मिथिलामा आज ‘गोधन’ पर्व मनाइयो, भोलि ‘भातृद्वितिया’ मनाइने

जनकपुरधामसहित सम्पूर्ण मिथिलाञ्चलमा आज गोधन पर्व मनाइएको छ। तिहार पर्वको चौथो दिन अर्थात् कात्तिक शुक्ल प्रतिपदाका मिथिला क्षेत्रमा गोधन पर्व मनाउने परम्परा रहेको अनुसार गोधन पर्व मनाइएको हो। 

मिथिलामा आज ‘गोधन’ पर्व मनाइयो, भोलि ‘भातृद्वितिया’ मनाइने
काठमाडौं। जनकपुरधामसहित सम्पूर्ण मिथिलाञ्चलमा आज गोधन पर्व मनाइएको छ। तिहार पर्वको चौथो दिन अर्थात् कात्तिक शुक्ल प्रतिपदाका मिथिला क्षेत्रमा गोधन पर्व मनाउने परम्परा रहेको अनुसार गोधन पर्व मनाइएको हो।
गोवर्द्धन नाम रहे पनि चलनचल्तीको भाषा गोधन भन्ने यस पर्वमा गाउँ टोलका सबै बन्धुबान्धव र परिवारका घरमुली महिला एक ठाउँमा जम्मा भई मंगल गीत गाउँदै यो पर्व मनाउने मैथिल परम्परा रहँदै आएको छ।
यो पर्व द्वापर युगमा श्रीकृष्णले इन्द्रको वर्षाको प्रकोपबाट गोकुलवासीलाई बचाउन आफ्नो कान्छी औलामा गोवर्द्धन पर्वत उठाएर त्यस मुनी सबै गोकुलवासीलाई वर्षाबाट सुरक्षा दिएको सम्झनामा मनाउने गरिन्छ।
गोवर्द्धन पर्वतले सुरक्षा दिएको भन्दै कृष्णले इष्टजनसहित गोवर्द्धन पर्वतको पूजा गरेका परम्पराको सम्झना भएको मानिन्छ।
गाई (गो) मुख्य पशुधन मानिने त्यो बेला श्रीकृष्णले गोवर्द्धन पर्वतले गाई पाल्न घाँस, पानी दिएको भन्दै सबैलाई इन्द्रको साटो पर्वतलाई पूजा गर्न हौस्याएका महाभारतकालीन कथावस्तु नै पर्व परम्परा भएको मैथिली साहित्यकार तथा वरिष्ठ पत्रकार रामभरोस कापडी बताउँछन्। पछिपछि गोवर्द्धन पूजा नै मिथिलामा ‘गोधन’ भनिन थालिएको कापडीले बताए।

भोलि ‘भातृद्वितिया’ मनाइने

गोवर्धन पूजाको भोलिपल्ट कात्तिक शुक्ल द्वितीयाका दिन ‘भातृ द्वितीया’ पर्व मनाउने गरिन्छ । मैथिली भाषी क्षेत्रमा यसलाई ‘न्यौत लिने’ भनिन्छ। दिदीबहिनीसँग दाजुभाइले न्यौत लिने गर्छन्। यसमा दिदीबहिनीहरूले आँगनीमा गाईको गोबर, पिठार र सिन्दूरले मनाएको विशेष प्रकारको रंगोली (चौका) मा पिँढीमा बसाली हातमा पान–सुपारी र शिरमा गम्छा÷तौलिया÷रुमाल राखिदिएर न्यौत दिन्छन् र सप्त रंगी टिका दिदी बहिनीले दाजुभाइलाई लगाइ दिने गर्छन्।
पिँढीमाथि बसेका दाजुभाइको हात पखाली दिएर पान–सुपारी एवं मिठाइ हातमा राखिदिने गरिन्छ। गम्छा टाउकोमा राखिदिने र मिठाइ खुवाइने चलन छ । न्यौत परम्पराका लागि पाँच रङ्गको फल अनिवार्य छ। पहिले–पहिले दाजुभाइले दिदीबहिनीका लागि खिर–पुरी वा चिउरा, दही तथा एक सेट साडी, ब्लाउज सहितको काँधमा भार (खर्पन) लिएर जाने चलन थियो । पछिल्लो समय फलफूल, कपडा र पैसा दिने चलन छ ।
यो ‘भातृ द्वितीया’ भनेको पहाडी समुदायले मनाउने भाइ टिका जस्तो नै हो । यस पर्वमा दिदी बहिनीले केराउको दानालाई केरामा खोपेर दाजुभाइलाई ‘बजरी’ खुवाउने चलन छ । ‘बजरी’ खुवाउनुको अर्थ आफ्नो दाजुभाइलाई कडा हुनु, (रोग व्याधि नलाग्नु रहेको छ  ।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved