सीके राउतको राजनीतिक क्रान्तिः एक सिट जित्दै ‘मन्त्री खाने’ हतारो !

डा. सीके राउत आफूलाई बौद्धिक, नैतिक र राजनीति सफा गर्ने पात्र भनेर प्रचार गरिरहेका थिए र छन् । उनको ‘राजनीतिक क्रान्ति’ को लक्ष्य पनि त्यही ‘मन्त्री खाने’ दौडमै अवसान हुने त हैन ? अहिले प्रश्न उठेको छ । हुनत सरकारमा जानु नै बिग्रनु भन्ने होइन तर त्यहाँ पुगेपछि उनी आफ्ना आदर्शमा कत्तिको टिक्न सक्लान भन्ने मुख्य प्रश्न हो । 

सीके राउतको राजनीतिक क्रान्तिः एक सिट जित्दै ‘मन्त्री खाने’ हतारो !

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले बिहीबार सत्ता गठबन्धनका नेताहरु कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटघाट गरे । भेटवार्ताको वातावरण कांग्रेस नेता विमलेन्द्र निधीले मिलाएका थिए ।

यसबारे निधीले ट्वीट गरेका छन–‘अहिले भरखरै जनमत पार्टीका अध्यक्ष डा. सीके राउतलाई लिएर प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गराएर फर्किदैछु । सकारात्मक र परिणाममुलक वार्ता भएको छ। गठबन्धन र कांग्रेससँग संघीय र प्रदेश दुवै तहमा सहकार्य गर्ने र सरकारमा सामेल हुने सहमति भएको छ ।’ सीके राउतको आधिकारिक ट्वीटर एकाउन्टबाट निधीको यो ट्वीट रिट्वीट भएको छ ।

यसको सिधा अर्थ हुन्छ– डा. सीके राउत केन्द्रीय सरकारमा मन्त्री बन्दैछन् र मधेस प्रदेशमा कांग्रेस र जनमत पार्टी लगायतको गठबन्धन सरकार बनाउने प्रयत्न हुँदैछ । अर्थात् राउतको पार्टी प्रत्यक्षतर्फ १ सिट जित्ने हैसियतमा पुग्ने वित्तिकै सरकारमा सामेल हुन हतारिएको छ।

त्यसो त जनमत पार्टीले समानुपातिकमा प्रतिनिधिसभामा थप ४ सिट जित्ने निश्चित भएको छ । यसरी संघीय प्रतिनिधिसभामा जनमत ५ सीटे पार्टी हुनेछ । संख्याको हिसाबकिताब र प्राविधिक व्यवस्थापनमा दक्ष मानिएका प्रधानमन्त्री देउवाले डा. सीके राउतको वचन चुकाएर गठबन्धनका लागि नपुग हुन सक्ने सिट संख्या जोगाड गरेका छन् । गठबन्धनलाई नयाँ सरकार गठन गर्न केही सिट अभाव हुन सक्ने अनुमान गरिदै आएको थियो ।

प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन कायम राख्न र नयाँ सरकार बनाउन थप सहयोगी कस्लाई रोज्ने हुन् भन्ने जिज्ञासा थियो । त्यसो त प्रधानमन्त्री देउवासँग अरु पनि बिकल्प थिए । उनले स्वतन्त्र सांसद, राष्ट्रिय स्वतन्त्र पार्टी, नागरिक उन्मुक्ति पार्टी, जसपा वा राप्रपा जस्लाई पनि रोज्न सक्थे । उनको पहिलो रोजाईमा डा. सीके राउत नेतृत्वको जनमत पार्टी परेको छ ।

जनमत पार्टीले अहिलेसम्म ३ लाख ९४ हजार भन्दा धेरै समानुपातिक भोट पाइसकेको छ । यसबाट कम्तिमा पनि ४ सिट प्राप्त हुने निश्चित छ । मधेस प्रदेशको समानुपातिक मतमा पनि जनमत पार्टी एमाले र कांग्रेसपछि तेस्रो स्थानमा छ । मधेस प्रदेशमा प्रत्यक्ष तर्फ ६ सिट हासिल गरेको छ।

जनमत पार्टीसँग गठबन्धनको सहकार्यसँगै मधेसमा पहिलो पार्टी भएर पनि एमाले प्रतिपक्षमा नै बस्नु पर्ने अवस्था आउने संकेत देखिएको छ । विश्लेषकहरुले जनमत पार्टी मधेसका लागि एक नयाँ र क्रान्तिकारी राजनीतिक विकल्प हुन सक्ने अपेक्षा गरेका थिए।

राउतले पुरानै दलहरुको गठबन्धनमा सामेल भएर सरकारमा जाने इच्छा देखाएपछि जनमत पार्टीले भविष्यका लागि नयाँ विकल्पको ढोका खोल्ने सम्भावना कमजोर हुने त होइन भन्ने प्रश्न उठेको छ । सीके राउत ‘स्वतन्त्र मधेश र पृथकतावादी आन्दोलनबाट मूलधारमा आएका हुन् । उनी मूलधारको राजनीतिमा समावेश हुनु राम्रै कुरा हो ।

तर, पूरै निर्वाचन परिणाम आइनसक्दै गठबन्धनमा सामेल हुने र सरकारमा जाने उनको तदारुकतालाई भने १ सिटे पार्टीको ‘मन्त्री खाने’ हतारोका रुपमा बुझिएको छ । राउतबाट शसक्त र रचनात्मक प्रतिपक्षको भूमिका अपेक्षा गर्नेहरु पनि धेरै थिए । तर, बिहिबारका भेटघाटबाट उनले त्यस्तो सम्भावनाको अन्त्य गरेका छन् ।

डा. सीके राउत आफूलाई बौद्धिक, नैतिक र राजनीति सफा गर्ने पात्र भनेर प्रचार गरिरहेका थिए र छन् । उनको ‘राजनीतिक क्रान्ति’ को लक्ष्य पनि त्यही ‘मन्त्री खाने’ दौडमै अवसान हुने त हैन ? अहिले प्रश्न उठेको छ । हुनत सरकारमा जानु नै बिग्रनु भन्ने होइन तर त्यहाँ पुगेपछि उनी आफ्ना आदर्शमा कत्तिको टिक्न सक्लान भन्ने मुख्य प्रश्न हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved