चीनमा ‘सी’को नेतृत्व : ‘धनी बन्ने’ युगबाट ‘शक्तिशाली बन्ने’ यात्रा

ऐतिहासिक तेस्रो कार्यकालको तर्खरमा राष्ट्रपति 'सी'

सी तेस्रो कार्यकाल सुरु गर्ने तर्खरमा रहेका बेला चीनको भविष्यलाई लिएर केही महत्वपूर्ण प्रश्नहरु सोध्नुपर्ने अवस्था छ । जस्तो, विकासमा सिद्धान्तको महत्व कति हुन्छ ? देङको सुधार र खुला बजारको मन्त्र के हुन्छ ? र, आगामी वर्षमा चिनियाँ उद्यमी र विदेशी लगानीकर्ताको लगानी के हुन्छ ?

चीनमा ‘सी’को नेतृत्व : ‘धनी बन्ने’ युगबाट ‘शक्तिशाली बन्ने’ यात्रा
फाइल तश्वीर

मध्य जनवरीको एक बिहान, जाडो छल्न कालो कोट लगाएका चिनियाँ कम्युनिस्ट पार्टीका दुई दर्जन नेता गुओहुङ म्यान्सिअनस्थित चीनको शीर्ष आर्थिक योजना एजेन्सीको कार्यालयमा भेला भएका थिए । सी चिनफिङ इकोनोमिक थट रिसर्च सेन्टरको शुभारम्भ कार्यक्रममा यो समूह भेला भएको थियो, सन् २०१८ मा चिनियाँ राष्ट्रपतिको सिद्धान्तलाई संविधानले अंगिकार गरेयता गठन भएका संस्थानमध्ये यो १८औं हो ।

एक दिनअघि मात्रै, आफ्नो कुल ग्रार्हस्थ उत्पादन (जीडीपी) सन् २०२१ मा ८ दशमलव १ प्रतिशतले बढेर १ सय १४ ट्रिलियन युआन (१६ दशमलव ८ ट्रिलियन अमेरिकी डलर) पुगेको घोषणा चीनले गरेको थियो । यो अपेक्षाकृतभन्दा बढी थियो, अमेरिकालाई उछिन्दै विश्वको नम्बर एक अर्थतन्त्र बन्ने बाटोमा चीनलाई यसले एक कदम अघि बढाएको थियो ।

यो शुभारम्भ कार्यक्रमले शक्तिमा सीको गतिलो पकडलाई मात्रै झल्काएको थिएन । बरु, ‘सिनोमिक्स’ नाम दिइएको उनको केन्द्रीकृत आर्थिक सोच अब चिनियाँ मामिला बनिसक्योे भन्ने पनि देखाएको थियो । २०१३ मा राष्ट्रपति बनेयता सीले बेल्ट एन्ड रोड इनिसियटिभमार्फत विदेशमा चीनको प्रभूत्व बिस्तार गरेका छन्, घरभित्र उनले निकै साँघुरो आर्थिक रणनीति अघि सारेका छन् । उनले प्रमुख उद्योगलाई हल्लाइरहेका छन् र अमेरिकाले दिएको सम्बन्ध तोड्ने धम्कीलाई नियालिरहेका छन् । राष्ट्रपतिका रूपमा अर्थतन्त्रमा उनकोजस्तो दबदबा यसअघि थोरैको मात्र थियो ।

‘सीले चीनलाई नयाँ युग र नयाँ दिशामा यात्रा गराउनेबारे सोचेका छन्, उनी आफ्नो सोचका आधारमा चीनलाई अघि बढाउन चाहन्छन्, देङ सियोओपिङको नीतिका आधारमा होइन,’ लन्डनस्थित एसओएएस चाइना इन्स्टिच्युटका निर्देशक स्टिभ साङले भने, ‘उनी सफल हुन्छन् कि हुन्नन् भन्ने विषय अलग हो ।’

नजिकिदोँ चिनियाँ कम्युनिष्ट पार्टीको २०औं कंग्रेसमा सीको आर्थिक सिद्धान्त छाउनेछ, यही सम्मेलनबाट उनले तेस्रो कार्यकालको शपथ लिने अपेक्षा गरिएको छ । इतिहास नियाल्दा यस्तो सम्मेलनमा चिनियाँ नेताले पहिलेका नीतिबारे समिक्षा गर्ने र नयाँ विकासका लागि दिशा तय गर्ने गरेको देखिन्छ, कम्युनिष्ट पार्टीको सम्मेलनलाई हरेक पाँच वर्षमा नयाँ नेतृत्व चयन गर्ने अवसरका रूपमा लिइए पनि सत्ता हाँक्ने वैधानिकता अर्थतन्त्रबाटै प्राप्त हुने भएकाले बहसभन्दा सम्मेलनमा आर्थिक पाटो नै माथि हुन्छ ।

नेता देङ सियाओ पिङको समयमा १९९२ मा कम्युनिष्ट पार्टीले ‘सोशलिस्ट मार्केट इकोनोमी’ बनाउने आफ्नो मिशनलाई फेरि सुरु गर्दैे खुलाबजार नीति अख्तियार गरेको थियो । १९९७ मा पहिलोपटक निजी व्यवसायलाई अर्थतन्त्रको महत्त्वपूर्ण हिस्साका रूपमा स्विकार गरियो र यसको ५ वर्षपछि उद्यमीलाई पार्टीमा आधिकारीक रूपमा आबद्ध हुने अनुमति दिइयो । अब अहिलेको कुरा गरौं, यस वर्ष जिडिपी दोब्बर बनाउने सीको लक्ष्यका लागि सम्मेलनले जग हाल्नेछ । ‘चिनियाँ राष्ट्रको महान् रूपान्तरणका आधार’मा २०३५ सम्म प्रतिव्यक्ती आम्दानी पनि दोब्बर पार्ने लक्ष्य सीको छ ।

कमजोरी सुधार्ने प्रयास

चीन गम्भीर विकासको चरणमा छ । पछिल्लो दशकमा अर्थतन्त्र निरन्तर बढ्दो छ र चाडैं यो देश उच्च आय हुने मुलुकको क्लबमा पुग्दैछ । अर्कोतर्फ उसले धेरै चुनौति भोग्नुपरेको छ : जनसांख्यिक संकट, सुस्त वृद्धि, ऋण, विश्वव्यापीकरणविहीन अवस्था, पश्चिमासँगको भूराजनीतिक तनाव र कोरोना महामारी । चीनले कसरी यी सबै चुनौती सामना गर्छ भन्ने विषय ‘सी’ मा भरपर्छ, उनले देशका मुख्य आर्थिक नीति–निर्माता संस्थानहरूलाई पुनर्संरचना गरेका छन् । विशेषगरी सेन्ट्रल इकोनोमिक एन्ड फाइनान्सियल एफियर्स कमिशनलाई ।

‘हामीले असन्तुलन र अपर्याप्त विकाससँग सरोकार राख्ने समस्यालाई पकड्दै कमजोर कडी सुधार्न ध्यान केन्द्रित गर्नुपर्छ, जगहरू बलियो बनाउनुपर्छ र आफ्नो लाभको पूर्ण प्रयोग गर्नुपर्छ,’ जुलाईको अन्त्यमा केन्द्रीय पार्टी स्कुलमा सीले वरिष्ठ क्याडरलाई भनेका थिए,‘यी कुरा समाधानका लागि नयाँ योजना र नियम आवश्यक छन् ।’

भाइस–प्रिमियर तथा प्रमुख आर्थिक सल्लाहकार लिऊ हीको सहयोगमा (२०१३ –१८ सम्म) आफ्नो पहिलो कार्यकालमा सी घरेलु मुद्दा समाधानमै प्रतिबद्ध भएर लागे । उच्च ऋण कटौती गर्ने, जनसाँख्यिक विभाजन घटाउने, उद्योगहरूको असमानता हटाउने र क्षमता उच्च बनाउने, संरचनात्मक सुधार, एजेन्डामा जोखिमरहित अभियानलगायत काम उनले गरे । अमेरिकासँगको व्यापार युद्ध र कोरोना भाइरस महामारीको व्यवस्थापन दोस्रो कार्यकालका मुख्य रहे । यस अवधिमा अमेरिकासँग चीनको सम्बन्ध चार दशकयताकै न्यून बिन्दुमा झर्‍यो ।

विदेशमा अनिश्चित परिस्थिति सामना गर्नु परेपछि सीले २०२० मा ‘ड्युल सर्कुलेशन’ रणनीतिमा जोड दिएका थिए । यस नीतिअन्तर्गत भविष्यको वृद्धिलाई बल पुग्नेगरी चीनको ठूलो घरेलु बजार तथा देशमै उत्पादित प्रविधिलाई प्राथमिकता दिइयो । दशकौंदेखि निर्यातमुखी चिनियाँ विकास मोडल र अमेरिकी नेतृत्वको अन्तर्राष्ट्रिय प्रणालीमा उसको सहभागितामा यो नीतिले फेरबदलको संकेत गरेको केही विश्लेषक बताउँछन् ।

सीले सरकारको ‘साझा समृद्धी’ नारामार्फत देशभित्र असमानता कम गर्ने र सरकारी स्वामित्वका उद्योग (एसओईहरू) लाई बृहत्तर, उत्कृष्ट र बलियो बनाउने वाचा समेत गरे । बजार केन्द्रीत सुधारको दीर्घकालिन मागभन्दा पर रहेर उनले सरकारी स्वामित्वका उद्योगप्रति समर्थन जताउँदा अर्थतन्त्रमा निजी उद्योगको हिस्साबारे चिन्ता उत्पन्न भएको छ । ठूला टेक कम्पनी र निजी शिक्षामाथि सरकारी नियामक संस्थाले गरेको कारबाहीले यस चिन्तालाई थप बढाएको छ ।

देशका ठूला टेक कम्पनीमाथि गरिएको दमन तथा हार्डलाईन जिरो कोभिड नीतिका कारण धेरै विदेशी लगानीकर्ताको विश्वास डग्मगाएको छ । ‘देशभर देखिएको पछिल्लो कोभिड १९ महामारी र त्यसपछि लागू गरिएको लकडाउनले एउटा स्थिर र पूर्वानुमान लगाउन सकिने वातावरण खोसिदिएको छ, व्यापार यी कुरामै सबैभन्दा धेरै निर्भर हुन्छ ।’ चीनस्थित ब्रिटिस चेम्बर अफ कमर्सको गत मेईमा सार्वजनिक गरिएको प्रतिवेदनमा भनिएको थियो ।

२१–२७ अप्रिल, जतिबेला कमर्शियल हब साङ्घाईमा दुई महिने लकडाउन थियो, यस समय ३ सय ७२ वटा युरोपेली कम्पनीले फ्ल्यास सर्भे पूरा गरेका थिए । जसअनुसार, २३ प्रतिशतले तत्काल वा भविष्यमा चीनबाट लगानी झिक्नेबारे सोचिरहेका थिए । सी तेस्रो कार्यकाल सुरु गर्ने तर्खरमा रहेका बेला चीनको भविष्यलाई लिएर केही महत्त्वपूर्ण प्रश्नहरू सोध्नुपर्ने अवस्था छ । जस्तो, विकासमा सिद्धान्तको महत्व कति हुन्छ ? देङको सुधार र खुला बजारको मन्त्र के हुन्छ ? र, आगामी वर्षमा चिनियाँ उद्यमी र विदेशी लगानीकर्ताको लगानी के हुन्छ ?

धनीबाट शक्तिशाली

टेलर लोयब रिसर्च कम्पनी त्रिभियुम चाइनाका विश्लेषक हुन् । उनका अनुसार देङ युगको ‘धनी हुने’ बाटोबाट अब सी युगको ‘शक्तिशाली’ बन्ने बाटोमा चीन हिँडिरहेको छ । र, सीको नजर सम्पत्ति पुनर्वितरण, आत्मनिर्भरता तथा सप्लाई चेनमा निर्भरता, डिकार्बोनाइजेसन, स्थिरता तथा संख्यात्मक नभएर गुणस्तरीय वृद्धिमा छ । ‘उल्लेखित सबै कुरा यथार्थमा बदल्न राज्यकै भूमिका मुख्य रहन्छ,’ टेलरले भने,‘चीनको आर्थिक नीति थप भित्रीजस्तो बन्नेछ ।’

सीको नेतृत्वमा चीनमा बजार सुधार सुरु भइसकेको छ । एशिया सोसाइटी इन्स्टीच्युट र बेइजिङको सुधारलाई नियाल्ने रोडियम ग्रूपको संयुक्त परियोजना चाइना ड्यासबोर्डका अनुसार सन् २०१३ मा तय गरिएका सुधारका १० योजनामध्ये अधिकांशमा या त शून्य प्रगति छ या नीति झनै खराब भएर गएको छ । यी योजनामा सरकारी कम्पनीको पुनर्संरचना, प्रतिस्पर्धात्मक नीति, भूमि तथा आर्थिक सुधार पर्छन् । एक दशकअघिको दाँजोमा सरकार नियन्त्रित उद्योगको सम्पत्ति २ दशमलव ६ गुणाले बढेर २ सय ५९ ट्रिलियन युआन (३८ दशमलव ३ ट्रिलियन अमेरिकी डलर) पुगेको छ ।

पिटरसन इन्स्टिच्युट फर इन्टरनेशनल इकोनोमिक्सका वरिष्ठ अनुसन्धानकर्ता निकोलास लार्डीका अनुसार ‘सिनोमिक्स’ मा धेरै औद्योगिक नीति र सरकारी कम्पनीप्रतिको बलियो समर्थन समावेश छ । जबकि, असमानता कम गर्ने विषयलाई केवल ओठे नारा बनाइएको छ । लार्डीका अनुसार त्यहाँ आर्थिक सुधारबारे कुनै गम्भीर बहस छैन । बरु, विगतमा लागु गरिएका निष्प्रभावी एसओई नीतिको निरन्तरता मात्रै छ । जसमा व्यापारीकरण, ऋण–तथा इक्विटी लेनदेन र मेगा मर्जरजस्ता विषय समावेश छन् । यसका बाबजुद निजी कम्पनीहरू सरकारी कम्पनीको दाँजोमा तिव्र रूपमा फस्टाएको लार्डीले औँल्याएका छन् ।

अमेरिकन इन्टरप्राइज इन्स्टिच्युटका सिनियर रिसर्च फेलो डेरेक सिजर्स पार्टीको सम्मेलनपछि पनि समग्र आर्थिक नीतिमा कुनै परिवर्तन आउने अपेक्षा नरहेको बताउँछन् । ‘सीको दृष्टिकोण अर्थतन्त्र राजनीतिप्रति बफादार रहनुपर्छ भन्ने हो । आर्थिक लाभले राजनीतिक जोखिम निम्त्याउने अवस्थामा त्यसलाई त्याग्नुपर्छ भन्ने उनको विचार हो,’ सिजर्सले भने ।

अपूरो सुधार

सीको कार्यकालमा सुधार सुस्त भएको हुनसक्छ, तर गहिरो रूपमा विद्यमान संरचनात्मक सवालसँग जुध्ने काम अहिलेसम्मकै उच्च रहेको अर्थशास्त्री बताउँछन् । देशको सहरी–ग्रामीण विभाजनलाई सम्बोधन गर्नु एक पेचिलो काम हो । मानिसले कहाँ बस्न पाउने, कहाँ काम गर्न पाउने वा कहाँबाट सार्वजनिक सेवा लिने भनेर निर्धारण गर्ने ‘हुकोउ’ प्रणालीमा थप सुधार यसैअन्तर्गत आउँछ । ग्रामिण इलाकामा थप लगानी पनि आवश्यक रहेको विश्लेषक बताउँछन् । ‘आप्रवासी कामदार र सहरवासीले फरक–फरक सार्वजनिक सेवा लिनुपरेको छ । सहर र गाउँबीचको यो दोहोरो संरचनालाई तोड्न हतारो भइसकेको छ,’ जुलाईको सुरुवातमा काईछिन फोरममा प्रभावशाली श्रम अर्थशास्त्री तथा सेन्ट्रल बैंकका सल्लाहकार काई फेङले भनेका थिए ।

अझै पनि वृद्धि हासिल गर्न र शहर–गाउँबीचको खाडल कम गर्न सहरीकरण प्रमुख माध्यम बन्ने चिनियाँ नीति–निर्माताको ठम्याइ छ । सहरीकरणले मजदुरलाई उच्च उत्पादकीय क्षेत्रमा तान्ने उनीहरूको बुझाइ छ ।

चोङक्विङका पूर्व मेयर हुवाङ क्विफ्यान कसरी एकिकृत बजार बनाउने भन्नेमा आगामी सुधारको कार्यक्रम केन्द्रीत हु्नुपर्ने बताउँछन् । ‘चिनियाँ अर्थतन्त्रको अति ठूलो एकल बजारको सम्भाव्यता पेश गर्न र विश्व अर्थतन्त्रका लागि बलियो गुरुत्वाकर्षण मैदान तयार गर्न यो काम अति प्राथमिकताका साथ गर्नैपर्ने जरुरी छ,’ अहिले सांघाईस्थित फुडान विश्वविद्यालयमा भिजिटिङ प्रोफेसर रहेका हुवाङले भने, ‘आन्तरिक सर्कुलेशन र आर्थिक प्रणालीका वाधाहरू हटाउन हामीले रूपान्तरणकारी दिमाग र व्यवहारिक मादपण्डको प्रयोग गर्न जरुरी छ । र, हाम्रा नयाँ नीतिमार्फत नयाँ बजार विस्तार गर्नुपर्छ ।’

यस्ता मागहरूमा सीले ध्यान दिन्छन् भन्ने स्पष्ट छैन । चीन अझै पनि विश्वव्यापी आपुर्ति चक्रमा गहिरोगरी बाँधिएको छ र विदेशी लगानीका लागि मुख्य स्थान हो । हङकङ विश्वविद्यालयमा विज्ञान तथा प्रविधिका प्रोफेसर डेभिड ज्विग नीति–निर्माणको तहमा निकट भविष्यमै (छोटो समयभित्रै) आर्थिक सुधार योजना पर्नसक्ने संभावना कम देख्छन् । ‘चीनको घरेलु बजार आफैं एक शक्तिशाली गुरुत्वाकर्षण हो । यहाँको बजारमा जोखिम हुँदा हुँदै पनि विदेशी कम्पनीलाई तान्दा आफ्नै अस्तित्व रक्षाका लागि यसो गरिदैँ छ भन्ने सन्देश र अर्थ लाग्न जान्छ,’ उनले भने,‘तर विदेशी कम्पनी र सम्बन्धित देशको आर्थिक सुरक्षामा खतरा तिव्र बढ्दै जाँदा चिनियाँ व्यापारवादले बजार केन्द्रित तथा खुला रणनीतिभन्दा ज्यादा शत्रुतापूर्ण सम्बन्ध विश्वसँग सामना गर्नुपर्ने हुनसक्छ ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved