लोसपाको चुनावी घोषणापत्र सार्वजनिक

लोसपाको चुनावी घोषणापत्र सार्वजनिक

जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले आइतबार आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ।

मधेस आन्दोलनसँग जोडिएकै मुद्दालाई लोसपाले आफ्नो चुनावी घोषणापत्रमा समेटेको छ । लोसपाले नागरिकता समस्याको हल र मधेस आन्दोलनमा संलग्नमाथि चलाइएको मुद्दा फिर्तालाई नै अहिले पनि चुनावी अस्त्र बनाएको छ ।

महोत्तरीको जलेश्वरमा आइतबार लोसपाको चुनावी घोषणापत्र सार्वजनिक गर्दै अध्यक्ष महन्थ ठाकुरले मधेस आन्दोलनका एजेन्डा अझै पूरा नभएकाले त्यहि मुद्दालाई घोषणापत्रमा समेटिएको बताए । नेता ठाकुरले मधेसी जनता अझै विभेदमुक्त हुन नसकेको दाबी गरेका छन् ।

लोसपा अध्यक्ष ठाकुरले मधेस आन्दोलनको भावनाअनुसार संविधानले पूर्णता नपाएको हुँदा संविधान अपूर्ण रहेको बताउँदै  भने, ‘नागरिकतासम्बन्धी कानुन नै बनेको छैन । १० लाख जनता नागरिकताविहीन छन् । हाम्रो घोषणापत्रमा मधेसकै समस्या, एजेन्डा र मुद्दालाई प्राथमिकतामा राखिएको छ ।’

अध्यक्ष ठाकुरले आन्दोलनको बेला विभिन्न मु्द्दामा पक्राउ परेका आफ्ना थुप्रै साथीहरुले थुना रहेकोले उनिहरुको रिहाई हुनु पर्ने बताउँदै उनले सत्तामा गएर जनताको सेवा गर्ने सबै दलको ध्येय रहे पनि घोषणापत्रमा उल्लेख गरिएका मुद्दा सत्तामा पुगे नीति तथा कार्यक्रम मार्फत सम्बोधनको प्रयास गरिने बताए ।

लोसपाको घोषणापत्रमा संविधानको पूर्णता, पहिचान सहितको संघीयताको व्यावहारिक रुपान्तरण, नागरिकता वितरणको सुनिश्चितता, समानुपातिक समावेशिताको परिणाममुखी प्रत्याभूति र हरेक विभेदबाट मुक्त नेपाली नागरिकलाई महत्वका साथ समेटिएको छ ।

घोषणापत्रमा लोकतान्त्रिक समाजवादलाई जनहितमा व्यापक अभ्यास गर्दै भुइँस्तरमा लोकतन्त्र, सुशासन र जनकल्याणप्रति प्रतिबद्ध रहने उल्लेख गर्नुको साथै जनकपुरको धार्मिक र सांस्कृतिक विकास र लुम्बिनीलाई विश्वस्तर चिनाउन बिभिन्न योजना र कार्यक्रम ल्याइने बारे समेत उल्लेख छ।

लोसपाको घोषणापत्र मस्यौदाका संयोजक नेता अनिल झाले पार्टीले उठाएका मुद्दा र एजेन्डा थाँती नै रहेकाले घोषणापत्र विगतको निर्वाचनकै ‘अपडेटेड भर्सन’ रहेको बताए ।

‘लोसपाले प्राप्त गर्ने सिट र ५ वर्षे कार्यकालसम्म सरकार सञ्चालनको मौका पाए घोषणापत्रअनुसार काम गर्ने प्रयास हुनेछ,’ नेता झाले भने, ‘सरकारमा स्थान नपाए संसद् र सडकबाट आवाज उठाइन्छ ।’

लोसपाका वरिष्ठ नेता शरद सिंह भण्डासीले विगतमा गरिएका धेरै वाचा पूरा गर्न बाँकी रहेकाले मधेस आन्दोलनको अजेन्डा, सहिद परिवारलाई राहत, नागरिकता समस्याको समाधान र किसानको समस्यामा लोसपा गम्भीर रहेकाले घोषणापत्रमा त्यही मुद्दालाई प्राथमिकतामा राखिएको बताए ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved