काठमाडौं-२ मा सहजरूपमा जित्छु, मन्त्रीको ‘रेस’मा छैन : ओनसरी घर्ती

'माओवादीले ६४ मा ऐतिहासिक जिम्मेवारी पूरा गर्न सकेन'

जनताले हामीलाई एकपटक देशको नेतृत्व गर भनेर जिताएकै हो । त्यसलाई हामीले कहिल्यै अवमूल्यन गर्दैनौँ । तर, हामी त्यो ऐतिहासिक जिम्मेवारी वहन गर्ने सिलसिलामा चुक्यौँ । हामीले जनतालाई सपनाहरू बाँड्यौँ तर पूरा गर्न सकेनौँ । केही ठाउँमा गल्तीहरू भए । अब हामी इमान्दार भएर अगाडि बढ्छौँ ।

नेपालभ्युज

काठमाडौं-२ मा सहजरूपमा जित्छु, मन्त्रीको ‘रेस’मा छैन : ओनसरी घर्ती

काठमाडौं। ओनसरी घर्ती नेपालको पहिलो महिला सभामुख तथा पूर्वमन्त्री हुन्। १० वर्षे सशस्त्र युद्धमा सामेल भएर सक्रिय भूमिका निभाएकी घर्ती मंसिर ४ मा हुने चुनावमा काठमाडौं क्षेत्र नं. २ बाट प्रतिस्पर्धामा उत्रिएकी छन् । पछिल्लो चुनावमा यो क्षेत्रबाट  माधवकुमार नेपाल विजयी भएका थिए । नेपाल रौतहट फर्किएपछि यस क्षेत्रमा घर्ती उम्मेदवार बनेकी हुन् ।

यद्यपि, काठमाडौं क्षेत्र नं. २ मा माओवादी केन्द्र कमजोर छ । उनलाई कांग्रेस र एकीकृत समाजवादीकै भर पर्नुपर्ने अवस्था छ । पछिल्लो स्थानीय तह निर्वाचनलाई आधार मान्ने हो भने यहाँ माओवादीसँग ३ हजारभन्दा बढी मत छैन । यो क्षेत्रमा शंखरापुर नगरपालिका, कागेश्वरी मनोहरा नगरपालिकाका वडा नम्बर ४ देखि ९ सम्म र काठमाडौं महानगरपालिकाको वडा नं. ९ र ३२ पर्छ ।

यो क्षेत्रमा नेकपा (एमाले) सबैभन्दा ठूलो दल हो । गत स्थानीय निर्वाचनमा वडामा एमालेले १७ हजार ३२५ मत पाउँदा कांग्रेसले १४ हजार १२८, एकीकृत समाजवादीले ८ हजार ७४, राप्रपाले ७ हजार २ सय र माओवादी केन्द्रले ३ हजार १३१ मत पाएको थियो । यसअनुसार वाम-लोकतान्त्रिक गठबन्धनको पक्षमा २५ हजारभन्दा बढी मत हुनेछ । तर, यो सोझो हिसाa मात्रै हो । गठबन्धनमा कति मत ट्रान्सफर हुन्छ भन्नेले परिणाम निर्धारण गर्नेछ ।

यस क्षेत्रमा घर्तीसँग नेकपा (एमाले) का मणिराम फुँयाल र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की कुन्तादेवी पोखरेल भिड्दैछन् । यस्तोमा जित निकाल्न सहज छ ? सजिलै ‘भोट ट्रान्सफर’को अवस्था होला ? यी यावत् प्रश्नहरू नेपालभ्युजकर्मी धनबल राईले उनै घर्तीलाई सोधेका छन् ।

कस्तो छ तपाईंको क्षेत्रको चुनावी माहोल ?

मैले उम्मेदवारी दर्ता गरेको काठमाडौं क्षेत्र नं. २ मा निकै उत्साहजनक चुनावी माहोल पाएकी छु । म अहिले चुनावी भेटघाट कार्यक्रममै व्यस्त छु । जनताको घर-घरमा गएको छु । स्थिति निकै राम्रो देखेकी छु । निर्वाचन आयोगको नियमबमोजिम हामी चल्नुपर्छ र मैले सोहीअनुसार चुनावी भेटघाट गरिरहेकी छु । अहिले आन्तरिकरूपमा तयारी गरिरहेका छौँ ।

मतदाताहरू एकदमै उत्साहित हुनुहुन्छ मप्रति, मेरो उम्मेदवारीप्रति, उहाँहरू विगतका कमी-कमजाेरीहरू नदोहोरियोस् भन्नेमा सचेत देखिनुहुन्छ । म उहाँहरूकै माझमा छु, उहाँहरूले मलाई विभिन्न समस्यासँग परिचित गराउँदै हुनुहुन्छ । त्यहीअनुसार मैले तयारी गरिरहेकी छु ।

तर, यो क्षेत्रमा माओवादी केन्द्रचाहिँ निकै कमजोर छ, यस्तोमा तपाईंलाई कांग्रेस र एकीकृत समाजवादीकै भर पर्नुपर्ने अवस्था छ होइन ?

अहिले कुनै पार्टीविशेषकाे कुरा छैन, हामी देशैभरि गठबन्धनमै छौँ । म पनि गठबन्धकै उम्मेदवार हुँ । कांग्रेस, एकीकृत समाजवादीसँगै छौँ हामी अहिले । हामीले निर्णय नै सँगै रहने र आपसमा नि:स्वार्थ भावनाबाट प्रेरित भएर सहयोग गर्ने भनेका छौँ । त्यसैले, अहिले हामी कुनै एक पार्टीमा मात्रै केन्द्रित छैनौँ ।

हामी वाम-लोकतान्त्रिक गठबन्धनको तर्फबाट उम्मेदवार बनेका हौँ । र, आज हामी साझा अभियानमा छौँ । गठबन्धनको तर्फबाट उम्मेदवार बनेको कुनै पनि नेतालाई अर्कै पार्टीको भर पर्नुपर्ने भन्ने कुरा नै हुँदैन ।

तर, तपाईंहरूले सोचेजसरी ‘भोट ट्रान्सफर’को अवस्था बन्ला ?

स्वाभाविकरूपमा जनसमुदायको विभिन्नखाले प्रश्नहरू छन् नै, तर आजको दिनमा हामीले आफ्नो रहरले भन्दा पनि राज्यका लागि, जनताका लागि र संविधानका लागि एकठाउँमा उभिनुपर्ने अवस्था बनेको छ । नयाँ ढङ्गले आफ्नाे कर्तव्य पूरा गर्नुपर्ने अवस्था आएको छ ।

यसलाई सबैले बुझ्नुपर्छ र जनसमुदायले बुझेकै पनि छन् भन्ने लाग्छ । त्यसैले उहाँहरूले अवस्थालाई बुझेर मतदान गर्नुहुन्छ भन्नेमा म विश्वस्त छु । सिङ्गो गठबन्धनसमर्थित नेता-साथीहरू यसप्रति प्रतिबद्ध हुनुहुन्छ । यो अवस्थाचाहिँ बन्छ नै भन्ने लागेको छ ।

यो क्षेत्रमा नेकपा (एमाले) का मणिराम फुँयाल र राप्रपाकी कुन्तादेवी पोखरेल प्रतिस्पर्धी हुनुहुन्छ । जित्छु भन्ने तपाईंको विष्लेषण हो ?

वाम-लोकतान्त्रिक गठबन्धनले गत स्थानीय निर्वाचनमा प्राप्त गरेको मतलाई मात्रै सरासर हेर्ने हो भने पनि मेरो जित सुरक्षित छ । र, अहिले पनि हामीले निकै मेहनतका साथ काम गरिरहेका छौँ । यसो हुँदा जित सहजै निकाल्न सक्छौँ हामी । हामीले ठूलो मतान्तरले नै जित्छौँ, प्रदेश र संघमै हामीले ठूलो मतान्तरले जित्छौँ र अवस्था पनि त्यस्तै बन्दैछ । तर, अहिले हामीले आफ्नै मुखबाट भन्दैनौँ, यो आम जनसमुदायले गर्ने फैसला हो ।

हिजोका निर्वाचनहरूमा जसरी हामीलाई जनताले साथ दिए । त्यसपछि भएका कामहरू जगजाहेरै छ । हिजो हामीलाई जिताएपछि संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल बन्यो । यो हामी सबैकाे हो । अब हामीले यी उपलब्धिहरूलाई अझ संस्थागत गर्दै अगाडि बढ्ने प्रयासमा छौँ ।

तपाईंले जितेपछि आफ्नो क्षेत्रका समस्याको सम्बोधन कसरी गर्नुहुन्छ ?

जसरी यहाँका मतदाताहरूले विभिन्नखाले समस्या मलाई भनिरहनुभएको छ र मलाई आफैँलाई पनि यस क्षेत्रका बारेमा धेरै कुराहरू थाहा छ । मैले त्यसको खाकासमेत कोरिसकेकाे छु । म आफ्नो क्षेत्रकाे वृद्धि-विकासका लागि सधैँ लागिरहनेछु । कामहरू सरकारले नै गर्ने हो, हामी मात्रै एउटा माध्यम बन्ने हो । यत्ति हुँदाहुँदै पनि हामी योजना लिएर आएका छौँ । जनताको अनुमतिले मैले धेरैभन्दा धेरै संसदीय काम गर्नेछु ।

यो निर्वाचनपछि गठबन्धनकै सरकार बन्छ । गठबन्धनले जनताकाे समस्याहरूको सम्बोधन गर्नेगरी लिपिबद्धसमेत गरिसकेको छ । यसैलाई लिएर पनि म आफ्नो क्षेत्रकाे विकासमा लाग्नेछु ।

धेरै माओवादी नेताहरूले गठबन्धन ‘इच्छाको विषय’ होइन/थिएन भनेर भन्नुभएको छ, के उहाँहरूले भन्नुभएको ठिकै हो ?

तपाईंले देख्दै नै आउनुभएको छ कि नेपालको राजनीतिमा कहिलेकाहीँ ‘अति विशिष्ट’ मोडहरू आउने गर्दछन् र अहिलेको पनि एउटा विशिष्ट खालकै अवस्था हो । जसकाे सामना हामी दलहरू मिलेर गरिरहेका छौँ । अथवा भनौँ— अहिले हामी पार्टीभन्दा माथि उठेर देश, जनता, संविधान, व्यवस्था र राष्ट्रलाई नै बचाउने महाअभियानमा छौँ । यो वाम-लोकतान्त्रिक गठबन्धन एउटा जटिल अवस्थामा बनेको छ, यसलाई बचाइराख्नु सबैकाे कर्तव्य हाे र त्यसबाट हामी कहिल्यै च्युत हुँदैनौँ ।

हिजो राजतन्त्रको अन्त्य भएर संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल घोषणा हुँदा पनि यस्तै अवस्था थियो । प्रमुख परिवर्तनका पछाडि कुनै न कुनैखाले गठबन्धन भएकै हुन्छ, अहिले पनि हामीले प्रतिगमनलाई परास्त गर्दै फेरि पनि समाजवादतिर जाने प्रक्रियामा छौँ, त्यसैले पनि याे वाम-लोकतान्त्रिक गठबन्धन बचाइराख्नुपर्ने भएको हो ।

अब पनि  संविधान र व्यवस्थाको रक्षा गर्दै पार्टीभन्दा माथि उठ्नुपर्ने अवस्था छँदैछ । यसलाई हामीले राम्रोसँग मनन गरेका छौँ । एक हिसाबले भन्दा यो बाध्यताजस्तो पनि हो, तर फेरि पनि योचाहिँ आजकाे राष्ट्रिय आवश्यकता हो । बाध्यता पनि आवश्यकता बढी हो । यसैकारण, अहिले हामी गठबन्धनमा रहेका हौँ ।

अध्यक्ष प्रचण्डले तपाईंलाई जितेपछि मन्त्री बनाउँछु भनेर भन्नुभएको छ । तर, कतिपयले त सभामुख भइसकेको मान्छे कसरी मन्त्री हुने भनेर पनि प्रश्न गरेका छन् !

भोलिको जिम्मेवारीको चिन्ता मलाई छैन, भोलिको जिम्मेवारीभन्दा पनि म पदीयरूपमा कसरी अगाडि बढ्ने भन्नेबारे सोच्ने गर्छु । म जनताको कामकै लागि निर्वाचन लड्दै छु, यदि मलाई जिताएर सेवा गर्ने मौका प्राप्त भएमा कुनै पदको लागि बार्गेनिङ नगरिकन आफूले पाएको जिम्मेवारी निभाउनेछु । खासरूपमा म मन्त्रीको ‘रेस’मा छैन । यद्यपि, विश्वास गरेर गठबन्धनले जिम्मेवारी दियो भने त भाग्ने कुरा रहेन ।

जहाँसम्म सभामुख भइसकेको मान्छे मन्त्री कसरी हुने भन्ने प्रश्न छ, यो त संसारभरि नै देखिएकै छ पहिले सभामुख बनेको र पछि मन्त्री बनेकाहरू धेरै नै छन् । यो बहसकाे विषय नै बनेन ।

अन्त्यमा, माओवादीको जनमत निरन्तर खस्कँदै गएको छ । यसको कारण के हो ? कहाँनेर चुक्नुभयो तपाईंहरू ?

हो, जनताले हामीलाई एकपटक देशको नेतृत्व गर भनेर जिताएकै हो । त्यसलाई हामीले कहिल्यै अवमूल्यन गर्दैनौँ । तर, हामी त्यो ऐतिहासिक जिम्मेवारी वहन गर्ने सिलसिलामा चुक्यौँ । हामीले जनतालाई सपनाहरू बाँड्यौँ तर पूरा गर्न सकेनौँ । केही ठाउँमा गल्तीहरू भए, यसपछि हामीप्रति जनताको विश्वास खस्कँदै गएको हाे कि भन्ने लाग्छ ।

०६४ कै कुरा गर्दा पनि त हामीले देशलाई संविधान दिन सकेनौँ । जनताको समृद्धिकाे सपनामा साथ दिन सकेनौँ । यसपछि हामीलाई जनताले नै दण्डित गर्दै ल्याए । तर, अब भने हामीले आफ्नो गल्ती महसुस गर्‍यौँ, अब हामी सच्चिँदैछौँ । यो जनताले बुझेका छन् । अब हामी इमान्दार भएर अगाडि बढ्छौँ, जनताको बीचमा जान्छौँ र पुन: देशकाे नेतृत्व गर्छौँ भन्ने हाम्रो अहिलेकाे सङ्कल्प हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप अन्तर्वार्ता

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved