रामकुमारी झाँक्री र गोकर्ण विष्टबीच कडा टक्कर,  दुवैले चहार्दैछन गाउँघर

दुई वर्ष अघिसम्म एउटै पार्टीमा रहेका एमालेका सचिव नेता गोकर्ण विष्ट र नेकपा एकिकृत समाजवादी पार्टीकी सचिव रामकुमारी झाँक्री चुनावी मैदानमा छन् ।

नेपालभ्युज

रामकुमारी झाँक्री र गोकर्ण विष्टबीच कडा टक्कर,  दुवैले चहार्दैछन गाउँघर

काठमाडौं। आउँदो मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको रौनक दिनदिनै बढ्दो छ । चोक/चौतारो, चिया पसल लगायतका ठाउँमा कहाँ कस्ले जित्ला भन्ने अनुमान र दाबी सुनिन थालेका छन् ।

केहि निर्वाचन क्षेत्रमा त झन देशकै चर्चित अनुहारहरु आपसमा भिड्दै गरेको कारण चासो नहुने कुरै भएन् । यस्तै मध्येको एक हो गुल्मीको निर्वाचन क्षेत्र नम्बर-२ । जहाँ दुई वर्ष अघिसम्म एउटै पार्टीमा रहेका एमालेका सचिव नेता गोकर्ण विष्ट र नेकपा एकिकृत समाजवादी पार्टीकी सचिव रामकुमारी झाँक्री चुनावी मैदानमा छन् ।

अघिल्लो चुनावमा एक अर्काको पक्षमा भोट माग्दै हिँडेका दुई नेता अहिले एक अर्काविरुद्ध आरोप लगाउँदै आफ्नो पक्षमा मात्रै भोट माग्न व्यस्त छन् ।  विष्ट एमालेबाट र झाँक्री सत्ता गठबन्धनबाट चुनावी मैदानमा छन् । दुवैजना अहिले गाउँघरमा प्रचारप्रसारमा व्यस्त छन् । तीनपटकसम्म सांसद बनिसकेका गोकर्ण विष्ट र एकपटक समानुपातिकबाट सांसद बनेकी रामकुमारी झाँक्रीबीचको टक्कर निको रोचक हुने धेरैको अनुमान छ ।

पालिका चुनावको अंक गणित

गएको बैसाखमा भएको पालिका निर्वाचनको हिसाबले गुल्मी-२ मा रामकुमारी झाँक्री र गोकर्ण विष्ट दुवै एक अर्कोको लागि नजिकका प्रतिष्पर्धी हुन् भन्ने देखाएको छ । गुल्मी-२ मा रामकुमारी झाँक्रीको आफ्नै पार्टी एकिकृत समाजवादीको मत त निकै कमजोर छ तर नेपाली कांग्रेस, माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चासँग गठबन्धन गरेकाले इमान्दारपूर्वक उनिहरुको भोट आयो भने झाँक्रीले विष्टलाई टक्कर दिन सक्ने देखिन्छ ।

पालिका निर्वाचनमा वडा अध्यक्षहरुले पाएको मत हेर्दा गुल्मी-२ मा एमालेले ३१ हजार २५३ मत पाउँदा कांग्रेसले २९ हजार ८२१ मत पाएको छ । माओवादी केन्द्रको १ हजार ८४१ र एकीकृत समाजवादीको जम्मा ६ सय ५८ मत छ । तर पालिका निर्वाचनको जस्तो अवस्था अहिले छैन ।

रामकुमारीको विरुद्धमा नेपाली कांग्रेसबाटै बागी उम्मेदवारी परेको छ । बागी उम्मेदवारी दिएका डाक्टर दामोदर भुसालले उम्मेदवारी फिर्ता लिएनन् । जसको कारण झाँक्रीको चुनावी दौड कमजोर हुने सम्भावना छ । एकिकृत समाजवादीका जिल्ला कमिटीका धेरैजना एमालेमै फर्किएका छन् । यी सबै घटनाका हेर्दा झाँक्रीलाई गाह्रो देखिन्छ ।

तर गोकर्ण विष्ट पनि सहज अवस्थामा छैनन् । पालिका निर्वाचनमा उनकै जन्मथलो रहेको इस्मा गाउँपालिकामा एमालेले हारेको छ । गढ मानिएका मदाने गाउँपालिका र मालिकामा पनि एमालेका उम्मेदवारले हारे । तीन पटकसम्म सांसद र दुई पटकसम्म मन्त्री हुँदा पनि आफ्नो निर्वाचन क्षेत्रमा उल्लेख्य विकास गर्न नसकेको आरोप विष्टमाथि लाग्दै आएको छ ।

यस्तै तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्दा विरोध गरेको तर पछि संसद विघटनलाई गलत हो भन्न नसकेर नेतृत्वसामु लम्पसार परेको आरोप विष्टमाथि लाग्दै आएको छ ।

तर गुल्मीबाट तीन पटकसम्म सांसद बनेका विष्टको नरम र शिष्ट स्वभाव, मतदाताप्रति सम्मान लगायतका कारण उनलाई गुल्मी-२ मा निर्विकल्प देख्नेहरु पनि छन् । अहिले भएको विकास निर्माणमा विष्टकै योगदान पनि रहेको छ । विष्ट आफ्नो क्षेत्रको भ्रमणमा जाँदा गाउँका गरिबदुखी, बुढाबुढी असक्तता भएका नागरिकसँग भेटघाट गर्ने र समस्या समाधानको कोसिसमा अगाडी छन् । नेकपा एमाले फुटतर्फ उन्मुख हुँदा पार्टी एकतावद्ध राख्नका लागि १० बुँदे सहमति गराउन पनि विष्ट सक्रिय रहेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved