बेल्जियममा मन्त्रीलाई अपहरणको प्रयास, नेदरल्याण्डबाट चार जना पक्राउ

न्याय मन्त्री भिन्सेन्ट भान क्विकनबोर्नको घर बाहिर बन्दुक भएको कार र बोत्तलमा पेट्रोल फेला परेपछि उनिमाथि आक्रमण वा अपहरण हुन लागेको शंका गरिएको थियो । मन्त्रीलाई गम्भीर खतरापछि पुलिसको कडा निगरानीमा राखिएको छ ।

नेपालभ्युज

बेल्जियममा मन्त्रीलाई अपहरणको प्रयास, नेदरल्याण्डबाट चार जना पक्राउ
तश्वीर :रोयटर्स

ब्रसेल्स। बेल्जियमका न्यायमन्त्रीलाई अपहरण गर्ने षड्यन्त्र गरेको आरोपमा चार जना व्यक्ति पक्राउ परेका छन् । तीन जना व्यक्ति यसअघि नै नेदरल्याण्डमा पक्राउ परेकोमा चौथो व्यक्तिलाई पनि प्रहरीले नेदरल्यान्ड्समै हिरासतमा लिएको राष्ट्रिय सार्वजनिक अभियोजकको कार्यालयले जनाएको छ।

प्रहरीले अहिले नेदरल्याण्ड्सका चार संदिग्धलाई सुपुर्दगी गर्ने प्रयास गरिरहेको छ । यो हप्ताको सुरुमा न्याय मन्त्री भिन्सेन्ट भान क्विकनबोर्नको घर बाहिर बन्दुक भएको कार र बोत्तलमा पेट्रोल फेला परेपछि उनिमाथि आक्रमण वा अपहरण हुन लागेको शंका गरिएको थियो । मन्त्रीलाई गम्भीर खतरापछि पुलिसको कडा निगरानीमा राखिएको छ ।

घटनालाई निकै गम्भीरताका साथ लिएर अनुसन्धान थालिएको बेल्जियमको प्रहरीले जनाएको छ । चार जना संदिग्धलाई पक्राउ गरेपछि मन्त्री भान क्विकनबोर्नले आफूलाई कडा सुरक्षा अन्तर्गत राखिएको र आगामी दिनहरूमा पूर्व निर्धारित कार्यक्रमहरूमा भाग नलिने फेसबुक पोस्टमार्फत जानकारी दिएका छन् । यस्तै, बेल्जियमका प्रधानमन्त्री अलेक्ज्याण्डर डे क्रोले धम्की पूर्ण रूपमा अस्वीकार्य भएको बताउँदै कसैबाट नडराउने र देशमा शान्ति सुरक्षा कायम राखेरै छाड्ने बताएका छन् ।

केही बेल्जियम मिडियाले यो षड्यन्त्रलाई लागूऔषध अपराधीहरूसँग जोडेका छन् ।    बेल्जियमले हालैका हप्ताहरूमा संगठित अपराध विरुद्ध लड्न ठूलो कदम चालेको छ । सन् २०२१ मा एन्टवर्पको बन्दरगाहमा ८९ टन ​​भन्दा बढी लागुऔषध बरामद भएको थियो । त्यसपछि बेल्जियमले लागूऔषधविरुद्ध कडा नीति लिएको छ ।

युरोपेली संघको पुलिस एजेन्सीले एक रिपोर्ट जारी गर्दै बेल्जियम र नेदरल्याण्डलाई युरोपमा कोकिन बजारको केन्द्रबिन्दु बन्न सक्ने चेतावनी दिएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved