अहिलेसम्म कहाँ-कहाँ रोकियो मतदान ?

‘केही ठाउँमा छिटफुट घटना घटेपनि अधिकांश ठाउँमा शान्तिपूर्णरूपमा मतदान भइरहेकाे छ । केही केन्द्रमा भने मतदान रोकिएको छ ।

नेपालभ्युज

अहिलेसम्म कहाँ-कहाँ रोकियो मतदान ?

काठमाडौं । बिहान ७ बजेयता प्रदेश र प्रतिनिधि सभा सदस्यका लागि मतदान भइरहेको छ । निर्वाचन आयोगले देशभर १० हजार ८ सय ८८ मतदान केन्द्र कायम गरेकाे छ । ती मतदान केन्द्रहरूमा साँझ ५ बजेसम्म मतदान हुनेछन् ।

आयोगकाअनुसार छिटफुटबाहेक धेरै मतदान केन्द्रहरूमा शान्तिपूर्ण मतदान भइरहेका छन् । आयोगकमा प्रवक्ता शालिग्राम शर्मा पौडेलले भनेका छन्, ‘केही ठाउँमा छिटफुट घटना घटेपनि अधिकांश ठाउँमा शान्तिपूर्णरूपमा मतदान भइरहेकाे छ । अहिलेसम्म नराम्रो रिपोर्ट आएको छैन ।’

केही ठाउँमा भने विभिन्नखाले घटना घटेपछि मतदान कार्य स्थगित भएका छन् ।

सिरहामा जनता समाजवादी पार्टी (जसपा) र नेकपा (एकीकृत समाजवादी) का कार्यकर्ताहरूबीच मतपेटिका खोसाखोस भएको छ । यसपछि मतदान कार्य रोकिएको छ । यद्यपि केहीबेरपछि मतदान सुरू गर्ने प्रबन्ध मिलाइरहेको प्रहरीले जनाएको छ ।

बजुराका ३ मतदान केन्द्रमा विवाद हुँदा मतदान रोकिएको छ । जिल्लाको बुढीगंगा नगरपालिका ८ को मतदान केन्द्र, बुढीनन्दा ५ र स्वामिकार्तिक खापर गाउँपालिका ४ को एक केन्द्रमा मतदान स्थगित भएको हो । राजनीतिक दलहरूबीच विवाद बढेपछि मतदान स्थगित गर्नुपरेको हो ।

यस्तै तुलसीपुरमा पनि मतदान स्थगित भएको छ । तुलसीपुर नगरपालिका १० को एक मतदान केन्द्रमा कर्मचारीको लापरबाहीका कारण मतदान प्रक्रिया रोकिएको बताइएको छ । मतदान अधिकृत पुष्पलता घर्तीकाअनुसार कर्मचारीले प्रतिनिधि सभातर्फको मतपत्र नदिँदा समस्या भएको हो ।

बर्दियामा बम विस्फोट हुँदा मतदान रोकिएको छ । क्षेत्र नं. १ स्थित गुलेरिया २ को नेरा सम्भुशरणा प्रावि खैरापुर मतदान केन्द्रमा विस्फोट भएपछि मतदान रोकिएको छ । बर्दिया प्रहरीका सूचना अधिकारी हिक्मत बोहराका अन्सार मतदानस्थलभन्दा केही पर बम विस्फोट भएपछि मतदान रोकिएको हो । अधिकारी बोहराले नेपालभ्यूजसँग भने, ‘कुनै खाले क्षतिचाहिँ भएन । तर मतदान रोकिएको छ । समन्वय गरिरहेका छौँ ।’

मोरङको बुढीगंगामा मतदान केन्द्रभित्रै पटका पड्काइएपछि मोरङको एउटा मतदान केन्द्रमा मतदान स्थगित भएको छ । बुढीगंगा गाउँपालिका १ स्थित करैया देवीस्थान केन्द्रमा मतदान स्थगित भएको हो । लाइनमा बसेर मतदाताले मतदान गरिरहेका बेला केन्द्रभित्रै विस्फोटको ठूलो आवाज आएको थियो ।

विस्फोटको आवाजसँगै मतदाताबीच भगदौड मच्चिएको थियो । बम विस्फोट गराइएको भनेर त्रसित हुँदै मतदाता भागेपछि मतदान स्थगित भएको प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले जानकारी दिए ।

कास्कीमा नेकपा बहुमतका कार्यकर्ताले मतपेटिका फुटाएका छन् । कास्कीको माछापुच्छ्रे गाउँपालिका ८ तारेबराह आधारभूत विद्यालय लुम्रे मतदान केन्द्रमा नेकपा बहुमतका एक कार्यकर्ताले मतपेटिका फुटाएका हुन् । यसपछि मतदान स्थगित भएको छ ।

यता दोलखाको अमर मावि केन्द्रमा हवाई फायर छ । जिल्लाको तामाकोसी गाउँपालिका वडा नं. २ स्थित अमर मावि भतरेचौर मतदान केन्द्रमा प्रहरीले हवाई फायर गरेको हो । उक्त घटनापछि मतदान स्थगित भएको छ ।

एकैचौटी धेरै मतदाता मतदान स्थलभित्र छिर्न खोजेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको हो । उक्त भीडले प्रहरीमाथि नै आक्रमण गर्न खोजेपछि पेस्तोलबाट एक राउण्ड हवाई फायर गर्नुपरेको प्रहरीले जनाएको छ ।

यसैगरी हुम्लाको एक मतदान केन्द्रमा झडप हुँदा मतदान रोकिएको छ । हुम्लाको सर्केगाड गाउँपालिकाको उनापानी देवकोटा आधारभूत विद्यालय मतदान केन्द्रमा झडप हुँदा मतदान रोकिएको हो । त्यहाँका वडाध्यक्षले वारेसमा मतदान गर्छु भनेपछि गठन्धन र स्वतन्त्र उम्मेदवार पक्षबीच झडप भएको हुम्लाका जिल्ला निर्वाचन अधिकारी श्याम रानाले जानकारी दिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved