टी-२० विश्वकपको दोस्रो सेमिफाइनलमा भारत र इंग्ल्याण्ड खेल्दै,  यस्तो छ हारजितको इतिहास

नेपालभ्युज

टी-२० विश्वकपको दोस्रो सेमिफाइनलमा भारत र इंग्ल्याण्ड  खेल्दै,  यस्तो छ हारजितको इतिहास

काठमाडौं। आईसीसी टी–२० विश्व कप क्रिकेटको दोस्रो सेमिफाइनलमा आज विहीबार भारत र इङ्ल्यान्ड खेल्दैछन् । खेल अस्ट्रेलियाको एडिलेडमा दिउँसो पौने दुई बजे सुरु हुनेछ ।

भारत सुपर–१२ समूह ‘२’ को विजेता र इङ्ल्यान्ड समूह ‘१’ को उपविजेताका रुपमा सेमिफाइनलमा पुगेको हो। भारतले पाकिस्तान, नेदरल्यान्ड्स, बङ्लादेश र जिम्बाब्वेलाई हराएको थियो भने दक्षिण अफ्रिकासँग पराजित भएको थियो। यस्तै, इङ्ल्यान्डले अफगानिस्तान, न्युजिल्यान्ड र श्रीलङ्कालाई हराएको थियो। इङ्ल्यान्ड आयरल्यान्डसँग पराजित भएको थियो भने अस्ट्रेलियासँगको खेल वर्षाले प्रभावित भएको थियो।

दुई देशको विगत

१० वर्ष पछि प्रशंसकहरूले टी-२० विश्वकपको सेमिफाइनलमा भारत र इंग्ल्याण्डको खेल हेर्न पाउनेछन्। अन्तिम पटक यी दुई टोलीले सन् २०१२ मा खेलेका थिए । त्यो बेला भारतले सहज जित दर्ता गरेको थियो।

भारत र इंल्याण्डबीच अहिलेसम्म २२ वटा टी-२० खेल भएकोमा भारतले १२ वटा र इंग्ल्याण्डले १० वटा खेल जितेका छन् ।विश्वकपकै कुरा गर्दा यी दुई देशबीच ३ वटा खेल भएकोमा भारतले २ वटा र इंल्याण्डले एउटा खेल जितेको छ । सन् २००७ र २०१२ को विश्वकपमा भारत र २००९ मा इंग्ल्याण्डले भारतलाई हराएको थियो । भारत र इंग्ल्याण्डबीच भएका पछिल्ला पाँच वटा खेलमा भारतले तीन वटा खेल जितेको छ ।

अहिलेसम्म भारत र इंग्ल्याण्डले एक एक पटक टी-२० विश्वकपको उपाधि जितेका छन् । भारतले सन् २००७ को विश्वकप र इंग्ल्याण्डले सन् २०१० को विश्वकप जितेका थिए । यस्तै सन् २०१४ को फाइनलमा भारत श्रीलंकासँग पराजित भएको थियो भने सन् २०१६ को फाइनलमा इंग्ल्याण्ड वेस्ट इन्डिजसँग पराजित भएको थियो ।

भारत र इंग्ल्याण्डबीचको विजेताले उपाधिका लागि पाकिस्तानसँग खेल्नेछ । बुधबार भएको पहिलो सेमिफाइनल खेलमा न्युजिल्यान्डलाई हराउँदै पाकिस्तान उपाधि नजिक पुगेको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved