चिसो मौसममा आँखामा देखिन सक्छ यस्तो समस्या, विज्ञको सुझाव जानौं

परेला वरिपरि मात्र हामीले सफा गर्ने हो । भित्रको सफाइ आँखा आफैँले गर्छ । अर्को कुरा आँखासँगै हामीले हाम्रो टाउको पनि सफा गर्नुपर्छ चिसोको समयमा कपालमा चायाँ पर्ने सम्भावना हुन्छ त्यो चायाँ विस्तारै झरेर आँखामा पर्न सक्छ ।

नेपालभ्युज

चिसो मौसममा आँखामा देखिन सक्छ यस्तो समस्या, विज्ञको सुझाव जानौं

काठमाडौं। आँखा शरीरको एक अभिन्न अंग हो । शरीरको अन्य भागमा जस्तै आँखामा पनि विभिन्न समस्या तथा रोगहरू लाग्ने गर्छ । कहिलेकाहीँ मौसमी रोगले आक्रमण गर्दा पनि हामीलाई थाहा हुँदैन । यसका लागि सरसफाइमा ध्यान दिन जरुरी छ ।

चिसो बढ्न थालेसँगै आँखालाई विशेष ध्यान दिनुपर्ने दृष्टि विशेषज्ञ डा. दीपककुमार साह बताउँछन् । चिसो मौसममा आँखा सुख्खा हुँदा यसले समस्या निम्त्याउने उनको भनाइ छ । डा. साहसँग आँखाको समस्या र समाधानबारे नेपाल भ्युजकर्मी प्रकाश बस्यालले केही प्रश्न गरेका छन् :

चिसो मौसममा आँखामा किन समस्या देखिन्छ ?

खासगरी, जाडोमा सुख्खा तथा चिसो हावाका कारण आँखा सुख्खा हुने गर्दछ । धूलो–धुवाँयुक्त वातावरणका कारण आँखामा समस्या देखापर्छ । यसैगरी, लामो समयसम्म एसीमा बस्दा, जाडोमा हिटरको नजिक बस्दा आँखा सुख्खा हुन्छ ।

चिसोकै कारण आँखामा कचेरा (चिप्रा ) लाग्छ । आँखा सुन्निएजस्तो हुन्छ । अर्को कुरा चिसोबाट बच्न अपनाइने उपायले पनि हामीलाई असर गरेको हुन्छ ।

जस्तै, चिसोमा घाम ताप्छौँ त्यसबेला सूर्यको किरण सिधा आँखामा पर्न सक्छ । हामी हिटरको प्रयोग गर्छौं त्यसबाट निस्कने तातो हावाले पनि असर गर्छ ।

यो समयमा आँखामा कस्ता-कस्ता समस्या देखिन्छ ?

हावामा मोइस्चरको कमीले गर्दा आँखाभित्र पानीको मात्रा कम हुन्छ । जसले सुख्खा भएपछि आँखा फरफराउने, बिझाउने, अफ्ठ्यारो महसुज हुने, आँसु आउने, चिप्रा आउने तथा इन्फेक्सन हुन सक्ने सम्भावना हुन्छ।

यो सिजनमा आँखा पोल्ने, चिलाउने तथा धमिलो देखिने जस्ता समस्या बढि देखिन्छ ।

इन्फेक्सनको कुरा गर्नुभयो, यसको लक्षणहरू के होला ?

इन्फेक्सन हुदाँ आँखा रातो हुने, आँसु झर्ने, कचेरा लाग्ने, चम्किलो प्रकाशमा हेर्न गाह्रो हुने लगायतका समस्या देखापर्छ।

त्यसो भए आँखाको हेरचाह कसरी गर्नुपर्छ ?

आँखालाई धूलोबाट जोगाउन बाहिर निस्कदा प्रोटेक्टिभ सनग्लास प्रयोग गर्नुपर्छ । कम्प्युटर, टेलिभिजन तथा मोबाइल चलाउँदा अलि टाढै बसेर हेर्नुपर्छ । २० मिनेट लगातार काम गरेपछि २० सेकेन्ड जति २० फिट टाढाका वस्तुहरु हेर्नुपर्छ ।

यसलाई २०–२०–२० नियम भनेर बुझिन्छ (जसलाई २० मिनेट काम गरेपछि २० सेकेन्ड विश्राम तथा २० फिट टाढा रहेको कुनै वस्तुलाई केही समय हेर्ने भनिन्छ)।

समय–समयमा आँखा झिमझिम गरिरहनुपर्छ । आँखा सुख्खा भएको छ भने कृत्रिम आँसु रिफ्रेस टियर प्रयोग गर्न सकिन्छ । परेलामा चायाँ परेको छ भने बेबी स्याम्पुले आँखाका परेला सफा गर्नु उचित हुन्छ ।

आँखामा तातो या चिसोमध्ये कुनचाँही सेकाइ उपयुक्त हुन्छ ?

यदि, हाम्रो आँखामा इन्फेक्सन छ भने हामीले चिसोले सेक्न सल्लाह दिन्छौँ । इन्फेक्सन प्राय: गर्मी याममा बढी देखिन्छ ।

तर, आँखा सुख्खा हुने र आँखामा चिल्लो पदार्थ कमी भएको अवस्थामा हामी तातोले सेक्न सल्लाह दिन्छौं। तर चिसो तातोले सेक्न अगाडी आँखा जाँच गराउन उपयुक्त हुन्छ।

आँखा कसरी सफा गर्ने ? सही विधि के हो ?

हामीलाई बच्चैदेखि पानी हातमा लिएर आँखामा जोडले छ्याप्ने विधि सिकाइएको छ । तर, त्यो विधि गलत मात्र छैन यसले आँखालाई सुख्खा बनाउने काम गरिहेको हुन्छ । सही विधि के हो भने हातमा पानी लिने र आँखाको बाहिरी भाग मात्र सफा गर्ने ।

परेला वरिपरि मात्र हामीले सफा गर्ने हो । भित्रको सफाइ आँखा आफैँले गर्छ । अर्को कुरा आँखासँगै हामीले हाम्रो टाउको पनि सफा गर्नुपर्छ चिसोको समयमा कपालमा चायाँ पर्ने सम्भावना हुन्छ त्यो चायाँ विस्तारै झरेर आँखामा पर्न सक्छ । त्यसले आँखाबाट आँसु निस्कने नली नै बन्द गराइदिने जोखिम हुन्छ ।

आँखाको दृष्टि कस्तो हुनुपर्छ ?

सबैको दृष्टि एकैखाले हुँदैन । एउटै दृश्य पनि कसैले स्पष्ट देख्छन् भने कसैले धमिलो देख्छन् । हामीले यसको मापन गरेर दृष्टिको अवस्था पत्ता लगाउछौँ । यो मापन गर्न निकै सरल विधि छ ।

स्वास्थ्यकर्मीले भिजन चार्ट प्रयोग गरी आँखाको दृष्टि तीक्ष्णता मापन गर्दछन्। अन्तिममा, नियमित आँखा जाँच गरी आफ्नो आँखा सुरक्षित राख्न हुन अनुरोध गर्दछु।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved