खोटाङमा विशालको ‘ह्याट्रिक’ निश्चित, रामकुमार भन्छन् एमालेसँग तुलनै हुँदैन

यस्तो छ स्थानीय तहको मतगणित

कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादी र जनता समाजवादीले जितेको वडाको संख्या ५९ हुन्छ भने यी दलहरूबाट निर्वाचित वडाध्यक्षहरूको मत २७ हजार ३ सय २५ हुन्छ । जुन मत एमालेको भन्दा १७ हजार १ सय ९६ ले बढि हो ।

खोटाङमा विशालको ‘ह्याट्रिक’ निश्चित, रामकुमार भन्छन् एमालेसँग तुलनै हुँदैन

खोटाङ । नेकपा (एमाले) का नेता विशाल भट्टराई यतिबेला खोटाङका गाउँ-गाउँ पुगिरहेका छन् । जनता रिझाउन माहिर नेता भट्टराईको दाबी छ— ‘यसपटक सबैभन्दा सहजरूपमा जित्दैछु ।’

भट्टराई यसपटक सफल भए जितको ‘ह्याट्रिक’ गर्नेछन्, असफल भए हारको ‘ह्याट्रिक’ । अर्थात हार जित जे भए पनि उनको ह्याट्रिक तय छ । उनले २०५६ र ०६४ मा हारेका थिए भने ०७० र ०७४ मा जितेका थिए । यसपटक  आफूले कुनै पनि हालतमा नहार्ने दोहोर्‍याउँछन् भट्टराई । उनको प्रतिप्रश्न छ, ‘यसपटक पनि नजिते त कहिले जित्नु त ?’

हुन पनि यहाँ सत्ता गठबन्धन भताभुङ्ग अवस्थामा छ । गत वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनमा जिल्लाको पहिलो शक्ति बनेको नेपाली कांग्रेसलाई प्रदेश सभा ‘ख’ मा सीमित गराइएपछि यो अवस्था आएको जिल्लाका कांग्रेस नेताहरूको भनाइ छ ।

यहाँ प्रतिनिधि सभा नेकपा (माओवादी केन्द्र) ले पाएको छ । टिकट लिएर जनताको घरदैलोमा पुग्दैछन् माओवादी केन्द्रका नेता रामकुमार राई ‘पासाङ’ । प्रतिनिधि सभा नछाड्ने अडानमा रहेको कांग्रेसले ‘दुवै प्रदेश सभा दिए हुने’ विकल्प प्रस्तुत गरेको थियो । तर, त्यसो पनि भएन ।

शक्ति सन्तुलन र राजनीतिक समीकरण मिलाउँदै जाँदा प्रदेश सभा ‘क’ नेकपा (एकीकृत समाजवादी) ले लिने भयो । यसपछि प्रदेश सभा ‘ख’मा मात्रै सीमित भएको कांग्रेस नराम्रोगरी चिढियो । जसका कारण यहाँ सत्ता गठबन्धनको अवस्था ‘खराब’ बन्यो ।

यत्तिसम्म कि कांग्रेस जिल्ला सभापति विष्णुकुमार राईले आफ्नो समर्थन बागी उम्मेदवारलाई हुने उद्घोष नै गरे । एकीकृत समाजवादीले लिएको प्रदेश सभा ‘क’ मा कांग्रेसले बागी उम्मेदवार धर्मराज पोखरेल उठाएको छ । सभापति राईले उनै पोखरेललाई समर्थन गर्ने बताएका छन् । सभापति राई कांग्रेसको संस्थापनपक्षीय नेता हुन् ।

प्रदेश सभा ‘ख’ मा मात्रै सीमित हुँदा अपमानित हुनुपरेको महसुस गरेको खोटाङ कांग्रेसबाट नेता भूपाल राईले टिकट पाए, जो कृष्णप्रसाद सिटौलानिकट मानिन्छन् । यस्तो अवस्थामा संस्थापन र इतरपक्षीय नेताहरू चिढिएका छन् । केन्द्रीय सभापति शेरबहादुर देउवाले जिल्ला कमिटी नै खारेज गरिदिने चेतावनी दिएका छन् । तर पनि उनीहरूले टेरेका छैनन् ।

तत्‌तत् कारणले खोटाङमा भट्टराई दह्रो रहेको एमाले नेताहरूको दाबी छ । तर, जिल्लामा भट्टराईको लोकप्रियता घट्दै गएको त्यहाँस्थित राजनीतिका जानकार बताउँछन् । तर, उनीजत्तिको नेता पनि नहुनु भट्टराईको ‘भाग्य’ रहेको जानकारहरूको भनाइ छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले भट्टराईले जितेको खण्डमा मन्त्री बनाइदिने आश्वासन दिएको सूत्रहरू बताउँछन् । हुन पनि भट्टराईका समकालीन नेताहरू दुई/तीनपटक मन्त्री बनिसकेका छन् ।

यसअघि गोकुलप्रसाद बाँस्कोटा सञ्चारमन्त्रीबाट च्यूत भएपछि विशाल भट्टराईको मन्त्री बन्ने चर्चा थियो । तर, अन्तिममा उनी मन्त्री बनेनन् । यसपछि ओलीले भट्टराईलाई प्रतिनिधि सभाको संसदीय दलको प्रमुख सचेतक बनाए ।

यद्यपि भट्टराईले जिते भनेपनि राष्ट्रिय राजनीतिमा देखिएको फेरबदलका कारण एमालेको नेतृत्वमा सरकार नबन्ने राजनीतिक विश्लेषक बताउँछन् । एक विश्लेषक भन्छन्, ‘सत्ता गठबन्धनले सोचेकै जत्तिको चाहिँ एमालेको आकार घट्दैन । तर पनि सदाको तुलनामा एमाले खुम्चिन्छ । अहिलेको राजनीतिक समीकरण हेर्दा चुनावपछि गठबन्धनकै सरकार बन्छ ।’

भट्टराई, भन्छन्— ‘म यहाँबाट ५औं पटक चुनावी मैदानमा छु । यसपटक मैले जितको ह्याट्रिक गरेर जनताको सेवा गर्ने सोच बनाएको छु र त्यो सम्भव पनि छ ।’

‘गठबन्धनसँग एमालेको तुलना गर्नु अपमान हो’

वाम-लोकतान्त्रिक गठबन्धनको तर्फबाट उम्मेदवार बनेका माओवादी केन्द्रका नेता रामकुमार राई ‘पासाङ’ एमालेसँग गठबन्धनको तुलना नहुने बताउँछन् । ‘गठबन्धन र एमालेबीच तुलना नै हुँदैन,’ राईले नेपालभ्यूजसँग भने, ‘ऊ बाच्छा हो, गठबन्धन हात्ती हो । तुलना गर्नु अपमान हो ।’

एमालेकोभन्दा गठबन्धनको दोब्बर बढी मत भएको उल्लेख गर्दै राईले भने, ‘उहाँ (विशाल भट्टराई) दुईपटक यहाँबाट माननीय बनिसक्नुभयो । तर, उहाँले के गर्नुभयो ? केही पनि गर्नुभएन त ! त्यो जनतालाई राम्रोसँग थाहा छ । यसपटक उहाँको विजय यात्रा टुङ्गिन्छ ।’

उनले जिल्लाका असन्तुष्ट नेता/कार्यकर्तालाई पनि आफूहरूको समर्थनमा फर्काउने दाबी गरे । तर, जिल्ला सभापति विष्णुकुमार राईले बागीलाई समर्थन गर्ने भन्नुभएको छ ? भन्ने जिज्ञासामा उनी भन्छन्, ‘२/३ दिनभित्र उहाँ हामीसँगै उभिनुहुन्छ । उहाँका अन्य साथीहरू त आइसक्नुभयो । उहाँ पनि आउनुहुन्छ ।’

आफूले भट्टराईको ‘डब्बल’मत ल्याएर जित्ने दाबी राईको छ, भन्छन्— ‘स्थानीय निर्वाचनले पनि त्यो देखाउँछ । एमालेको भन्दा गठबन्धनको दोब्बर मत छ । म दोब्बर मत ल्याएर जित्छु ।’

खाेटाङे जनताले दुई/दुईपटकको संसद् विघटन र नेता विशाल भट्टराईको त्यसमाथिको बचाउलाई राम्रोसँग ख्याल गरेको सुनाउँदै राईले भने, ‘यहाँका जनताले हामीले प्रतिगमनकारी प्रतिनिधि पठाएछौँ भनेर पश्चाताप गरेका छन् । ५ वर्षभरि खोटाङे जनताको प्रतिनिधिले केही गरेनन् । संसद् विघटनमा सघाउ मात्रै पुर्‍याए, जुन संविधानविपरीत थियो ।’

कस्तो छ मतगणित ?

एउटै मात्रै प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको खोटाङमा १० वटा पालिका छन् । यी १० पालिकामा ७९ वटा वडा छन् ।

गत वैशाख ३० मा सम्पन्न स्थानीय तह सदस्य निर्वाचनलाई आधारमा मान्ने हो भने यहाँ सबैभन्दा ठूलो दल कांग्रेस हो । कांग्रेसले ऐसेलुखर्क गाउँपालिकाका वडा नं ५ र ६, केपिलासगढी गाउँपालिका १ र ६ वडा, रावावेशी गाउँपालिकाका १, २, ४, ५ र ६, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका १, ५, ७ र १५, हलेसी तुवाचुङ नगरपालिकामा १, २, ३, ४, ५, ७, ८ र ९, साकेला गाउँपालिकाका १ र ५, दिप्रुङ चुइचुम्मा गाउँपालिकाका १, २ र ५, खोटेहाङ गाउँपालिकाको ३, बराहपोखरी गाउँपालिकाका १ र ४ र जन्तेढुङ्गाँ गाउँपालिकाका ३, ५ र ६ गरी ३२ वटा वडा जितेको छ ।

यसअनुसार उसँग १५ हजार ३ सय ८६ मत छ (यहाँ विजयी मतमात्रै समेटिएको छ) ।

यस्तै दोस्रो पार्टी माओवादी केन्द्र बनेको छ । उसले २४ वडा वडामा जित निकालेको छ । जसमा ऐसेलुखर्क गाउँपालिकाका १ र ४, केपिलासगढी गाउँपालिकाका ४, ५ र ७, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका २, ४, ६, ९, ११, १२, १३, हलेसी तुवाचुङ नगरपालिकाको ६, साकेला गाउँपालिकाका ३ र ४, खोटेहाङ गाउँपालिकाका १, २, ५, ६ र ९, बराहपोखरी गाउँपालिकाका २ र ६ र जन्तेढुङ्गा गाउँपालिकाको १ र २ वडा रहेका छन् ।

यसअनुसार माओवादी केन्द्रसँग १० हजार ६ सय १२ मत छ (यहाँ विजयी मतमात्रै समेटिएको छ) ।

यस्तै जिल्लाको तेस्रो दल एमालेले ऐसेलुखर्क गाउँपालिकाका २, ३ र ७, रावावेशी गाउँपालिकाको ३, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका ३, ८ र १४, हलेसी तुवाचुङ नगरपालिकाका १० र ११, साकेला गाउँपालिकाको २, दिप्रुङ चुइचुम्मा गाउँपालिकामा ३, ४, ६ र ७, खोटेहाङ गाउँपालिकाका ४ र ७, बराहपोखरी गाउँपालिकाका ३ र ५ र जन्तेढुङ्गा गाउँपालिकाको ४ गरी १९ वडाहरू जितेको छ ।

यहाँ उसँग १० हजार १ सय ३९ मत छ (यहाँ विजयी मतमात्रै समेटिएको छ) ।

यस्तै एमालेबाटै टुक्रिएर बनेको नेकपा (एकीकृत समाजवादी)ले पनि २ वडा जितेको छ । उसले जितेको वडामा केपिलासगढी गाउँपालिकाका २ र ३ छन् । यहाँ उसले प्राप्त गरेको मत ५ सय ७२ छ ।

उसले सत्ता गठबन्धनलाई नै समर्थन गर्ने भइहाल्यो । यस्तै जनता समाजवादी पार्टी (जसपा) ले पनि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको वडा नं १० जितेको छ, उसको मत ७ सय ५५ छ । उसले पनि सत्ता गठबन्धनलाई नै समर्थन जनाउने जिल्लाका जसपा नेताहरूले बताएका छन् ।

यसरी हेर्दा यहाँ गठबन्धन निकै बलियो देखिन्छ । कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादी र जनता समाजवादीले जितेको वडाको संख्या ५९ हुन्छ भने यी दलहरूबाट निर्वाचित वडाध्यक्षहरूको मत २७ हजार ३ सय २५ हुन्छ । जुन मत एमालेको भन्दा १७ हजार १ सय ९६ ले बढि हो ।

निर्वाचन प्राविधिक पक्ष पनि हो । सिधासिधीरूपमा हेर्दा सत्ता गठबन्धनकै उम्मेदवारलाई सहज देखिन्छ । तर गठबन्धनभित्रको किचलो हेर्दा भने यसै भन्न सकिँदैन ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved