मुस्ताङमा रोमीको ‘एकछत्रे’ विरासत थाम्दै २९ वर्षीय छोरा योगेश

रोमी गौचन थकाली मुस्ताङमा ४ दशकयता नेपाली कांग्रेस वृत्तभित्र ‘एकछत्रे’ विरासत भएका नेता हुन् । तर, अब उनी सक्रिय राजनीति गर्न चाहँदैनन् ।

नेपालभ्युज

मुस्ताङमा रोमीको ‘एकछत्रे’ विरासत थाम्दै २९ वर्षीय छोरा योगेश

काठमाडौं । रोमी गौचन थकाली मुस्ताङमा ४ दशकयता नेपाली कांग्रेस वृत्तभित्र ‘एकछत्रे’ विरासत भएका नेता हुन् । तर, अब उनी सक्रिय राजनीति गर्न चाहँदैनन् । त्यसैले, यसपटक आफूले पाएको प्रतिनिधिसभा सदस्यको टिकट आफ्ना २९ वर्षीय छोरा योगेश गौचन थकालीलाई दिए । अन्ततः योगेशले चुनाव जिते ।

रोमीले ०७४ सालको निर्वाचनमा पनि ‘लड्दिनँ’ भन्दाभन्दै पार्टीले टिकट दियो र लडे । तर, पराजित भए । यद्यपि, मुस्ताङ कांग्रेसभित्र भने उनी निर्विकल्प हुन् । यसपटक पनि आफूले नचाहँदा–नचाहँदै टिकट पाएपछि छोरा योगेशलाई दिए । ‘त्यो पनि यहाँ नेताहरूकै सुझावमा टिकट छोरालाई दिएको हुँ,’ नेपालभ्युजसँग रोमीले भनेका छन् ।

योगेशले ६१ वर्षीय नेकपा (एमाले) का उम्मेदवार प्रेमप्रसाद तुलाचनलाई ९ सय ५४ मतान्तरले पराजित गरे । योगेशले ३ हजार ९ सय ९२ मतका साथ बाजी मार्दा प्रेमप्रसाद ३ हजार ३८ मै सीमित भए । २०५० वैशाख २७ गते थासाङ गाउँपालिकाको लेतेमा जन्मिएका उनी कांग्रेस राजनीतिमा भने अगाडिदेखि नै छन् । बुवा सुरूदेखि नै कांग्रेस राजनीतिमै रहेकाले योगेशलाई पनि सजिलो भयो । ‘ऊ सुरूदेखि नै राजनीतिमा सक्रियता देखाउँथ्यो, मैले उसलाई त्यसैगरी स्कुलिङ पनि दिएँ,’ रोमीले सुनाए ।

अहिले योगेश गण्डकी प्रदेश सभा सदस्य (पार्टीको) को भूमिकामा समेत छन् । महाधिवेशन प्रतिनिधिसमेत रहेका उनी साविक लेतेका पार्टी सभापति पनि हुन् ।

विजय जुलुसमा निर्वाचित सांसद योगेश । तस्बिर : फेसबुक ।

साइनोले चुनावी प्रतिस्पर्धी प्रेमप्रसादलाई भेना भन्छन् योगेश । प्रेमप्रसादको श्रीमतीलाई पहिलेदेखि दिदी भन्ने गरेका कारण उनले भेना भन्ने गरेका हुन् । योगेशलाई उद्धृत गर्दै रोमीले भने, ‘चुनावमा प्रतिस्पर्धा गरिएको हो । यो एउटा संयोगजस्तो हो । उहाँ सधैँ मेरो भेना नै हुनुहुन्छ । साइनोले फरक पर्दैन, अब गाउँ विकासमा त सँगै जोडिनुपर्छ । मैले जितेँ, ठीकै छ । यो जित सबैको हो ।’

हुन त प्रेमप्रसाद पनि त्यहाँका स्थापित एमाले नेता हुन् । लामो समय कांग्रेसमै रहेका प्रेमप्रसाद अहिले गण्डकी प्रदेश सभा सदस्य (पार्टी) को जिम्मामा छन् । उनले आफूले सहजरूपमा जित्ने दाबी गर्दै आएका थिए । चुनावअगाडि उनले भनेका थिए, ‘म झन्डै १ हजार मतले जित्छु ।’ यो अवस्था ठ्याक्कै उल्टो भइदियो, योगेशले झन्डै १ हजार मतले नै पछाडि पारे ।

हुन त वैशाख ३० मा सम्पन्न स्थानीय तह सदस्य निर्वाचनको नतिजा भने प्रेमप्रसादकै पक्षमा थियो । मुस्ताङका ५ स्थानीय तहमध्ये ४ पालिकामा एमालेले नै जित निकालेको थियो । तर, चुनाव भने २९ वर्षीय योगेशको पक्षमा आयो ।

यससँगै योगेशको काँधमा मुस्ताङ कांग्रेसभित्रको बुवा रोमीको एकछत्रे विरासत आइपुगेको छ । त्यसो त योगेश अब पार्टीका मात्रै रहेनन्, उनीसँग संसदीय जिम्मेवारी पनि छन् । ती भूमिकाहरूलाई सजिलै निभाउनसक्ने विश्वास रोमीको छ, भन्छन्— ‘ऊ राजनीतिमा पहिल्यैदेखि सक्रिय छ । मलाई लाग्छ, उनले आफ्नो जिम्मेवारी निभाउन सक्छ ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved