नामिबियामा नेपाली क्रिकेटको असफलता र धरापमा परेको एकदिवसीय मान्यता

नामिबियामा नेपाली क्रिकेटको असफलता र धरापमा परेको एकदिवसीय मान्यता

काठमाडौं । नेपालको नामिबिया सिरिज निराशाजनक रह्यो। विश्वकप क्रिकेट लिग २ मा ४ खेलको लागि नामिबिया पुगेको नेपालले १ खेलमा पनि जित निकाल्न सकेन। लगातार तेस्रो खेलमा पराजयपछि नेपाल विश्वकप छनोटको दौडबाट पनि बाहिरियो।

पहिलो खेलमा नेपालले घरेलु टोलीलाई १९८ को लक्ष्य दिएको थियो। नामिबियाले लक्ष्य पछ्याउने क्रममा वर्षाको कारण खेल रद्द नै भयो । दोस्रो खेलमा नेपाल स्कटल्याण्डसँग ३ विकेटले पराजित भयो। तेस्रो खेलमा नामिबियासँग ८६ रन र अन्तिम खेलमा स्कटल्याण्डसँग ८ विकेटले पराजित भयो।

यूएईविरुद्ध घरेलु मैदानमा पहिलो पटक सिरिज जितेर नेपाली टोलीले इतिहास रचेको थियो। यूएईसँगको सफलतापश्चात नेपालले नामिबिया भ्रमणमा पनि राम्रो गर्ने आशा गरिएको थियो। नेपालका मुख्य प्रशिक्षक मनोज प्रभाकरले पनि यूएईसँगको अनुभवले सहयोग पुर्याउने जनाएका थिए। तर, नेपाल यूएईविरुद्धको सफलतालाई निरन्तरता दिन त परै जाओस छेउछाउमा पनि पुग्न सकेन।

यूएईविरुद्धको एकदिवसिय सिरिजमा जित दिलाउन योगदान पुर्‍याएका खेलाडी स्कटल्याण्ड र नामिबयामा भने खरो उत्रन सकेनन्।

यद्यपि, यस प्रदर्शनलाई नेपाली क्रिकेटको अन्त्यको रुपमा लिन नहुने पूर्व राष्ट्रिय क्रिकेटर शक्ति गौचेन बताउँछन् । ‘क्रिकेट खेललाई आंकलन गर्दा परिस्थितिलाई पनि ध्यान दिनुपर्छ। अब भारत र बंगालदेशको नै एकदिवसिय सिरिज हेर्ने हो भने पनि बङ्गलादेशले जित निकाल्यो। नेपालको प्रदर्शन अपेक्षाअनुरुप भएन। दुःखको कुरा हो। तर, आत्तिहाल्नु पर्ने स्थिति भने छैन।’, गौचन भन्छन्,‘अहिलेको राष्ट्रिय टोलीमा नयाँ खेलाडी क्षमतावान छन्। तर, दबाबमा सम्हालिन भने सिक्न बाँकी छ। जसका लागि सक्दो बढि खेल आयोजना गरेर खेलाडीलाई निखार्नु पर्ने हुन्छ।’

नेपालको ब्याटिङ क्रम प्रति सधैँ उठ्ने प्रश्नपछाडिको कारण भने ग्रासरुट स्तरमा क्रिकेटको विकासमा ध्यान नदिनु रहेको गौचनले जनाए।राष्ट्रिय क्रिकेट टोलीले एकदिवसीय मान्यता जोगाउन भने मेहनत गर्नेमा गौचन आशावादी छन् । ‘नेपालले निकै दुःख गरेर एकदिवसीय मान्यता पाएको थियो। यसलाई जोगाउन भने राष्ट्रिय टोलीले अझैँ मेहनत गर्छ जस्तो लाग्छ।’, गौचनले थपे।

नेपाल क्रिकेट संघ क्यानका म्यानेजर विनोद दासले भने केन्या र यूएईसँगको खेलमा भन्दा राम्रो तयारी गरेतापनि नतिजा आफ्नो लागि नै अनपेक्षित भएको बताए ।

‘गृह मैदानमा खेल्नु र विदेशी भूमिमा खेल्नुमा पक्कै फरक हुन्छ। केन्या र यूएईविरुद्धको खेलमा ब्याटिङमा देखिएको सुधार पक्कै अभाव भएको हो। तर, हाम्रो टोलीले क्षमताभन्दा निकै कम प्रदर्शन गरेको हो।,’म्यानेजर दासले भने ‘विदेशी भूमिमा टी–२० विश्वकपमा सहभागी भएको टोलीसँगको प्रतिस्पर्धा पक्कै चुनौतीपूर्ण हुन्छ। यहाँबाट मात्र विशलेषण गर्न भने पक्कै कठिन छ। यो सिरिजको नतिजालाई हामीले गम्भीरतापूर्वक लिएका छौँ।’

नामिबिया सिरिजमा नेपालले एउटै लाइनअपलाई निरन्तरता दिएको विषयमा म्यानेजर दासले प्रशिक्षकको बचाउ गरे । उनले भने,‘हरेक प्रशिक्षक आफ्नो सोच लिएर आउँछ। सफल भए प्रशिक्षकको सोच सफल, असफल भए प्रशिक्षकको सोच असफल हुने हो। त्यसमा हामीले बोल्न मिल्दैन। तर, तयारी अनुरुप नतिजा नआउँदा रिभ्यु गर्न आवश्यक देखिन्छ।’

बलिङले प्राय सबै खेलमा नेपाललाई साथ दिने गरेको थियो । तर, यस पटकको सिरिजमा भने नेपालले न त ब्याटिङ न बलिङमा आशावादी प्रदर्शन देखायो। बलिङमा सोचेजस्तो प्रदर्शन नहुनुमा टोलीमा लेगस्पीनर नहुनु पनि हो।

यद्यपि, बलिङको दाँजोमा ब्याटिङमा नै समस्या देखिएको छ। खेलाडी किन लङ्–शट्समा आउट हुँदैछन् भन्ने प्रश्नको उत्तर पत्ता लगाउन आवश्यक छ। ब्याटिङ अर्डर पनि स्थिर हुन सकेको छैन ।

टोलीमा भएको त्रुटि समयमा नै सच्याएर प्रदर्शन सुधार गर्न नसके नेपालको एकदिवसीय मान्यता गुम्ने निश्चित छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved