मोटरसाइकल चोरेको आरोपमा परिवारमाथि नै कुटपिट (भिडिओ)

नेपालभ्युज

मोटरसाइकल चोरेको आरोपमा परिवारमाथि नै कुटपिट (भिडिओ)

जनकपुरधाम। महोत्तरीको औरही नगरपालिका ६ वैरियामा चोरीको आरोपमा एक परिवारको आमा र छोरालाई स्थानीयले चरम यातना दिएको घटना सार्वजनिक भएको छ।

ती आमा छोरालाई रस्सीले हात बाँधेर, घिसार्दै र कुटपिट गर्दै सोही गाउँका आरोपीमध्ये एकको घरमा लगेर तीन घण्टाजति बन्धक नै बनाएर राखेको अवस्थामा प्रहरीले असार २४ गते उद्धार गरेको थियो।

इलाका प्रहरी कार्यालय रामगोपालपुरले घटनाबारे जानकारी पाएलगतै घटनास्थलमै गएर आमाछोरालाई उद्धार गराएको इन्चार्ज सई आदित्य सिंहले जानकारी दिए। तर पीडित पक्षबाट तत्कालै जाहेरी दिन नसक्दा तथा घटनास्थलको सत्यता प्रहरीसमक्ष पुग्न सकेको थिएन। आरोपी तत्काल छुटेका छन् भने पीडित न्यायका लागि भौतारिँदैछन्।

यस्तो थियो घटना

गत साता औरही नगरपालिका-६ बैरियाका सीता शरण दास (तत्मा) को मोटरसाइकल घरबाटै चोरी भएकोमा उनले प्रहरीमा मोटरसाइकल चोरी भएको निवेदन दिएका थिए।

सोहीअनुरूप प्रहरीले उनको मोटरसाइकल खोज्दै पनि थिए। तर असार २४ गते अचानक उनी एक हुल मानिस लिएर सोही ठाउँ निवासी राजेन्द्र मल्लिक (डोम) को घरमा आइपुगे।

घरमा कोही नभएको देखेपछि उनले खोज्न थाले र घरभन्दा करीब ५० मिटर अगाडि एक सार्वजनिक दलानमा बाँसको काम गर्दै गरेकी राजेन्द्रका श्रीमती ४० वर्षीया अनिता देवी, साइँली बुहारी २० वर्षीया निर्मला देवी र कान्छा छोरा १७ वर्षीय सुशील मल्लिकलाई भेटेपछि उक्त हुलले उनीहरुमाथि निर्घात कुटपिट गर्नुका साथै घिसार्दै र मोटो रस्सीले हात बाँध्दै सीता शरणको घरमा ल्याएर बन्धक बनाएर राखे।

प्रत्यक्षदर्शीहरुका अनुसार उनले आफ्नो चोरी भएको मोटरसाइकल कहाँ राखेको भनेर बन्धक बनाइएका आमा छोरालाई यातना दिएका थिए।

पीडित आमाछोराले आफूहरुलाई चोरीबारे केही थाहा नभएको भन्दै स्थानीयसमक्ष बचाइदिन गुहार मागे पनि कसैले सहयोग गरेनन्।

पीडित परिवारका राजेन्द्र मल्लिकले आफू जातिको सभामा भाग लिन गएका बेला आफ्नो परिवारलाई सीता शरणले बन्धक बनाएर राखेको खबर पाएको र सभाबाटै जातिका अगुवाहरुसहित इप्रका रामगोपालपुर पुगेर प्रहरीलाई साथै लगेर श्रीमती, छोरा, बुहारीलाई उद्धार गर्न सफल भएको बताए।

यस सम्बन्धमा इप्रका रामगोपालपुरका इन्चार्ज सई आदित्य सिंहले मोटरसाइकल चोरी विषयमा शंकाकै भरमा कुटपिट गरेको बुझ्नमा आएपछि तत्काल प्रहरी टोली गएर उद्धार गरी ल्याएको बताए।

सई सिंहले पीडित पक्षबाट त्यस्तो किसिमको कुनै उजुरी नआएको हुँदा आवश्यक कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाउन नसकेको बताए। यद्यपि दुवै पक्षलाई बोलाएर घटनाबारे सोधपुछ गर्ने प्रयासमा रहेको बताए।

उनले शंकाकै भरमा कानून हातमा लिएर कसैलाई कुटपिट गर्नु उचित नभएकाले जाहेरी आए त्यस्ता कुटपिट गरी यातना दिनेलाई कारबाही गरिने जनाए।

छोरासँगै आरोपीको कुटाइ खाई बन्धकमा परेकी आमा अनिताले भनिन्, “सीता शरणले आफूहरुमाथि ठूलो अन्याय गर्दै आफ्नो समाजमा रहेको मान प्रतिष्ठा समेत बरबाद गरे। हामीहरुले कसैको कुनै सामान चोरी नगरेको भए पनि आरोपीले मैले धामीलाई मोटरसाइकल चोरीबारे सोधेकोमा धामीले तिमीहरूको नाम बताएकोले तत्कालै मेरो मोटरसाइकल फिर्ता गर भन्दै कुटपिट गरे। बाँधेर जबरजस्ती चोरी स्वीकार गर्न दबाब दिए। हामीमाथि ठूलो अन्याय भयो।”

अनिताले कुटपिटबाट घाइते भएर गौशालास्थित अस्पताल गएर उपचार गराएको बताइन्। उनले प्रश्न गरिन्, “के गरिब हुनु नै चोर हुनुको प्रमाण हो ?’ उनले न्यायको लागि गुहार मागेकी छन्।

यस घटना सम्बन्धमा मानव अधिकार रक्षक सञ्जाल महोत्तरीका टिम असार २५ गते घटना स्थलमा पुगेर पीडित परिवारसँग जानकारी लिएका छन्।

सञ्जालका सचिव तथा ओरेक महोत्तरीकी कार्यक्रम अधिकृत लीला दियालीले महिला र उनका छोरा, बुहारीसँग भएको घटना अमानवीय भएको भन्दै दोषीलाई तत्काल कारबाही गर्नपर्ने माग गरेकी छन्।

उनले कुनै पनि बहानामा कुनै मानवसँग यस्तो हर्कत गर्नेलाई कडाभन्दा कडा सजाय हुनुपर्ने बताइन्। पीडितलाई न्यायका लागि चाहिने सहयोग गर्न सञ्जाल र ओरेक महोत्तरी सदैव तयार रहेको बताउँदै घटनामा भएको मानव अधिकार उल्लंघन क्षमायोग्य नभएको उनले बताइन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved