काठमाडौं ५ मा एमाले वरिष्ठ उपाध्यक्ष पोखरेललाई कांग्रेसका युवा नेता पौडेलको चुनौती

एमालेका वरिष्ठ उपाध्यक्ष पोखरेल दोस्रो जीत निकाल्ने प्रयत्नमा छन्। कांग्रेस नेता महत समानुपातिकमा बसेपछि सत्ता गठबन्धनबाट उम्मेदवार भएका छन् युवा नेता प्रदीप पौडेल।  स्वतन्त्र उम्मेदवार रञ्जु दर्शना समेत सोही क्षेत्रमा प्रतिस्पर्धामा छिन्।

नेपालभ्युज

काठमाडौं ५ मा एमाले वरिष्ठ उपाध्यक्ष पोखरेललाई कांग्रेसका युवा नेता पौडेलको चुनौती

काठमाडौं। हेभिवेट नेता प्रतिस्पर्धा गरेको निर्वाचन क्षेत्र हो काठमाडौं–५ । ४ मंसिरमा हुने प्रतिनिधिसभाको निर्वाचनमा यो क्षेत्रमा २९ जना उम्मेदवार छन्। बौद्धिक समुह रहेको मानिएको सो क्षेत्रमा अघिल्लो निर्वाचनमा नेकपा एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल विजयी भएका थिए।

उनले नेपाली कांग्रेसका नेता डा. प्रकाश शरण महतलाई १० हजार भन्दा बढी मतान्तरले पराजित गरेका थिए। सोही क्षेत्रबाट २०७० को संविधानसभा निर्वाचनमा कांग्रेसका नरहरि आचार्यले पोखरेललाई हराएका थिए।

एमालेका वरिष्ठ उपाध्यक्ष पोखरेल दोस्रो जीत निकाल्ने प्रयत्नमा छन्। कांग्रेस नेता महत समानुपातिकमा बसेपछि सत्ता गठबन्धनबाट उम्मेदवार भएका छन् युवा नेता प्रदीप पौडेल।  स्वतन्त्र उम्मेदवार रञ्जु दर्शना समेत सोही क्षेत्रमा प्रतिस्पर्धामा छिन्।

जनता समाजवादी पार्टी नेपालका भीमबहादुर मगर, राष्ट्रिय प्रजातन्त्र पार्टीका रामप्रसाद उप्रेती, मजदुर किसान पार्टीका शैलेश डङ्गोल, लोकतान्त्रिक समाजवादी पार्टीका दानिन्द्र जोशी, मौलिक जरोकिलो पार्टीका रामकृष्ण परियार, हाम्रो नेपाली पार्टीका मधुसुदन पाठक, राष्ट्रिय स्वतन्त्र पार्टीका डा.प्रणय शम्शेर राणा लगायत पनि उम्मेदवार छन्।

१५ जना राजनीतिक दलका र १४ जना स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा भए पनि मुख्य प्रतिस्पर्धा भने नेकपा एमालेका पोखरेल र सत्ता गठबन्धनका पौडेलबीच हुने अनुमान गरिएको छ ।

एमालेको दाबी सबै एकै ठाउँमा आए पनि हामी जित्छौँ

सत्तारुढ गठबन्धनमा कांग्रेससहित, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी,  लोकतान्त्रिक समाजवादी फोरम (लोसपा) र राष्ट्रिय जनमोर्चा छन्। तर काठमाडौं ५ मा कसैसँग चुनावी तालमेल नगरेको एमालेले आफू नै बलियो रहेको दाबी गरेको छ।

गत बैशाखमा भएको स्थानीय तह निर्वाचनले पनि एमालेको तुलनामा अन्य दल कमजोर देखाएको एमाले नेताहरुको तर्क छ ।

सो क्षेत्रको प्रदेश ‘ख’ का उम्मेदवार समेत रहेका एमाले काठमाडौँका अध्यक्ष दीपक निरौला भन्छन्, ‘‘क्षेत्र नम्बर ५ को १५ वटा वडामध्ये स्थानीय तहमा एमालेले ११ वटा वडा जितेको छ। कांग्रेसले तीन वटा र स्वतन्त्रले दुई वटा वडा जितेका छन्। यस कारण सत्तारुढ गठबन्धन र स्वतन्त्र उम्मेदवार सबै एकै ठाउँमा आए पनि हामी बलियो छौँ। जित निश्चित छ।’’

यस्तो छ स्थानीय तहको नतिजा

काठमाडौं– ५ मा काठमाडौं महानगरपालिकाको वडा २, ३, ४ र ५, बुढानीलकण्ठ नगरपालिकाको वडा ३,४,५,६ र ७ का साथै टोखा नगरपालिकाको २,३,४,५, ६ र ७ वडा पर्छन्।

यी तीन वटा नगरपालिकामा नतिजा हेर्ने हो भने दुई वटा वडामा एमाले र एउटामा स्वतन्त्र उम्मेदवार विजयी भएका छन्। एमालेले ११ वटा वडा जितेको छ। कांग्रेसले तीन वटा र स्वतन्त्रले दुई वटा वडा जितेका छन्। एमालेले जितेका ११ वडाध्यक्षको मत १९ हजार ७ सय ३ देखिन्छ।

सत्ता गठबन्धनको करिब १७ हजार हाराहारीमा मत देखिन्छ। अन्य मत ३ हजार भन्दा बढी छ । स्वतन्त्र उम्मेदवारले ७ सय ८१ पाएका थिए। यदि प्रतिनिधिसभा चुनावमा समेत यस्तै प्रकारले मत खस्ने हो भने गठबन्धनलाई हराउन सकिने एमालेको आकलन छ।

यता कांग्रेसका नेताहरू भने स्थानीय चुनावमा आफूहरुकाे मत थोरै आएपनि अब जित्ने गरी तयारी गरेको दाबी गर्छन्। उनीहरु भन्छन्, ‘‘स्थानीय चुनावमा एमालेभन्दा गठबन्धन २ हजार मतले तल थियो। यो बीचमा गठबन्धनको पक्षमा माहोल बनाएका छौँ। स्थानीय तहको नतिजा उल्ट्याउने प्रयासमा छौँ।’’

 

पहिले जस्तो छैन रन्जुको क्रेज

विवेकशील साझा पार्टीकी पूर्व नेतृ रन्जु दर्शनाले यसपटक काठमाडौं ५ बाट स्वतन्त्र उम्मेदवारी दिएकी छन् । दर्शना यसअघि विवेकशील नेपाली दलबाट काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवारी दिएपछि चर्चामा थिइन्।

२१ वर्षकै उमेरमा मेयरमा उम्मेदवारी दिएकी उनले तेस्रो स्थानमा रहँदै २३ हजार ४ सय ३९ मत प्राप्त गरेकी थिइन्। वैकल्पिक राजनीति भनेर अघि बढिरहेको संगठनको मूल नेतृत्वमा अधिकतम ढोंग पाएको उल्लेख गर्दै उनले विवेकशील साझा पार्टी छाडेकी थिइन्।

अघिल्लो पटक काठमाडौं ५ मा पोखरेलले २३ हजार २९ मत ल्याउँदा कांग्रेसका डा महतले १३ हजार १ सय ६९ मत प्राप्त गरेका थिए। त्यस्तै विवेकशील साझा पार्टीका उम्मेदवार उज्ज्वल थापाले ६ हजार ८ सय ५३ मत ल्याएका थिए। यसअघि वैकल्पिक राजनीति भनेर अघि बढिरहेको अवस्थामा साझा विवेकशील पार्टी तथा रन्जु दर्शनालगायतका उम्मेदवारको राम्रो क्रेज थियो।

तर, पछि पुराना दलहरूजस्तै टुटफूट र विवादमा जेलिएपछि मतदातामा नयाँ दलप्रति पहिले जस्तो क्रेज देखिदैन । रञ्जुको क्रेज पनि पहिले जस्तो देखिएको छैन । त्यसैले मुख्य प्रतिस्पर्धा पोखरेल र पौडेलकै हुने अनुमान गरिएको छ । स्थानीय तहको चुनावमा आएको मत दोहोरिने सम्भावना भने कम छ । किनकी कांग्रेसका युवा उम्मेदवार प्रदीप पौडेल पहिलेका उम्मेदवार महत भन्दा बढी लोकप्रिय छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved