स्वतन्त्र उम्मेदवार सयौँ उठ्छन् तर संसद्मा पुग्छन् केही

चुनावको सुरुवातदेखि नै स्वतन्त्र उम्मेदवारी दिँइदैआएपनि थोरैले मात्रै जित्दै आएका छन्। अहिलेसम्मको आठवटा संसदीय चुनावको इतिहास हेर्ने हो भने २६ जनाले मात्रै चुनाव जितेको देखिन्छ। २०५६ मा कसैले पनि जितेनन्। यस पटक पाँच जनाले जितेका छन् ।

नेपालभ्युज

स्वतन्त्र उम्मेदवार सयौँ उठ्छन् तर संसद्मा पुग्छन् केही

काठमाडौं। प्रतिनिधि सभा चुनावमा देशभरबाट स्वतन्त्र रूपमा ५ जनाले जितेका छन्। ८६७ जना स्वतन्त्र उम्मेदवारमध्ये पाँच जना मात्रै संसद पुगेका छन् ।

यसरी जित्नेमा रौतहट ३ बाट प्रभु साह, सर्लाही ४ बाट अमरेशकुमार सिंह, मोरङ ५ बाट योगेन्द्र मण्डल (जोगी), रौतहट २ बाट किरण साह र  बर्दिया २ बाट लालवीर चौधरी छन्।

यी मध्ये पनि अधिकांश दलका बागी वा समर्थक नै हुन् । रौतहटबाट जितेका प्रभु र किरण एमालेको टिकट अस्वीकार गरेर स्वतन्त्र उठेका हुन् । दुवै अहिले माओवादी केन्द्रसँग नजिक छन् । बर्दियाबाट जितेका लालवीर नागरिक उन्मुक्ति पार्टीका हुन् । उनी उक्त पार्टीका संरक्षक रेशम चौधरीका बाबु हुन् ।

सर्लाही-४ बाट जितेका सिंह कांग्रेसका बागी हुन् । तर उनले कांग्रेस उम्मेदवारलाई नै हराए । मोरङका मण्डल एमालेका बागी हुन् । यसरी हेर्दा खास स्वतन्त्र एकजनाले पनि चुनाव जितेका छैनन् ।

प्रधानमन्त्री शेरबहादुर देउवालाई हराउन भन्दै डडेलधुरामा सागर ढकाल कस्सिएका थिए। पूर्वप्रधानमन्त्री केपी ओलीलाई हराउन भनेर झापामा युग पाठक उठेका थिए। सागरले १३ हजार ४२ भोट ल्याए । तर, पाठकले भने जम्मा ३५६ मत मात्रै पाए ।

रौतहट-३ बाट प्रभु साहले अर्का स्वतन्त्र उम्मेदवार ओमप्रकाश जैसवाललाई हराए । साहले यो क्षेत्रबाट निरन्तर चुनाव जित्दै आएका छन्। यसअघि, उनी माओवादीबाट चुनाव लडेका थिए। २०६४ सालदेखि साहले यस क्षेत्रबाट प्रतिनिधित्व गर्दै आएका छन्।

२०७९ को निर्वाचनमा प्रतिनिधिसभातर्फ जितेका स्वतन्त्र उम्मेदवार 

सर्लाही-४ बाट अमरेशकुमार सिंहले कांग्रेसका नागेन्द्र कुमारलाई १ हजार ७६५ मतान्तरले पराजित गरे। कांग्रेसले नागेन्द्रलाई टिकट दिएपछि सिंह बागी उम्मेदवार बनेका थिए ।

मोरङ क्षेत्र नम्बर ५ मा दुवै गठबन्धनका उम्मेदवारलाई फराकिलो मतान्तरले हराउँदै योगेन्द्र मण्डल विजयी भए । उनले २१ हजार ८ सय २० मत ल्याउँदा सत्ता गठबन्धनबाट माओवादी केन्द्रका शिवकुमार मण्डलले १७ हजार ४ सय ८६ मत ल्याए ।

एमालेको समर्थनमा उठेका जसपाका राजकुमार यादवले १७ हजार ३ सय ९० मत पाए। रौतहट २ मा स्वतन्त्र उम्मेदवारी दिएका किरण साहले कांग्रेसका फिरदोस आलमलाई ४ हजार ५९४ मतान्तरले पराजित गरे। किरण प्रभु साह समूहकै हुन् । बर्दियामा  निर्वाचित स्वतन्त्र उम्मेदवार लालवीर चौधरीले माओवादी केन्द्रका सुरेश पन्थलाई १ सय ३६ मतले मात्रै पराजित गरे।

हरेक चुनावमा सयौँ उठ्छन्, तर केहीले मात्रै जित्छन्

नेपालमा स्वतन्त्र उम्मेदवारको संख्या उल्लेख्य हुने गरेको छ । तर, तीमध्ये थोरैले मात्रै जित्दै आएका छन्। २०१५ सालयता २०७९ सम्म आठवटा संसदीय चुनावको इतिहास हेर्ने हो भने २६ जनाले मात्रै स्वतन्त्र रुपमा चुनाव जितेको देखिन्छ।

२०५६ को चुनावमा कोही स्वतन्त्र उम्मेदवारले चुनाव जित्न सकेनन्। २०१५ मा ४ जना, २०४८ मा ३ जना, २०५१ मा ७ जना स्वतन्त्र उम्मेदवारले जितेका थिए । २०६४ मा २ जना, २०७० मा ४ जना, २०७४ मा १ जना स्वतन्त्र सांसद भए ।

२०१५ सालमा १०९ सिटका लागि भएको चुनावमा २६८ जना स्वतन्त्र उम्मेदवार थिए । त्यसबेला ९ वटा राजनीतिक दलका ५१८ जना चुनावी मैदानमा थिए ।

२०४६ मा बहुदलीय व्यवस्था आएपछि २०४८ सालमा पहिलो आम चुनाव भयो । त्यसमा २१९ जना स्वतन्त्र उम्मेदवार थिए। तीमध्ये ३ जना मात्र निर्वाचित भए ।

२०५१ को चुनावमा ३८५ जना स्वतन्त्र उम्मेदवार थिए। जसमा ७ जनाले जिते। अहिलेसम्म धेरै स्वतन्त्र उम्मेदवारले जितेको चुनाव त्यही हो । महोत्तरी ४ बाट शरतसिंह भण्डारी, मनाङबाट पाल्तेन गुरुङ, रुपन्देही ४ बाट ज्योतेन्द्रमोहन चौधरी, बागलुङ ४ बाट परी थापा, प्य’ठान २ बाट नवराज सुवेदी, डोल्पा १ बाट मोतिप्रसाद पहाडी र बझाङ २ बाट नरेशबहादुर सिंह गरी ७ जना निर्वाचित भए। बाग्लुङ र प्युठानका उम्मेदवार भने तत्कालLन नेकपा मसालमा आवद्ध थिए ।

२०५६ को चुनावमा स्वतन्त्र उम्मेदवारको सङ्ख्या बढेर ६३३ पुग्यो। तर, एक जना पनि निर्वाचित भएनन्।

२०६४ को संविधानसभा चुनावमा ८१६ जनाले स्वतन्त्र उम्मेदवारी दिएका थिए। जसमध्ये २ जनाले मात्रै जिते। रौतहट १ बाट बबन सिंह र सप्तरी ५ बाट सरदुरल मिया हक चुनाव जित्न सफल भए । ०६५ मा ६ सिटका लागि भएको उपनिर्वाचनमा १६ जना स्वतन्त्र उम्मेदवार थिए। कोही पनि निर्वाचित भएनन्।

०७० मा भएको दोस्रो संविधानसभा चुनावमा ११ सय ४४ जना स्वतन्त्र उम्मेदवार भए। त्यतिबेला महोत्तरी ४ बाट चन्देश्वर झा र कपिलवस्तु २ बाट अतहर कमाल मुसलमान गरी दुई जना निर्वाचित भए।

०७४ मा भएको प्रतिनिधिसभा निर्वाचनमा ४९२ जनाले स्वतन्त्र उम्मेदवारी दिए। जम्मा १ जना मात्रै निर्वाचित भए। उनी थिए, हुम्लाका छक्कबहादुर लामा।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved