भद्रपुर : दुई कविता

अखबारमा विज्ञापन भएर
अनिकालका खबरहरू देखा पर्दछन्
कठै खाद्य संस्थानको लेभी !
कठै सदरमुकामको यो शहर !

नेपालभ्युज

भद्रपुर : दुई कविता

भद्रपुर

-पुरुषोत्तम सुवेदी

उपेक्षा र निराशाको
यो बस्तीमा
दिनको बाह्र बजे
जब कोही हिँड्छ
ऊ सोच्ने गर्छ
कतै यो कर्फ्यूग्रस्त
शहरको
कुनै भाग त होइन ?

यो मुर्दा शहर
जब क्षयरोगको घाउ बल्झन्छ
रक्तवमन गर्छ
र भूतको
आफ्नो वैभवको
कल्पना गर्दै
प्रत्येक अनुहार पढ्छ

कुनै जीवन नदेखेपछि
दिनमै निदाउँछ
जसरी अजंगको
भोटे कुकुर खुइलिएपछि
परित्यक्त
एक कुनामा काल पर्खन्छ।

000

भद्रपुर

-हीरा आकाश

दुई अढाई कोस जतिपर
पश्चिमको जलथल जंगल पनि
अब त उदाङ्ग भइसक्यो
अघिअघि बाघ-भालु कुद्ने जंगल
आजभोलि
झाक्कल झुक्कल
स्याल मात्र कुद्ने गर्दछ।

जंगलका रुख जति
एक्सपोर्ट भइसक्यो
अलिकति ठेकेदारका भुँडीमा गाँजिए
अलिकति अरूको भुँडीम भजिए
यहाँ टिम्बरले धेरै बने
यहाँ टिम्बरले धेरैलाई बनायो

धान चामल पनि उस्तै छ
कम्पनी सुक्तै छ, व्यापारी फुल्दै छ
चामलको आयात हुन छाडेको छैन
अखबारतिर पढ्न पाइन्छ,
‘यस आ. व. मा कम्पनी
…लाख क्वि. चामल
निर्यात गर्न सक्षम भयो
आउँदो आ.व. मा
…हजार मे. टन चामल
तेस्रो मुलुकमा निर्यात गर्ने
लक्ष्य राखिएको छ।’
प्रगति र विकासको एउटा आँकडा
अखबारले तेस्र्याइदिन्छ
रेडियोले फुकिदिन्छ
र, त्यही अखबारमा विज्ञापन भएर
अनिकालका खबरहरू देखा पर्दछन्
कठै खाद्य संस्थानको लेभी !
कठै सदरमुकामको यो शहर !
न्यास्रो छ संगम चोक
बुढो भइसक्यो जनता होटल
र बजार-अड्डाका चोकहरू
शहर मात्र रहर छ
यो पनि हराई जाला कि
सबैलाई यसैको डर छ
श्हर-भित्रभित्रै धमिरा लागेको छ
शहर-भित्रभित्रै लाब्रेकीरा सल्केको छ
मेची पनि आजभोलि
पर सरेकी छ
बगर अझै गन्हाउँछ
के-के कस्तो-कस्तो
कि सुनु मण्डलको रगतमा
बाफिएर निक्लेको
मिलको धुवाँ गनाएजस्तो
शहर- मकबुलको रक्सीले
ठस्सै गन्हाउँछ
बोल्न जिब्रो डराउँछ- बोल्नु हुँदैन
देखेर पनि यहाँ देख्नु हुँदैन
भुताहा शहर हो यो
किनकि
मुर्दा पनि दस्तखत गर्ने गर्छन्
तमसुकमा यहाँ।

बडो अजीव छ
यसको दन्त्यकथा पनि
बडो उदेक छ
यसको आत्मकथा पनि
सुन्नु भा’छ
भद्रपुरको दन्त्यकथा ?
सोध्नुहोस् कसैलाई
कुनै दिन
यो शहरको दन्त्यकथा
बस्
रातभरि दुधियाले मातेर
बिहानीपख फेरेको
बासी पिसाब गनाएजस्तो
ठस्सै गन्हाउँछ
भद्रपुरको दन्त्यकथा।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved