राष्ट्रपतिले संविधानको उल्लंघन गर्नुभयो ∶ उपेन्द्र यादव

राष्ट्रपतिले संविधानको उल्लंघन गर्नुभयो ∶ उपेन्द्र यादव

हेटौंडा । जनता समाजवादी पार्टी (जसपा)का केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले नागरिकता विधेयकलाई  प्रमाणिकरण नगरेर राष्ट्रपति विद्यादेवी भण्डारीले असंवैधानिक काम गरेको आरोप लगाएका छन् । हेटौंडामा बुधबार पत्रकारसँगको साक्षत्कारमा यादवले राष्ट्रपतिको यस्तो  कदमले भविष्यमा ठुलो समस्या आइपर्नसक्ने बताएका हुन्  ।

केपी ओलीको सरकारको पालामा हुबहु पारित भएको विधेयकलाई अहिले आएर रोक्नु असंवैधानिक काम भएको भन्दै उनले राष्ट्रपतिले लोकतान्त्रिक व्यवस्थाको अवहेलना गरेको बताए । उनले भने ‘विधेयकमा यो भएन, त्यो भएन भन्ने अधिकार राष्ट्रपतिको हैन, राष्ट्रपतिकोमा कुनै अप्सन छैन, राष्ट्रपतिले त सांसदले पारित गरेको कुरा प्रमाणित गर्नुपर्ने थियो, अझ गजबको के छ भने त्यही कुरा अघिल्लो केपी ओली नेतृत्वको सरकारले गर्दा प्रमाणिकरण भयो, अहिले भएन, यो गलत हो ।’

‘कार्यपालिकाले हस्तक्षेप गर्‍यो भने अन्तर्राष्ट्रिय जगतमा पनि लोकतन्त्रका लागि राम्रो मानिँदैन’, उनले भने, ‘कार्यपालिकाले न्यायपालिकामा हस्तक्षेप गर्दै, सुझाव सल्लाह दिएर यो समस्या हल होस् भन्ने कुरा अलग विषय हुन् ।’ संसदले दुई पटक पारित गरेको विधेयक प्रमाणित गर्ने काम राष्ट्रपतिको हो। तर,प्रमाणिकरण नगर्दा भविष्यमा ठुलो संकट आउनसक्ने उनले शंका व्यक्त गरे । ‘अव चुनाव पछि आउने प्रधानमन्त्रीलाई राष्ट्रपतिले सपथ खुवाउदिन भन्नुभयो भने के हुन्छ ?’, उनले प्रश्न गरे ।

राष्ट्रपति भण्डारीले संविधानलाई नै धरापमा पार्ने खेल खेलेको भन्दै उनले आफ्नै देशका नागरिकको सन्तानलाई कहिलेसम्म अनागरिक बनाएउने, यो उनिहरुको अधिकारको बर्खिलाफ भएको बताए । उनले भने ‘नागरिकता नदिनु भनेको त अन्तराष्ट्रिय कानुनकै ब्याख्या गर्ने हो भने पनि मानवतावादी कानुनको उलंघन पनि हो, कसैलाई नागरिकता र राष्ट्रियताविहिन बनाईराख्ने जुन कार्य हो त्यो अपराध पनि हो ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved