आम निर्वाचन

आज मध्यरातिदेखि ‘स्थिर समय’ सुरु, के गर्न पाइँदैन?

नेपालभ्युज

आज मध्यरातिदेखि ‘स्थिर समय’ सुरु, के गर्न पाइँदैन?

काठमाडौं। मंसिर ४ गते हुने आम निर्वाचनका लागि आज राति १२ बजेदेखि स्थिर समय सुरु हुने भएको छ। निर्वाचन आयोगका आयुक्त रामप्रसाद भण्डारीले मंसिर १ गते राति १२ बजेदेखि स्थिर समय सुरु हुने बताएका हुन्।

यस समयमा चुनावी प्रचारप्रसार गर्न नपाइने आयोगले जनाएको छ। केन्द्रीय आचारसंहिता अनुगमन समिति संयोजकसमेत रहेका भण्डारीले एक भिडियो सन्देशमार्फत् स्थिर समयमा निर्वाचन प्रचार प्रसार गर्न नहुने बताएका हुन्।

यसअघि, सो समयलाई ‘मौन अवधि’ भन्ने गरिए पनि त्यसको सट्टा ‘शून्य समय’ भन्नु उपयुक्त हुने भएकाले ४८ घण्टालाई ‘स्थिर समय’ मानिनेछ।

निर्वाचन कसुर तथा सजाय ऐनको दफा २४ को ५ अनुसार निर्वाचन हुनु ४८ घण्टाअघिदेखि सम्बन्धित कुनै पनि कार्यक्रम गर्न पाइँदैन। यो समयभित्र कसैले प्रचारप्रसार गरेको पाइए ‘निर्वाचन कसुर तथा सजाय ऐनले गम्भीर प्रकृतिको कसुर मानेर कडा सजाय गरिने’ जनाइएको छ।

यस अवधिमा राजनीतिक दलका पदाधिकारी, उम्मेदवार, दलको भ्रातृ संगठनले निर्वाचन प्रचारलगायत कुनै पनि प्रकारका छलफल, अन्तक्रिया, सभा-सम्मेलन, कार्यशाला, गोष्ठी गर्न पाइने छैन।

यो अवधिमा राजनीतिक दलका उम्मेदवार वा दलका अन्य प्रतिनिधिलाई मात्र नभई सामाजिक सञ्जाल, अनलाइन, छापा लगायतका माध्यमबाट पनि प्रचारप्रसारका लागि रोक लगाइएको छ।

त्यस्तै, प्रत्येक मतदानस्थलको तीन सय मिटर वरिपरि राखिएका राजनीतिक दल वा उम्मेदवारका प्रचार सामग्री पनि हटाउनुपर्ने छ। स्थिर अवधिअगावै उम्मेदवार र उनीहरूका प्रशंसकका फेसबुक, ट्विटर, टिकटकलगायत पेजका स्पोन्सर सामग्री हटाउन आयोगले आग्रह गरेको छ।

बुधबार राति १२ बजेबाट मुलुकका सबै नाका बन्द भएका छन्। बन्द भएका नाकाहरु मतदान सकिएसँगै खुल्नेछन्। त्यस्तै, स्थिर अवधि सुरु भएसँगै मदिरा बिक्री तथा वितरणमा पनि रोक लगाइने भएको छ।

उम्मेदवार वा राजनीतिक दलको निर्वाचन चिह्न अंकित पहिरन, टोपी, स्टिकर, लोगो, झोला, ट्याटुजस्ता सांकेतिक सामग्रीको प्रयोग गर्न, बिक्री गर्न वा प्रदर्शन गर्न वा गराउन नहुने पनि आयोगले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved