बैतडीमा पेट्रोलियम पदार्थको अवैध कारोबार, पेट्रोल २२० रुपैयाँमा बेच्दै

नेपालभ्युज

बैतडीमा पेट्रोलियम पदार्थको अवैध कारोबार, पेट्रोल २२० रुपैयाँमा बेच्दै

बैतडी। बैतडीमा एक सयभन्दा बढी व्यापारीहरू नियमविपरीत डिजेल र पेट्रोलको व्यापार गर्दै आएका छन् । उनीहरू धनगढी र डडेल्धुराबाट ड्रममा पेट्रोलियम पदार्थ ल्याएर बिक्री गर्ने गरेका छन्।

जिल्लामा एक मात्र आयल स्टोर रहे पनि एक सयभन्दा बढी व्यापारीहरूले अवैधरूपमा पेट्रोलियम पदार्थको कारोबार गर्दै आएका हुन् । जिल्ला सदरमुकाम गोठलापानी, देहिमाण्डौं, पाटन, खोड्पे, गोकुलेश्वर, सिल्लेगाडालगायतका सबै बजारमा दर्जनौँ व्यापारीले खुलारूपमा पेट्रोलियम पदार्थको बिक्री वितरण गर्छन् ।

यसरी पेट्रोलियम पदार्थ बिक्री गर्दा दुर्घटनाको जोखिम छ भने उनीहरूले अत्यधिक महँगो भाउमा बिक्री गर्दा यातायात व्यवसायीले गाडी भाडासमेत बढाएका छन् । यस्ता व्यापारीका कारण बजारहरूमा दुर्घटनाको जोखिम बढेको निर्माण व्यवसायी मदनमोहन विष्टले बताए ।

उनले भने, ‘जिल्लाका व्यस्त बजारहरूमा ड्रममा भरेर डिजल र पेट्रोल राखिएको छ । अति प्रज्जवलनशील पदार्थमा सामान्य आगो लागेमा बजार नै सखाप हुने जोखिम छ । औषधि पसल, होटल तथा मदिरा पसल, कपडा पसल, जुत्ता पसल, किराना पसलदेखि तरकारी पसलसम्ममा पेट्रोलको बिक्री हुन्छ ।’

अवैध कारोबारीले डिजेल र पेट्रोल अत्यधिक मूल्यमा बिक्री गर्दै आएका छन् । डिजेलको मूल्य प्रतिलिटर १७३ रुपैयाँ भए पनि अवैध कारोबारीले २१० रुपैयाँ प्रतिलिटरमा बेच्दै आएका छन् ।

यस्तै, पेट्रोलको मूल्य १८५ रहेकोमा अवैध कारोबारीले कम्तीमा २२० रुपैयाँमा बेच्दै आएका छन् । अवैध कारोबार गरिरहेका व्यापारीबाट सरकारी कार्यालयहरू सहित अन्य उपभोक्ताले पेट्रोलियम पदार्थ खरिद गर्दै आएका छन् । बैतडीको सतबाँजमा रहेको एक मात्रै भण्डारी आयल स्टोरले भने डिजल मात्रै बेच्ने गरेको छ ।

जिल्ला प्रशासनले पटक-पटक पेट्रोलको कारोबार गर्न निर्देशन दिए पनि उक्त आयल स्टोरले तीन वर्षदेखि आनाकानी गरिरहेको छ ।जिल्लाको खोड्पेमा स्थानीय व्यापारी भानु विष्टले पाँच वर्षअघि नै पेट्रोल पम्प खालेकोमा अझै सञ्चालन अनुमति पाएको छैन । अनुमतिका लागि पटक-पटक जिल्लादेखि केन्द्रसम्म धाएका विष्टले अनुमति नपाएपछि पेट्रोल पम्पमा गरेको करिब एक करोड लगानी खेर गएको छ । तर, जिल्लामा अर्को पम्प नहुँदा उपभोक्ता भने मारमा परेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved