ट्रेड युनियनहरूको हस्तक्षेपकारी भूमिकाले उद्योग व्यवसाय फस्टाउन सकेन : मुख्यमन्त्री राउत

ट्रेड युनियनहरूको हस्तक्षेपकारी भूमिकाले उद्योग व्यवसाय फस्टाउन सकेन : मुख्यमन्त्री राउत

महेन्द्रनगर ।  मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले राजनीतिक दल र गलत राजनीतिका कारण नेपालमा उद्योग व्यवसाय फस्टाउन नसकेको बताएका छन् । बुधबार जनकपुरधाममा ईएलएमएसले आयोजना गरेको श्रम बजार सूचना कार्यशाला गोष्ठीमा उनले नेपालमा उद्योगधन्दा फस्टाउन नसक्नुमा राजनीतिक दल र तिनका मजदुर तथा ट्रेड युनियनहरूको हस्तक्षेपकारी भूमिका पनि मुख्य कारण रहेको बताए ।

मुख्यमन्त्री राउतले नेपाल सरकारको अस्पष्ट र झन्झटिलो नीतिका कारण उद्योगी व्यवसायीहरु लगानी गर्न हिचकिचाइरहेको समेत बताए । उद्योग स्थापना र दर्ता प्रक्रियासमेत असहज हुनु र कामअनुसारको योग्य जनशक्तिको अभाव हुनु नेपाली उद्योग क्षेत्रका लागि मुख्य चुनौती रहेको उनको भनाइ थियो ।

कार्यक्रममा मधेश सरकारका उद्योगमन्त्री सत्रुधन महतोले मधेशको विकासका लागि निर्माण, कृषि, पर्यटन, उद्योगसहितका क्षेत्रका लागि चाहिने दक्षजनशक्ति आपूर्तिका लागि विभिन्न निकाय मिलेर एउटा बजार केन्द्र खोल्नुपर्ने बताए ।

जनकपुरधाम उमहानगरपालिकाका प्रमुख मनोजकुमार साह तथा घरेलु तथा साना उद्योग महासङ्घका अध्यक्ष उमेश सिंहले जनशक्तिको अभावमा रोजगारको आधार तयार नहुने बताउँदै दक्ष जनशक्तिका लागि पाठ्यक्रम र उचित तालिमहरुमा जोड दिनुपर्ने धारणा राखे ।

कार्यक्रममा जनकपुरधामका पूर्वनगरप्रमुख बजरङ्गप्रसाद साहले कृषि, पर्यटन, उत्पादन र श्रमका लागि जनशक्तिसहितको स्रोतहरु सदुपयोग गर्न सकिए देशको विकास र समृद्धि सहज हुने धारणा राखे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved