मंसिर ४ को चुनावमा कुनकुन दलले कटाउलान थ्रेसहोल्ड ?

समग्रमा भन्दा ३ ठूला दलको ७ वटै प्रदेशमा थ्रेसहोल्ड कट्ने देखिन्छ छ भने जसपाले ३ वटा प्रदेश प्रदेश–१, मधेश र लुम्बिनीमा थ्रेसहोल्ड कट्ने छ । नेकपा ( एकिकृत ) को बारेमा कुनै पनि प्रदेशमा यसै भन्न सकिँदैन । ठीक यस्तै अवस्था राप्रपाको पनि देखिन्छ । राप्रपाले कुनकुन प्रदेशमा प्रादेशिक थ्रेसहोल्ट काट्छ यसै भन्न सकिने अवस्था छैन । यी दुबै दलका संभाव्य प्रदेश भने धेरै छन।

मंसिर ४ को चुनावमा कुनकुन दलले कटाउलान थ्रेसहोल्ड ?

काठमाडौं। मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनका लागि २०७९ मंसिर ३ गतेसम्म १८ वर्ष उमेर पुग्ने सबै नेपाली नागरिक मतदाता हुनेछन्। निर्वाचन आयोगले अहिलेसम्म अन्तिम मतदाता नामावली सम्बन्धि तथ्यांक सार्वजनिक गरेको छैन।

बैशाखको स्थानीय तह निर्वाचनमा ३६ लाख ५९ हजार २ सय ९९ नयाँ मतादाता थपिएका थिए। कुल मतदाता संख्या १ करोड ७७ लाख, ३३ हजार ७२३ मतदाता थिए। मंसिर ४ गतेको निर्वाचनका लागि १ करोड, ७९ लाख ८८ हजार, ५७० मतदाता हुने छन्।

स्थानीय निर्वाचनमा ६४ प्रतिशत अर्थात् १ करोड १३ लाख ४९ हजार ५८२ मत खसेको थियो। २०७४ को आम निर्वाचनमा सदर समानुपातिक मत ९५ लाख, ४४ हजार ७ सय ४४ थियो।

२०७४ सालमा ५ वटा दलले मात्र संघीय थ्रेसहोल्ड काटेका थिए–नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय जनता पार्टी, र संघीय समाजवादी पार्टी । यी दलले क्रमशः ३३.२५ प्रतिशत, ३२.७८ प्रतिशत, १३.६६ प्रतिशत, ४.९५ प्रतिशत र ४.९३ प्रतिशत मत प्राप्त गरेका थिए ।

थ्रेसहोल्डको नजिक नजिक पुगेको ५ औं दल बिकेकशील साझा पार्टी थियो । यसले २ लाख, १२ हजार ३ सय ३६ अर्थात् २.२२ प्रतिशत मत प्राप्त गरेको थियो ।
राप्रपा, नेमकिपा, राष्ट्रिय जनमोर्चाजस्ता पुराना पार्टीहरु पनि थ्रेसहोल्डभन्दा बाहिर नै रहेका थिए । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईको नयाँ शक्ति पार्टी पनि संघीय थ्रेसहोल्डभन्दा बाहिर रहेको थियो ।

संघीय थ्रेसहोल्ड कट्न राजनीतिक दलले सदर समानुपातिक भोटको ३ प्रतिशत मत प्राप्त गर्नु पर्ने हुन्छ । मतदानको परम्परा र प्रवृति हेर्दा मंसिर ४ गतेको निर्वाचनमा करिब १ करोड २५ लाखसम्म मतदान हुने र करिब १ करोड २० लाख मत सदर हुनसक्ने अनुमान गर्न सकिन्छ । यसका आधारमा कुनै राजनीतिक दललाई थ्रेसहोल्ड काट्न न्यूनतम् करिब ३ लाख ७५ हजार मत चाहिन्छ ।

गत बैशाख ३० गते सम्पन्न स्थानीय निर्वाचनमा वडासदस्यसम्मको प्रतिनिधित्वलाई आधार मान्दा २४ वटा पार्टीले विजय हासिल गरेका थिए।

ती दल क्रमशः १. नेपाली कांग्रेस, २. नेकपा ( एमाले), ३.नेकपा ( माओवादी केन्द्र ) ४. जनता समाजवादी पार्टी, ५. नेकपा (एकीकृत समाजवादी ) ६. लोकतान्त्रिक समाजवादी पार्टी, ७. राष्ट्रिय प्रजातन्त्र पार्टी, ८. राष्ट्रिय जनमोर्चा ९. नागरिक उन्मुक्ति पार्टी, १०. जनमत पार्टी, ११.नेपाल मजदूर किसान पार्टी, १२. जनता प्रगतिशील पार्टी, १३. विवेकशील साझा पार्टी १४. तराई–मधेश लोकतान्त्रिक पार्टी १५. नेपाल जनता पार्टी, १६. संघीय लोकतान्त्रिक राष्ट्रि मञ्च १७. नेपाली कांग्रेस (बीपी), १८. नेपाल लोकतान्त्रिक पार्टी, १९.राष्ट्रिय जनमुक्ति पार्टी २०. बहुजनशक्ति पार्टी, २१. बहुजन एकता पार्टी, २२. नेपाल सुशासन पार्टी, २३. नेपाल सदभावना पार्टी र २४. नेकपा ( माओवादी–समाजवादी) हुन ।

स्थानीय चुनावपछि थप ४ वटा नयाँ दल राजनीतिक वृतमा क्रियाशील देखिन्छन । डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी, कमल थापा नेतृत्वको राप्रपा नेपाल, लौरो चुनावचिन्ह भएको हाम्रो नेपाली पार्टी र पत्रकार रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी ।

त्यसो त निर्वाचन आयोगमा ११६ दल अध्यावधिक दर्ता भएका छन । ती मध्ये ४८ दलले मात्र समानुपातिक सुची बुझाएका छन। यी सबै दलले संघीय थ्रेसहोल्ड काट्न सक्ने आधार र संभावना छैन ।

यी मध्ये नेसपालाई थ्रेसहोल्डको भय छैन। नेसपाले माओवादी केन्द्रको चुनावचिन्हबाटै चुनाव लड्ने र साझा समानुपातिक सुचीमै आफूलाई समायोजित गरेको हुँदा यसको भिन्नै हिसाब गरिरहनु परेन । नेसपाले माओवादी केन्द्रको संघीय समानुपातिक सूचीमा ५ जना, प्रदेश–१ को सूचीमा १ जना, मधेशको सुचीमा ४ जना, बाग्मति र गण्डकीको सूचीमा ३/३, लुम्बिनीमा २ र कर्णाली र सुदुरपश्चिमको सुचीमा १/१ जना समावेश गरेको छ ।

रवी लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले भने संघीय समानुपातिक सुची मात्रै बुझाएको छ। प्रदेशसभामा प्रत्यक्ष र समानुपातिक दुबैतिर भाग नलिने बताएको छ। लौरो चिन्हको नेतृत्व वगत काठमाडौं महानगरमा मेयर पदमा उल्लेखनीय मत ल्याएका सुमन सयामीले गरिरहेका छन्।

यतिका धेरै दलहरू मध्ये कुनकुन दलले थ्रेसहोल्ड काट्ने हुन वा नकाट्ने हुने भन्ने जिज्ञासा सर्वत्र छ। अझ राष्ट्रिय दल बन्नका लागि प्रत्यक्ष तर्फको १ सीट समेत हुन पर्दछ। २०७४ को चुनावमा राष्ट्रिय जनमोर्चा, राप्रपा, नेमकिपा र नयाँ शक्ति पार्टी नेपाल गरी ४ वटा त्यस्ता दल थिए जसको प्रत्यक्षतर्फ १ सीट भए पनि ३ प्रतिशत थ्रेसहोल्ड काट्न नसकेको कारणले राष्ट्रिय दलको मान्यता प्राप्त गरेका थिएनन्।

तीन दल निश्चित

गत स्थानीय निर्वाचनको मतपरिणाम र त्यस यताको राजनीतिक परिदृष्यलाई विश्लेषण गर्दा ३ वटा ठूला दल नेपाली कांग्रेस, नेकपा ( एमाले) र नेकपा ( माओवादी केन्द्र) थ्रेसहोल्ड काट्ने निश्चितजस्तै छ। यी दलले समेत थ्रेसहोल्ड काट्ने कुरामा शंका गर्नु पर्ने गरी कुनै नयाँ राजनीतिक प्रवृति विकास भएको देखिन्न ।

गत स्थानीय निर्वाचनमा यी दलले क्रमशः २६६८, २१३७ र १०५३ वडा जीतेका थिए। वडाअध्यक्षहरु पाएको मतलाई आधार मानेर हेर्दा एमाले करिब ३४ प्रतिशत, कांग्रेसले करिब ३३ प्रतिशत र माओवादीले करिब १३ प्रतिशत मत पाएका थिए । यी दलले संघीय थ्रेसहोल्ड काट्ने कुरामा कुनै शंका छैन।

प्रत्यक्षमा जित्ने र थेस्रहोल्ड नकाट्ने दुई दल

प्रत्यक्ष तर्फ जीत्ने तर ३% थ्रेसहोल्ड काट्न नसक्ने संभावना भएका दुई वटा दल देखिन्छन्। नेमकिपा र राष्ट्रिय जनमोर्चा। परम्परागत बर्चश्व र गत स्थानीय निर्वाचनको नतिजालाई हेर्दा नेपाल मजदुर किसान पार्टीले भक्तपुर-१ फेरि जित्ने छ। भक्तपुर १ मा २०४८ साल यताका सबै निर्वाचन नेमकिपाले जित्दै आएको छ। तर यस दलले संघीय थ्रेसहोल्ड काट्ने संभावना भने कम छ । २०७४ को आम निर्वाचनमा यसले ०.५९ प्रतिशत मात्रै मत पाएको थियो।

ठीक त्यसै गरी राष्ट्रिय जनमोर्चाले ५ दलीय गठबन्धनमा प्रत्यक्ष तर्फ २ सीट पाउँने संभावना छ । यी सीट जित्ने संभावना हुनेछ तर, समानुपतिक तर्फको थ्रेसहोल्ड काट्न राष्ट्रिय जनमोर्चालाई सहज छैन । यस दलको जनमत प्युठान,बाग्लुङ र अर्घाखाँचीजस्ता केही जिल्लामा सीमित देखिन्छ । २०७४ को चुनावमा यसले ०.६५ प्रतिशत मात्रै मत ल्याएको थियो ।

थ्रेसहोल्ड काट्न सक्ने संभाव्य ६ दल

स्थानीय निर्वाचनको परिणाम र त्यस यताको राजनीतिक परिदृष्यलाई हेर्दा यसपटक ६ वटा दल थ्रेसहोल्ड काट्न सक्ने संभावनाभित्र छन । ती हुन– जसपा, नेकपा (एस), लोसपा, राप्रपा, नागरिक उन्मुुक्ति पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टी।

तथ्यांक सहज नभए पनि गत स्थानीय निर्वाचनमा यी मध्ये ४ दल एस, जसपा, लोसपा र राप्रपाले ३ प्रतिशतभन्दा बढी मत ल्याएको अनुमान गर्न सकिन्छ । जसपाले २९५, एसले १९०, लोसपाले १०३ र राप्रपाले ६२ वटा वडाध्यक्ष जितेका छन्।

तर यी दलहरुको स्थिति स्थानीय निर्वाचनपछि उस्तै छैन। जसपाबाट डा. बाबुराम भट्टराई र महेन्द्र राय यादव समूह निस्किएर भिन्नै नेपाल समाजवादी पार्टी बनाएको छ। पार्टी उपाध्यक्ष युवराज कार्कीले पार्टी परित्याग गर्दै ‘खस–समावेशी पार्टी’ बाट एकतामा आएकाहरुलाई जसपा परित्याग गर्न सार्वजनिक अपिल गरेका छन्।

अर्कोतिर जसपा र लोसपा– दुुबै पार्टीबाट मधेशी मूलकै नेता कार्यकर्ताहरु अन्य पार्टी प्रवेश गर्दैछन । मधेश केन्द्रित दलमा संघीय र प्रादेशिक गरी करिब १ दर्जन निवर्तमान संसादहरु एमाले प्रवेश गरेका छन्।

त्यसै गरी, नेकपा (एकिकृत समाजवादी) का नेता कार्यकर्तामा आफ्नो मूल पार्टी एमाले फर्किने क्रम बढ्दो देखिन्छ। गत बैशाख ३० बाट मंसिर ४ सम्म पुग्दा यी दलहरुको जनमत कायमै रहन्छ कि खस्किन्छ ? यसै भन्न सकिन्न । तर, बढ्ने आधारहरु भने कमजोर देखिन्छन्।

राप्रपाले भने यसपटक थ्रेसहोल्ड छुन सक्छ। २०७४ को चुनावमा राप्रपा समानुपातिक मतमा विवेकशील साझापछि छैठौं पार्टी थियो। त्यतिखेर राप्रपाका ३ समूह भिन्नाभिन्नै चुनाव लडेका थिए। यसपटक भने यो पार्टी नयाँ नेतृत्वको वरिपरि संगठित जस्तो देखिएको छ। कमल थापाको बहिर्गमनले पार्टीलाई खासै असर गरेको पाइन्न।

नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टी भने थ्रेसहोल्ड काट्न सक्ने नयाँ संभावना हुन्। टीकापुर जनविद्रोहको आरोपमा जेलमा रहेका माननीय रेशम चौधरीको पार्टी थारु समुदाय बहुल पश्चिम तराईका जिल्लामा तीव्र गतिले फैलिदै गरेको समाचार छ।

राष्ट्रिय स्वतन्त्र पार्टीको त्यस्तो कुनै बलियो राजनीतिक आधार छैन । तर, गत स्थानीय चुनावमा स्वतन्त्र उम्मेद्वार प्राप्त गरेको मत यसपटक यस पार्टीप्रति आकर्षित हुन सक्ने संभावना औल्याइदैछ । यी ६ दल मध्ये जुनकुनैले थ्रेसहोल्ड काटे वा नकाटे आश्चर्य मान्नु पर्ने हुँदैन।

प्रादेशिक थ्रेसहोल्डः कुन प्रदेशमा कुनकुन दलको स्थिति के छ ?

प्रदेशसभाहरुमा थ्रेसहोल्ड काट्न भने संघीय थ्रेसहोल्डको आधा, १.५ प्रतिशत समानुपातिक मत प्राप्त गरे पुग्छ । तसर्थ, संघीय थ्रेसहोल्डको तुलनामा धेरै दलले प्रादेशिक थ्रेसहोल्ड भेट्न सक्दछन।

प्रदेश–१ मा ४ वटा दल प्रादेशिक थ्रेसहोल्डको सीमाभित्र पर्न सकिने देखिन्छ । नेपाली कांग्रेस, नेकपा (एमाले ), नेकपा (माओवादी केन्द्र) र जसपा। २०७४ निर्वाचनमा यी ४ दलका अतिरिक्त संघीय-लोकतान्त्रिक मञ्च र राप्रपाले समेत प्रादेशिक थ्रेसहोल्ड काटेका थिए। यसपटकका लागि नेकपा (एस) प्रदेशको थप संभाव्य दल हो।

मधेश प्रदेशमा भने ८ वटा दलले प्रादेशिक थ्रेसहोल्ड काट्न सक्ने संभावना छ । ती मध्ये– ५ दलको निश्चित जस्तै छ । नेपाली कांग्रेस, नेकपा (एमाले ), नेकपा (माओवादी केन्द्र,) जसपा र लोसपा। संभाव्य थप ३ दलमा नेकपा (एकिकृत समाजवादी), जनमत पार्टी र राप्रपा हुन सक्दछन। २०७४ को निर्वाचनमा भने यस प्रदेशमा नेपाल संघीय समाजवादी पार्टीले समेत थ्रेसहोल्ड काटेको थियो।

बागमती प्रदेशमा भने ३ ठूला दल बाहेकको स्थिति अनुमान गर्न गाह्रो छ। २०७४ को चुनावमा थप २ दल विवेकशील साझा र राप्रपाले थ्रेसहोल्ड काटेका थिए। यसपटक विवेकशील साझाको संभावना कमजोर छ भने राष्ट्रिय स्वतन्त्र पार्टीले प्रादेशिक सूची नै बुझाएको छैन। बागमतीमा जसपा र लोसपाले थ्रेसहोल्ड काट्ने आधार देखिएका छैनन्। तसर्थ ३ ठूला दलका अतिरिक्त बाग्मतिमा थ्रेसहोल्ड काट्न सक्ने संभाव्य दल नेकपा (एकीकृत समाजवादी) र राप्रपा हुन्।

गण्डकी प्रदेशमा भने सायद ३ ठूला राष्ट्रिय दल नै प्रादेशिक दल बन्ने देखिन्छ। २०७४ को चुनावमा ३ दलका अतिरिक्त प्रादेशिक थ्रेसहोल्ड काट्ने दल नयाँ शक्ति पार्टी, राष्ट्रिय जनमोर्चा थिए। यसपटक नेसपाको भिन्नै सुची बुझाएको छैन। थ्रेसहोल्ड काट्न सक्ने थप संभाव्य दल राष्ट्रिय जनमोर्चा देखिन्छ। बाग्लुङ जिल्लामा यो दलको धेरथोर जनाधार छ।

गण्डकीमा नेकपा ( एकिकृत समाजवादी) र जसपालाई समेत प्रादेशिक थ्रेसहोल्ड भेट्न निक्कै गाह्रो छ।  लुम्बिनी प्रदेशमा भने तीन ठूला दलका अतिरिक्त जसपाले थ्रेसहोल्ड कट्ने निश्चित जस्तो देखिन्छ। यस प्रदेशका संभाव्य दलमा भने राष्ट्रिय जनमोर्चा, एकिकृत समाजवादी, राप्रपा, लोसपा र नागरिक उन्मुक्ति पार्टीलाई मान्न सकिन्छ।

कर्णाली प्रदेशमा भने क्रियाशील र प्रभावशाली दलहरुको संख्या तुलनात्मक रुपमा निक्कै कम छ। ३ ठूला राष्ट्रिय दलहरु नै कर्णाली प्रदेशका पनि मुख्य दल हुन्। २०७४ को चुनावमा थप एक मात्र दल राप्रपाले प्रादेशिक थ्रेसहोल्ड काटेको थियो। यसपटक पनि यिनै ४ दल दोहोरिन सक्दछन। अन्य दलहरुको प्रभाव नगन्य छ । संभाव्य दलका रुपमा एकिकृत समाजवादीलाई लिन सकिन्छ।

सुदूरपश्चिमको प्रदेशसभामा भने ४ दलले प्रादेशिक थ्रेसहोल्ड काट्ने छन्। नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र नागरिक उन्मुक्ति पार्टी। २०७४ को चुनावमा यहाँ राष्ट्रिय जनता पार्टी (राजपा) ले प्रादेशिक थ्रेसहोल्ड काटेको थियो। तर, नागरिक उन्मुक्तिको गठनपछि जसपा र लोसपा दुबै दललाई प्रादेशिक थ्रेसहोल्ड काट्न गाह्रो पर्ने छ। सुदूरपश्चिमा प्रादेशिक दल बन्न सक्ने संभाव्य दुई दल भने नेकपा (एकीकृत समाजवादी ) र राप्रपा हुन्। पार्टी गठन हुँदा एकीकृत समाजवादीको यो प्रदेशमा राम्रै अवस्था थियो। तर, पछिल्लो चरणमा यस पार्टीका थुप्रै नेता कार्यकर्ता एमाले मै फर्किएका छन्।

समग्रमा भन्दा ३ ठूला दलको ७ वटै प्रदेशमा थ्रेसहोल्ड कट्ने देखिन्छ छ भने जसपाले ३ वटा प्रदेश प्रदेश-१, मधेश र लुम्बिनीमा थ्रेसहोल्ड कट्ने छ। नेकपा (एकीकृत ) को बारेमा कुनै पनि प्रदेशमा यसै भन्न सकिँदैन। ठीक यस्तै अवस्था राप्रपाको पनि देखिन्छ। राप्रपाले कुनकुन प्रदेशमा प्रादेशिक थ्रेसहोल्ट काट्छ यसै भन्न सकिने अवस्था छैन। यी दुबै दलका संभाव्य प्रदेश भने धेरै छन्।

नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम प्रदेशको प्रादेशिक दल हुने निश्चित छ भने लोसपा मधेश प्रदेशमा मात्रै सीमित हुन सक्दछ। जनमत पार्टी मधेश र लुम्बिनीमा प्रादेशिक थ्रेसहोल्डभित्र परे आश्चर्य हुने छैन। राष्ट्रिय जनमोर्चा प्रादेशिक दल हुन सक्ने संभाव्य प्रदेश गण्डकी र लुम्बिनी मात्र हुन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved