महान्यायाधिवक्ता खातीलाई तत्काल हटाउन एमालेको माग

नेपालभ्युज

महान्यायाधिवक्ता खातीलाई तत्काल हटाउन एमालेको माग

काठमाडौं । बलात्कार, भ्रष्टाचारजस्ता आरोपमा मुछिएकाहरूको संरक्षण महान्यायाधिवक्ता खम्बबहादुर खातीले नै गरेको भन्दै नेकपा एमालेका सांसद महेश बस्नेतले राजीनामा माग गरेका छन् ।

बिहीबारको प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै बस्नेतले सरकारको सल्लाहकारसमेत रहेका महान्यायाधिवक्ता आपराधिक गतिविधिमा जोडिएकाले तत्काल प्रधानमन्त्रीले उनलाई बर्खास्त गर्नुपर्ने माग गरे ।

महान्यायाधिवक्ता खातीले ललितपुरकी १३ वर्षीया बालिका बलात्कार घटनाका आरोपीलाई उन्मुक्ति दिने प्रयास गरेको, बाजुरामा आफ्नै दाजुलाई जिताउन सेटिङ गरेको, कुमारी बैंकको घोटाला काण्डमा मुछिएका व्यक्तिलाई छुटाउन मुद्दा कमजोर पार्ने प्रयास गरेको, भक्तपुरको चाँगुनारायण स्थित नेपाल इन्जिनियरिङ कलेजमा भएका भ्रष्टाचारका आरोपीको मुद्दा कमजोर पार्न लागेको, बालुवाटार जग्गा काण्डमा मुछिएका व्यक्तिको मुद्दा कमजोर पार्ने काममा लागेको आरोप लगाउँदै उनलाई तत्काल बर्खास्त गर्नुपर्ने बस्नेतको माग छ ।

‘२०५१ सालदेखि नेपाल इन्जिनियरिङ कलेज भक्तपुरमा सञ्चालित छ । चाँगुनारायणको तत्कालिन गाविसले १७४ रोपनी जग्गा दिएर सरकार र नगरपालिकाको तर्फबाट करोडौं पैसा हालेर यो इन्जिनियरिङ कलेज सञ्चालित छ । पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यो कलेजमा अहिले २३ सय विद्यार्थी पढ्छन् र २५० जना शिक्षक कर्मचारीले काम गरिरहेका छन् ।’ सांसद महेश बस्नेतले अगाडि भने–‘२०६० सालमा सामाजिक संस्थाको रूपमा दर्ता भएर आएको छ । र, २०७३ सालमा यसको सञ्चालक समितिमा लम्बोदर न्यौपाने आए त्यसपछि उनले २०७४ वैशाखमा कम्पनीको रूपमा परिणत गर्न खोजे ।’

तत्कालिन पाटन उच्च अदालतले न्यौपानेका पक्षमा फैसला गरेको र त्यसको पुनरावलोकन मुद्दा सर्वोच्चमा विचाराधीन रहँदा रहँदै महान्यायाधिवक्ताले साउन १९ गते लम्बोदर न्यौपानेसँग भेट गरेको बस्नेतले संसद्मा बोल्दै जानकारी गराए ।

नेपाल इन्जिनियरिङ कलेजकै सम्बन्धमा लम्बोदर न्यौपानेविरुद्ध असंख्य मुद्दाहरू रहेको जनाउँदै सांसद बस्नेतले महान्यायाधिवक्तालाई नै प्रभावित गरेर मुद्दाहरू फैसला गराउन खोजेको आरोप लगाए । उनले यस्ता विवादित व्यक्तिलाई महान्यायाधिवक्ता जस्तो गरिमामय पदमा राख्न नहुने भन्दै तत्काल हटाउन माग गरे ।

नेपाल इन्जिनियरिङ कलेजमा भएको सेटिङमा खाती र न्यौपाने संलग्न रहेकाे नेपालभ्युजले रिपोर्ट प्रकाशित गरेकाे थियाे ।

हेर्नुहोस यो रिपोर्ट …
सरकारवादी मुद्दामा विपक्षीसँग महान्यायाधिवक्ताको उठबस, लम्बोदर न्यौपानेको दौडधुप


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved