रुपन्देही २ : गठबन्धनले कसलाई गर्छ समर्थन?

नेपालभ्युज

रुपन्देही २ : गठबन्धनले कसलाई गर्छ समर्थन?

काठमाडौं। रुपन्देही प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ मा राजु गुरुङ उम्मेदवारी खारेज भएपछि सत्ता गठबन्धनमा संकट उत्पन्न भएको छ।

कर्जा सूचना केन्द्रको कालोसूचीमा परेका गुरुङको उम्मेदवारी खारेज भएपछि गठबन्धनमा संकट उत्पन्न भएको हो। निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारी खारेज गरिदिएपछि त्यसविरुद्ध सर्वोच्च अदालत गएका गुरुङको उम्मेदवारी कायम नहुने भएपछि गठबन्धन दलहरू विकल्पको खोजीमा जुटेका छन्।

सर्वोच्चले शुक्रबार उनको रिटमा अन्तरिम आदेशको निरन्तरता नपाउने आदेश गरेको छ। नेताहरूले अर्को कुनै पार्टीको उम्मेदवारलाई समर्थन गरेर अगाडि बढ्ने आशय ब्यक्त गरेका छन्। विकल्पको खोजी गर्न सत्ता गठबन्धन आन्तरिक छलफलमा जुटेको छ।

गठबन्धनको प्रमुख दल नेपाली कांग्रेसका जिल्ला सभापति रामकृष्ण खाणले सत्ता गठबन्धनको बैठक बसेर विकल्पको खोजी गरिने बताए। ‘गठबन्धनका साझा उम्मेदवारको उम्मेदवारी खारेज भएपछि केही विकल्प त निकाल्नै पर्‍यो,’ खाणले नेपाल भ्युजसँग भने,’कसलाई समर्थन गर्ने भन्ने बारेमा बैठकलमा छलफल गरेर निर्णय हुने छ।’

उनले प्रदेश सभाका दुवै उम्मेदवारसँग छलफल गरेर निर्णय हुने जानकारी दिए। गुरुङको उम्मेदवारी खारेजीको निर्णय सर्वोच्चले हिजो सदर गरेसँगै दलहरू आन्तरिक छलफलमा जुटिसकेका छन्। उनीहरूले विभिन्न विकल्पमाथि छलफल गरिरहेका छन्।

नेकपा एकीकृत समाजवादी रुपन्देहीका अध्यक्ष अभिराम विश्वकर्माले सर्वोच्चको निर्णयले राजनीतिमा उताव चढाव आएको बताए। उनले पार्टीको बैठक बसेर कसरी अगाडि जाने भन्नेमा निर्णय गर्ने बताए।

पहिले आफ्नो पार्टीमा छलफल गरेपछि गठबन्धनका दलहरूसँग बैठक गरेर निर्णय हुने उनले जानकारी दिए। ‘राजु अहिले काठमाडौंमा नेताहरूसँग छलफलमा हुनुहुन्छ, उहाँ फर्किएपछि सल्लाह गरेर कसरी अगाडि जाने भन्ने निर्णय हुन्छ,’ विश्वकर्माले भने,’राजुको राय बझेर मात्रै हामी निर्णयमा पुग्छौं।’

अरु उम्मेदवारलाई समर्थन गरेर जानुको विकल्प नरहेको भन्दै उनले जित्न सक्ने उम्मेदवारलाई समर्थन गरिने बताए। ‘स्वतन्त्रसहित विभिन्न पार्टीका उम्मेदवारहरू हुनुहुन्छ, त्यसै भित्रबाट उपयुक्त उम्मेदवार छानेर गठबन्धनको समर्थन हुन्छ,’ उनले भने।

सम्भावित नामबारे गठबन्धन दलको बैठकले निकास निकाल्ने नेताहरूले बताएका छन्। प्रदेश (क) मा नेपाली कांग्रेसका दीर्घ बहादुर केसी र (ख) मा माओवादीका वामदेव क्षेत्रीको उम्मेदवारी परेको छ। नेकपा एमालेबाट प्रतिनिधि सभामा उपाध्यक्ष विष्णु पौडेल उम्मेदवार बनेका छन्। गुरुङको उम्मेदवारी खारेजीपछि पौडेललाई चुनाव जित्न केही सहज हुने आकलन एमालेले गरेको छ।

सम्बन्धित समाचार

राजु गुरुङको उम्मेदवारी यस कारण भयो खारेज (आदेशसहित)

विष्णु पौडेलका प्रतिद्धन्दी राजु गुरुङको उम्मेदवारी खारेज

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved