२९ क्षेत्रको नतिजा आउँदा १७ स्थानमा उल्टियो

कुन दलले कहाँ प्रभाव गुमाए, कहाँ कब्जा जमाए ?

सिट गुमाउनेमा अग्रस्थानमा नेकपा एमाले छ। यसबाहेक गुमाउनेमा माओवादी छ। कतिपयमा पुराना दलले एकअर्काेको क्षेत्र खोसेका छन् भने कतिपयमा नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टीले पकड जमाएको छ।

नेपालभ्युज

२९ क्षेत्रको नतिजा आउँदा १७ स्थानमा उल्टियो

काठमाडौं। पाँच वर्षअघि भएको निर्वाचनको मत परिणामलाई हेरेर स्थानीय तहको निर्वाचनको विश्लेषण गर्ने राजनीतिक दलका नेतालाई केही जिल्लाको परिणामले धक्का दिएको छ। मतदाता परिवर्तनशील छन् भनेर यसले देखाएको छ।

जारी मतगणनामा अहिलेसम्म २९ क्षेत्रको नतिजा आइसक्दा १७ क्षेत्रमा जनमत उल्टिएको छ। सिट गुमाउनेमा अग्रस्थानमा नेकपा एमाले छ। संविधानसभा निर्वाचन २०७० मा दोस्रो ठुलो दलको हैसियत बनाएको एमाले २०७४ मा पहिलो बनेको थियो।

यसबाहेक गुमाउनेमा माओवादी छ। कतिपयमा पुराना दलले एकअर्काेको क्षेत्र खोसेका छन् भने कतिपयमा नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टीले पकड जमाएको छ।

काठमाडौंमा उथलपुथल

काठमाडौमा एमालेले बढि सिट गुमाएको छ। क्षेत्र नम्बर ९ नजितेको भए एमाले काठमाडौंमा स्विप हुने थियो। काठमाडौँका सबै क्षेत्रको नतिजा आउँदा कांग्रेसले पाँच र स्वतन्त्र पार्टीले चार सिट जितेको छ। ९ मा यसअघि जितेका एमालेका कृष्णगोपाल श्रेष्ठ दोहोरिएका छन्।

काठमाडौं १ मा कांग्रेसका प्रकाशमान सिंहले विरासत जोगाएका छन्। ४ बाट कांग्रेसका गगन थापा लगातार तेस्रो पटक चुनिए। १० मा राजेन्द्र केसी राजनले ह्याट्रिक गरे।

बाँकी क्षेत्रमा जनमत उल्टिएको छ। २ मा यसपटक राष्ट्रिय स्वतन्त्र पार्टीका सोबिता गौतमले जितेकी छिन्। जहाँ यसअघि तत्कालीन एमालेबाट हालको एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले जितेका थिए। ३ मा एमालेका कृष्ण राईले जितेका थिए। अहिले उनै उम्मेदवार बन्दा कांग्रेसका सन्तोष चालिसेले उल्ट्याएका छन्।

रोमाञ्चक तरिकाले परिणाम उल्टिएको अर्को क्षेत्र हो ५। जहाँ एमाले वरिष्ठ नेता ईश्वर पोखरेलबाट कांग्रेसका प्रदीप पौडेलले सिट खोसेका छन्। ७ मा पनि राष्ट्रिय स्वतन्त्र पार्टीको लहर छायो। अघिल्लो पटक एमालेका रामवीर मानन्धरले जितेको सो क्षेत्रमा घण्टीले बाजी मारेको छ।

८ मा पनि राष्ट्रिय स्वतन्त्र पार्टीले पकड जमाएको छ। यसअघिको चुनावमा यहाँ तत्कालीन एमाले हालको एकीकृत समाजवादीका जीवनराम श्रेष्ठले जितेका थिए। उनी सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार दोहोरिँदा स्वतन्त्र पार्टीका बिराजभक्त श्रेष्ठले जिते।

क्षेत्र नम्बर ६ कांग्रेसबाट स्वतन्त्र पार्टीले खोसेको छ। यसअघि कांग्रेसका भीमसेनदास श्रेष्ठले जितेका सो क्षेत्रमा अहिले घण्टीका शिशिर खनाल विजयी भएका छन्।

ललितपुर १ मा पनि एमालेका नवराज सिलवालको दोहोरिने प्रयत्न असफल भयो। कांग्रेसका उदय शमशेर राणाले यो क्षेत्र एमालेबाट खोसेका छन्। ललितपुर २ एमालेले बचायो भने ३ मा जनमत उल्टियो। यसअघि माओवादीका पम्फा भुसालले जितेको यो क्षेत्रमा यसपटक स्वतन्त्र पार्टीकी तोसीमा कार्की विजयी हुने निश्चित भएको छ।

यसअघि माओवादीले जितेको उदयपुर २ मा यसपटक एमालेले कब्जा गरेको छ। यद्यपी यो क्षेत्रमा एकीकृत समाजवादीका जगन्नाथ खतिवडा उम्मेदवार थिए। एमालेका अम्मरबहादुर रायमाझीले बाजी मारेका छन्।

गुल्मी २ मा एमालेका गोकर्ण विष्टले प्रभाव कायमै राख्न सफलता पाएका छन्। सिन्धुली २ मा पनि माओवादीको पकड यथावत रहेको छ। माओवादीका लेखनाथ दाहाल यहाँबाट विजयी भएका छन्। यसअघि त्यहाँ माओवादीकै हरिबोल गजुरेलले जितेका थिए।

यता रुकुम पूर्वमा पनि माओवादीका पूर्णबहादुर घर्तीले पकड कायमै राखेका छन्। ताप्लेजुङमा एमाले सचिव योगेश भट्टराईले सिट सुरक्षित गरेका छन्।

अछाम १ मा एकीकृत समाजवादीका शेरबहादुर कुँवरले बाजी मारेका छन्। जहाँ अघिल्लो पटक एमालेका भीम रावलले जितेका थिए। बाँके २ मा जसपाका मोहम्मद इश्तियाक राईलाई दोहोरिनबाट रोक्दै राप्रपाका महामन्त्री धवलशम्मशेर राणा विजयी भएका छन्।

मुस्ताङ १  को जनमत उल्टिएको छ। कांग्रेसका योगेश गौचनले एमालेका प्रेमप्रसाद तुलाचनसँग यो क्षेत्र खोसेका छन्। यसअघि एमालेले जितेको मनाङमा पनि यसपटक कांग्रेसका टेकबहादुर गुरुङले जितेका छन्। सुर्खेत २ पनि एमालेबाट फुस्किएको छ।  यसअघि एमालेका नवराज रावतले जितेको यो क्षेत्र अहिले कांग्रेसका हृदयराम थानीले पकड जमाएका छन्।

तनहुँ २ मा यसअघि जितेका एमालेका किरण गुरुङ यो पटक पराजित भएका छन्। जहाँ कांग्रेसका शंकर भण्डारीले बाजी मारेका छन्। पर्सा ४ मा लोसपाका लक्ष्मणलाल कर्णले जितेको ठाउँमा यसपटक कांग्रेसले जितेको छ। कांग्रेसका रमेश रिजाल विजयी भएका छन्।

उता डडेलधुराबाट कांग्रेस सभापति शेरबहादुर देउवा र रसुवाबाट कांग्रेसकै मोहन आचार्य दोहोरिएका छन्। यसअघि माओवादीले जितेको कैलाली ३ यसपटक गुमाएको छ। त्यहाँ नागरिक उन्मुक्ति पार्टीका गंगाराम चौधरी विजयी भएका छन्। बागलुङ १ जनमोर्चाका चित्रबहादुर केसीले चुनाव जितेर जनमत आफ्नो पक्षमा ल्याए। अघिल्लो पटकको चुनावमा मात्र प्युठानमा जनमोर्चाले जितेको थियो। यता बर्दिया २ मा निर्दलीय स्वतन्त्र उम्मेदवारले जितेको छ। लालवीर चौधरीले जितेका हुन्।

समग्रमा एमालेले १० स्थानमा जनमत गुमाएको छ। कांग्रेसले काठमाडौं ६ मा १ स्थानमा मात्र गुमाएको। माओवादीले उदयपुर र कैलाली, बार्दीया गरि ३ स्थानमा जनमत गुमाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved