाडीसँग सम्बन्ध राम्रो नभएको बाहिर आएको थियो। केन्या भ्रमणमा आरिफ शेख र प्रभाकारबीच विवाद भएको खबर बाहिरिएको थियो।

यूएईविरुद्धको पहिलो खेलमा आरिफले खेलेनन् । दोस्रो खेलमा भने आरिफले उत्कृष्ट प्रदर्शन गरेका थिए। सिरिजपश्चात प्रशिक्षक र खेलाडीबीचको सम्बन्धमा पनि प्रश्न उठेको थियो । तर सिरिजपछिको पत्रकार सम्मेलनमा प्रशिक्षकले सबै ठिक भएको र केवल आफुलाई नतिजा चाहिने बताएका थिए ।

क्यानका कार्यवाहक सचिव प्रशान्त विक्रम मल्ल मुख्य प्रशिक्षकको लगातार राजीनामाले खेलाडीलाई असर पुग्ने बताउँछन् । ‘मुख्य प्रशिक्षकको राजीनामाले टोलीलाई पक्कै असर पर्छ। तर, राम्रो गर्न नसक्ने प्रशिक्षकलाई बिदा गरेर नयाँ योजनामा जानु नै उचित हुन्छ।’ सचिव मल्लले भने, ‘कति प्रशिक्षकलाई हामी चित्त बुझेन भने कति प्रशिक्षक हामीलाई चित्त बुझेनन्। उहाँहरुको आफ्नो योजना र सोचाई मन परेर नै नियुक्त गर्छौँ। अहिलेको प्रशिक्षकको काम चित्त बुझेन । हामीले राजीनामा माग्यौँ।’,

नयाँ प्रशिक्षक नियुक्तिमा केही समय लाग्नेछ । तर, यो दौरान राष्ट्रिय क्रिकेट खेलाडीलाई सक्रिय बनाउन नेपाल टी–२० लिग, नियमित प्रशिक्षण लगायतका अन्य योजनासहित तयारी गरिरहेको मल्लले बताए।

अब नेपाली क्रिकेट टोलीको प्रशिक्षकका रुपमा को आउँछ भन्ने चासोको विषय हो। किन नेपाली क्रिकेट टोलीले पूरै कार्यकालको लागि मुख्य प्रशिक्षक पाइरहेको छैन ? यो प्रश्न धेरैको मनमा छ । तर जवाफ भने क्यानसँग पनि देखिदैन ।

राम्रो प्रशिक्षक आएका बेला क्यानले नै टिकाउन नसकेको देखिन्छ । वाट्मेर र पुबुदुले नेपाली क्रिकेटलाई माथि उठाउन सक्थे । तर उनीहरु टिकेनन् । यसमा क्यानकै मुख्य कमजोरी देखिन्छ । प्रभाकर भने असफल भएर फर्किए । आगामी दिनमा प्रशिक्षक नियुक्त गर्दा पक्कै क्यानले यसबारे समिक्षा गर्ने छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved