मुख्य प्रशिक्षक नियुक्तिका लागि आवेदन खुलाउँदै एन्फा

नेपालभ्युज

मुख्य प्रशिक्षक नियुक्तिका लागि आवेदन खुलाउँदै एन्फा

काठमाडौं। मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले राजीनामा दिएको दुई महिना बित्दा पनि अखिल नेपाल फुटबल संघ (एन्फा)ले हालसम्म मुख्य प्रशिक्षक नियुक्त गर्न नसक्दा नेपाली राष्ट्रिय फुटबल टोली अहिले मुख्य प्रशिक्षकविहीन बनेको छ ।

अल्मुताइरीले भदौ २६ गते राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकबाट राजीनामा दिएपछि एन्फाले दुई कार्यवाहक प्रशिक्षक नियुक्त गरिसकेको छ । बंगलादेशविरुद्धको खेलका लागि प्रदीप हुमागाईंलाई नियुक्त गरेको एन्फाले पाकिस्तानविरुद्धको खेलका लागि कुमार कटुवाललाई नियुक्त गरेको छ ।

यसरी दुईपटक कार्यवाहक प्रशिक्षक नियुक्त गरिसक्दा मुख्य प्रशिक्षक नियुक्तिको प्रक्रिया अब थाल्न लागेको एन्फाको महासचिव किरण राईले जानकारी दिए । मुख्य प्रशिक्षक नियुक्तिका लागि आफूहरू काम अगाडि बढाइरहेको राईले बताए । आवेदन निकालेर नै मुख्य प्रशिक्षक नियुक्त गर्ने प्रक्रिया भएकाले केही समय लाग्ने भएको उनले बताए ।

‘हामी मुख्य प्रशिक्षक नियुक्तिका लागि प्रकृया थालि रहेका छौँ । यसै साता भित्र आवेदन निकाल्ने छौँ । त्यसपछि मुख्य प्रशिक्षक नियुक्तिको प्रकृया थाल्नेछौँ,’ राईले भने ।

एन्फाले अहिले मुख्य प्रशिक्षकमा युरोपेली प्रशिक्षक ल्याउन तयारी गर्दै एक चरणमा कुरा पनि थालेको थियो । अब आउने आवेदनमा युरोपेली प्रशिक्षक परेमा एन्फाले प्राथमिकतामा राख्ने योजना बनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved