‘कहीँ नभएको हाँडीगाउँको जात्रा’ सम्पन्न, बुधबार मूर्ति पुजारीघरमा लगिने

‘कहीँ नभएको हाँडीगाउँको जात्रा’ सम्पन्न, बुधबार मूर्ति पुजारीघरमा लगिने

काठमाडौं । काठमाडौँ महानगरपालिका–५ स्थित हाँडीगाउँ क्षेत्रमा प्रदर्शन गरिने चोक्काथुनारायणको जात्रा सम्पन्न गरिएको छ । प्रत्येक वर्ष कोजाग्रत पूर्णिमापछि गरिने यो जात्रा यस क्षेत्रको प्राचीन मौलिक संस्कृतिका रुपमा मानिँदै आएको छ । जात्राका क्रममा सोमबार हाँडीगाउँ, विशालनगर र गहनापोखरी क्षेत्रमा रथयात्रा गरिएको पूर्ववडाध्यक्ष रमेश डङ्गोलले  जानकारी दिए ।

तीननारायण एवं ‘कहीँ नभएको जात्रा हाँडीगाउँमा’ समेत भनिने यो जात्रा यस क्षेत्रको प्राचीन जात्रा मानिन्छ । देशका अन्य स्थानमा हुने जात्रा खटको गजुर उल्टो नपारी गरिने र यहाँको नारायण जात्रा भने उल्टो पारेर गरिने भएकाले कहीँ नभएको जात्रा भन्ने गरिएको हो । चोकेटनारायणसमेत भनिने चोक्काथुनारायणको नाममा गुठी जग्गा राखी जात्रा चलाउने व्यवस्था गरिएको थियो । गुठी संस्थानको लगतमा चोक्काथुनारायण एवं तीननारायणका नाममा गुठी जग्गा राखिएको छ ।

मन्दिरको ढोकामा रहेको नेवारी भाषाको अभिलेखअनुसार राजा नरेन्द्र मल्लको पालादेखि यो जात्रा सुरु भएको हो । चोक्काथुनारायणको मन्दिर बूढानीलकण्ठबाट ल्याई यहाँ स्थापना गरिएको ‘हाँडीगाउँ : एक परिक्रमा’ पुस्तकका लेखक एवं यस क्षेत्रको सांस्कृतिक परम्पराका बारेमा अध्ययन गरिरहेका यज्ञनाथ आचार्यले बताए ।

जात्राका त्रममा बुधबार मूर्तिलाई पुजारी घरमा राखिन्छ । यसपछि यो जात्रा समाप्त हुन्छ । कार्तिक कृष्ण प्रतिपदादेखि तृतीयासम्म यस क्षेत्रमा कहीँ नभएको जात्रा गर्ने चलन छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved