संसद् पूरा कार्यकालसम्म जोगाउन सफल भयौँ : प्रचण्ड

संसद् पूरा कार्यकालसम्म जोगाउन सफल भयौँ : प्रचण्ड
फाइल तस्वीर

काठमाडौं ।  नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद्को कार्यकाल पूरा अवधिसम्म जोगाउन सफल भएको बताएका छन् ।

प्रतिनिधिसभाको शनिबारको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले अघिल्लो सरकारका असंवैधानिक कार्यबाट संविधान र लोकतन्त्रको रक्षा गर्न संसद् सफल भएको उल्लेख गरे । उनले भने, “प्रतिनिधिसभाको कार्यकाल पाँच वर्ष भए पनि अकाल मृत्यु भोग्नुपर्ने अवस्थाबाट जोगाएका छौँ । अकाल मृत्यु भोग्नुपर्ने अवस्थामा सदन पुगेको थियो । त्यो अवस्थाबाट सदन बचेको छ । जनता, नागरिक समाजले सडक आन्दोलन गरेर र अदालतले संसद् जिवित गरायो ।’

माओवादी केन्द्रका संसदीय दलका नेतासमेत रहेका अध्यक्ष दाहालले पाँच वर्ष प्रतिनिधिसभा जसरी चल्नुपर्ने थियो त्यसरी चल्न नसकेको बताए । ‘यो पाँच वर्ष जसरी व्यतित हुनुपर्दथ्यो । त्यो हुन सकेन । दुईपटक संविधान विघटन भयो । सात महिना चलेन’, उनले भने, ‘संविधानअनुसार स्थायी र समृद्धिको यात्रा अगाडि बढ्ने अपेक्षा गरिएको थियो । तर दुर्भाग्य त्यस्तो भएन । तीन वर्ष नपुग्दै तत्कालीन सरकार अगाडि जान सकेन ।’

अध्यक्ष दाहालले अब भविष्यमा लोकतन्त्रको मान्यताअनुसार संसद् सञ्चालन हुनुपर्ने धारणा राखे। आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा स्वच्छ, निष्पक्ष र धाँधलीरहित बनाउने सबै राजनीतिक दलले लाग्नुपर्ने भन्दै जनताको फैसला सबैले स्वीकार गर्ने उनले बताए ।

अध्यक्ष दाहालले आउने दिनमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र र समृद्धिका मुद्दामा राष्ट्रिय सहमति आवश्यक रहेको बताए। उनले संविधानअनुसार अर्को सरकार बन्ने सम्भावना भए पनि संविधानको भावना, लोकतन्त्रको मान्यताविपरीत तत्कालीन सरकारले प्रतिनिधिसभा विघटन गरेको स्मरण गरे । उनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्रको अन्तर विरोधलाई समाधान गर्न नसकेर प्रतिनिधिसभा विघटन गरेको आरोप लगाए ।

‘हामीसँग बहुमत थियो । पार्टीभित्र छलफल चलिरहेको थियो । तर केले उत्प्रेरित गर्‍यो उहाँलाई त्यतिबेलाको संसद् विघटन गर्नका लागि ?’, अध्यक्ष दाहालले भने, ‘तर उहाँले पार्टीभित्र मतभेद, अन्तरविरोध हुन्छन । ती समाधान हल गर्ने आफ्नै मान्यता हुन्छ । त्यहाँको विरोधलाई सार्वभौम थलो प्रतिनिधिसभालाई प्रहार गर्ने अधिकार ओलीलाई कसले दियो ?’

देशलाई ठूलो संवैधानिक सङ्कटबाट बचाउन, लोकतन्त्रको रक्षा गर्न र अघिल्लो सरकारले असंवैधानिकरुपमा चालेका कदमलाई सच्याउन अहिलेको गठबन्धन सरकार बनेको अध्यक्ष दाहालको भनाइ थियो । गठबन्धन सरकारले जनताको भावनाअनुसार स्थानीय तहको निर्वाचन गरेको उल्लेख गर्दै अब संविधानअनुसार प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन गर्न वर्तमान सरकार लागिपरेको बताए ।

अध्यक्ष दाहालले अछामलगायत देशभर बाढीपहिरोले क्षति भएकाप्रति दुःख व्यक्त गर्दै सरकारलाई तीव्र गतिमा राहत, पुनःस्थापना र उद्धारका काममा लाग्न ध्यानाकर्षण गराए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved