मकवानपुर क्षेत्र नम्बर २ : गठबन्धनबाटै विरोध खतिवडालाई बिडारीको चुनौती

एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य तथा पूर्व स्वास्थ्यमन्त्री खतिवडाको हालकै क्षेत्रमा दाबी रहेको छ । तर राष्ट्रियसभाका पूर्व सदस्य एवम नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य रामनारायण बिडारीले उक्त क्षेत्रमा दाबी नछाड्ने बताइरहेका छन् ।

नेपालभ्युज

मकवानपुर क्षेत्र नम्बर २ : गठबन्धनबाटै विरोध खतिवडालाई बिडारीको चुनौती

हेटौंडा। आउँदो मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा पाँच दलीय गठबन्धन चुनावमा होमिँदैछ। २०७९ सालको स्थानीय निर्वाचनदेखि गठबन्धन गरेर चुनावी अभियानमा होमिएको पाँच दलबीच गठबन्धन प्रतिनिधिसभा र प्रदेशसभाचुनावमा समेत सँगै मैदानमा उत्रने भएको छ ।

तर मकवानपुरमा पाँच दलीय गठबन्धनलाई चित्त बुझाउने गरी सिट बाँडफाँट मिलाउन सकस हुने देखिएको छ। प्रतिनिधिसभामा दुई वटा क्षेत्र रहेको मकवानपुरको क्षेत्र नम्बर २ मा सिट बाँडफाँडमा दलहरुबीच तनाव बढ्दै गएको छ।

दुई वटा निर्वाचन क्षेत्र रहेको मकवानपुरमा हाल क्षेत्र नम्बर १ मा नेकपा एमालेका कृष्णप्रसाद दाहाल र २ मा नेकपा एसका विरोध खतिवडा सांसद छन् । एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य तथा पूर्व स्वास्थ्यमन्त्री खतिवडाको हालकै क्षेत्रमा दाबी रहेको छ । तर राष्ट्रियसभाका पूर्व सदस्य एवम नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य रामनारायण बिडारीले उक्त क्षेत्रमा दाबी नछाड्ने बताइरहेका छन् ।

२ वटा क्षेत्र मध्य माओवादीको बढि भोट र शक्तीशाली रहेको क्षेत्र नम्बर २ मा बिडारीले दाबी गरेका हुन्। गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनको चुनावी मत परिणामलाई हेर्ने हो भने क्षेत्र नम्बर २ मा नेकपा एमाले अग्रस्थानमा रहेको छ। एमालेले ३६ हजार ८६६ मत ल्याउँदा क्रमशः नेपाली कांग्रेसले ३४ हजार २४०, माओवादी केन्द्र २२ हजार ६०७, नेकपा एसले २ हजार ७१९ र राप्रपाले १ हजार ५३६ मत पाएका छन्। क्षेत्र नम्बर २ मा एमाले र राप्रपाको मत ३८ हजार ४०२ रहेको छ। गठबन्धनले ५९ हजार ५६६ मत पाएका छन् ।

त्यस्तै क्षेत्र नम्बर १ मा पनि  नेकपा  एमाले अगाडि देखिएको छ । दोस्रो स्थानमा कांग्रेस, तेस्रोमा माओवादी र चौथो नम्बरमा राप्रपा देखिएको छ। एमालेले ३८ हजार ५६, नेपाली कांग्रेस ३७ हजार ७२, नेकपा माओवादी केन्द्र १६ हजार ५४२, राप्रपा ४ हजार ७०, नेकपा एस ३ हजार २८३ मत पाएका छन्। एमाले र राप्रपाको मत ४२ हजार१२६  रहेको छ भने गठबन्धनको ५६ हजार ८९७ मत रहेको छ ।

बिडारीले मकवानपुरको दुईवटा संघिय क्षेत्रमध्य एक क्षेत्र नेकपा माओवादी केन्द्रले पाउनुपर्ने दाबी गरेका छन् । नेपाल भ्युजसँग कुरा गर्दै नेता बिडारीले मकवानपुरमा अघिल्लो पटक पनि एमाले र माओवादीको गठवन्धनमा दुबै क्षेत्र छोडेको कारण पनि यो पटक गठवन्धन फरक भएपनि आफुहरुले एउटा संघीय क्षेत्र पाउनुपर्ने बताए। मकवानपुरको क्षेत्र नंबर २ मा  आफ्नो पनि दाबी भएको भन्दै उनले नेकपा माओवादी केन्द्रले यसबारे पहल गर्ने बताए । २०४८ सालमा बाहेक आफु हालसम्म प्रत्यक्षतर्फ निर्वाचन नउठेको भन्दै बिडारीले यो पटक क्षेत्र नंबर २ मा  आफु प्रत्यक्षमा निर्वाचन लड्ने विषयमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई समेत जानकारी दिएको र उहाँबाट सकारात्मक प्रतिक्रिया आएको बताए ।

बिडारीले यो पटक माओवादीले दाबी नछाड्ने स्पष्ट पारे । गठबन्धनबाट खतिवडाले चुनावी तयारी थालिसकेको विषयमा बोल्दै उनले भने, “हैन उहाँ बिरोध खतिवडालाई कति पटक सांसद पद चाहिने रैछ जतिपटक हुँदा पनि किन नपुगेको होला । फेरि अहिले मानिसहरुले पटक–पटक सांसद भएकाहरुलाई पुनःमतदान गर्ने मानसिकता बनाएका छैनन् भन्ने कुरा उहाँले बुझ्न पर्ने हो नि ।”

बिरोध खतिवडाले अब दोश्रो पुस्ताको नेतालाई स्थापित गर्न लाग्नुपर्ने सुझाव दिए । उनले भने, “अब त खतिवडाजी ले आफ्नो पार्टीको नयाँ पुस्तालाई स्थापित गर्न लाग्नुपर्ने हो नि । किन सधै आफु मात्र सांसद बन्ने सोच राख्नु भएको होला।”

क्षेत्र नंबर २ को सबालमा माओवादी केन्द्रको शक्ति कांग्रेस–एमाले भन्दा कम नरहेको भन्दै बिडारीले यो पटक कुनै पनि हालतमा मकवानपुरको दुई मध्य एक संघीय  क्षेत्रमा माओवादी केन्द्रको उम्मेद्वार हुनुपर्ने र आफ्नो दावेदारी रहेको स्पष्ट पारे ।

यसरी बिडारीको दाबीले पाँच दलबीच गठबन्धनमा खटपटसमेत देखिने निश्चित । बिडारीले उक्त क्षेत्रमा दावी नछाड्ने बताइरहँदा दल परिवर्तनले कमजोर बनेका खतिवडालाई चुनौती थपिने पक्का छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved