विश्वकप फुटबल : आक्रामक इङ्ल्यान्ड र रक्षात्मक इरानको भिडन्त

नेपालभ्युज

विश्वकप फुटबल : आक्रामक इङ्ल्यान्ड र रक्षात्मक इरानको भिडन्त

काठमाडौं। फिफा विश्वकपको दोस्रो दिन समूह ‘बी’ को पहिलो खेल हुँदैछ। समूह ‘बी’को पहिलो खेलमा इङ्ल्यान्ड र इरान भिड्दै छन्।

खलिफा अन्तर्राष्ट्रिय रङ्गशालामा हुने खेलमा इङ्ल्यान्ड र इरान सोमबार बेलुकी पौने ७ बजे आमने सामने हुँदैछन्। विश्वकपमा १६औँ पटक सहभागी इङ्ल्यान्डले र छैटौँपटक सहभागी इरान जितको साथ कतार विश्वकपको सुरुवात गर्ने योजनामा रहेका छन्।

फुटबलको इतिहासमा इरान र इङ्ल्यान्ड पहिलोपटक प्रतिस्पर्धा गर्दै छन््। विश्वकपमा नै हेर्ने हो भने इङ्ल्यान्डले दोस्रोपटक एसीयाली मुलकसँग खेल्न लागेको हो। सन् १९८२ मा कुवेतलाई इङ्ल्यान्डले १–० ले पाजित गरेको थियो।

यसअघिको ७ विश्वकपलाई हेर्दा इङ्ल्यान्डले सुरुवाती खेलमा ३ मा जित, ३ मा बराबरी र मात्र १ खेलमा हार व्यहोरेको छ। इरानले यसअघिको २ विश्वकपको पहिलो खेलमा भने गोलको क्षति व्यहोरेको छैन ।

समूह ‘बी’ मा इङ्ल्यान्ड बलियो टोली रहेको छ। तथापि, यसै वर्ष भएको यूईएफए नेसन्स लिगको प्रदर्शन हेर्दा भने ३ पराजय र ३ बराबरीसँगै इङ्ल्यान्ड रेलिगेट भएको थियो। यसले टोलीले निकै आलोचना पनि खेपेको थियो।

इङ्ल्यान्डका मुख्य प्रशिक्षक ग्यारेथ साउथगेटले विश्वकपको लागि भने २६ सदसीय बलियो टोली घोषणा गरेका छन्। प्रशिक्षक साउथगेट आर्थिक शंकट भोगिरहेको इङ्ल्यान्डलाई नै विश्वकपबाट खुसी दिन चाहन्छन् । सन् २०२१ मा युरोमा दमदार प्रदर्शन गरेका खेलाडीहरू आफ्नो लयमा फर्कने सम्भावना देखिन्छ।

कप्तान ह्यारी केनले फिल फोडेन, रहिम स्टर्लिङ र बुकायो साकासँगको सहकार्यमा टोलीलाई आक्रमक रूपमा प्रस्तुत गराउने देखिन्छ। साथै कप्तान केन अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोलकर्ता बन्न २ गोलले पछाडि छन्। इङ्ल्यान्डको लागि ५१ गोल गरेका केन वायन रोनीको ५३ गोलको सर्वाधिक गोलकर्ताको कीर्तिमान तोड्ने यात्रामा छन्।

जोर्डन हेन्डरसन, जुड बेलिङ्घम र मेसन माउन्टको उपस्थितिमा पनि मिडफिल्ड बलियो देखिएको छ। तथापि, डिफेन्समा भने टोली कमजोर देखिएको छ। जसबाट टोलीले गोलको क्षति व्यहोर्न सक्छ ।

यही कमजोरी इरानको लागि फाइदा बन्न सक्छ। मेहदी तारेमी, सरदार अजमोन र अलीरेजा जहाँ बख्शको संयुक्त आक्रमणमा इरान हावी हुन सक्ने सम्भावना रहेको छ।

इरानका मुख्य प्रशिक्षक कार्लोस क्विारोज आफ्नो डिफेन्सको लागि चिनिन्छन्। सो शैलीले इङ्लिस आक्रमणलई टक्कर दिने देखिन्छ। लगातार तेस्रोपटक इरानलाई विश्वकप पुर्‍याएका क्विरोज इरानलाई पहिलोपटक नकआउट चरण पुर्‍याउन चाहन्छन्।

विश्वकप छनोटमा इरानले खेलेको १० खेलमा ८ मा जित निकालेको थियो। साथै, समूह चरणको विजेता पनि बनेको थियो। इरानले क्रोएसियाली प्रशिक्षक ड्रागन स्कोचिकको प्रशिक्षणमा छनोट खेलेको थियो। विश्वकपको लागि भने प्रशिक्षक क्विारोजले जिम्मेवारी सम्हालिसकेका छन्।

इङ्ल्यान्ड विरुद्धको खेलमा इरान कम्तिमा पनि १ अंक जोड्ने योजनामा रहेको छ। इङ्ल्यान्ड टोली भने जितको लागि नै प्रतिस्पर्धा गर्ने देखिन्छ । समूह ‘बी’मा इरान, इङ्ल्यान्ड, अमेरिका र वेल्स रहेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved