भरतपुर अस्पतालमा अतिविशिष्टिकृत सेवा शुरु

सबैखाले बहिरङ्ग सेवाको टिकट बिहान ७ः३० देखि १२ बजेसम्म हुनेछ भने जीओपीडी तथा पेइङ ओपीडीको टिकट पुनः दिउँसो १ देखि २ बजेसम्म काट्न सकिने व्यवस्था गरिएको छ।

भरतपुर अस्पतालमा अतिविशिष्टिकृत सेवा शुरु

भरतपुर। भरतपुर अस्पतालले अतिविशिष्टिकृत क्लिनिक शुरु गरेको छ। अस्पतालले बिहीबारदेखि योसेवा शुरु गरेको हो।

अस्पताल विकास समितिका अध्यक्ष डा.भोजराज अधिकारीले क्लिनिकको उद्घाटन गरेका हुन्। अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट प्रा डा कृष्णप्रसाद पौडेलले हाल ११ अतिविशिष्टिकृत क्लिनिक शुरु गरिएको बताए। केही दिनमा सेवा थप हुँदै जाने उनको भनाइ छ।

विशेषज्ञ क्लिनिक र जनरल बहिरङ्ग सेवा (जीओपीडी) बाट सिफारिस भएमा बिहान १० देखि १ बजेसम्म अतिविशिष्टिकृत सेवा लिन सकिने प्रा डा पौडेलले बताए। यसरी सिफारिस हुने बिरामीले अतिरिक्त शुल्क तिर्नु नपर्ने उनको भनाइ छ। उनले भने, “जीओपीडी र ओपीडीको टिकट लिने बिरामीले सिधै अतिविशिष्टिकृत सेवा लिन पाउँदैन, सिफारिस भएमा सेवा लिन पाउँछन्।”

दिउँसो १ देखि २ बजेसम्म पेइङ क्लिनिकमा रु ५०० को टिकट लिएर अपराह्न १ देखि ४ बजेसम्म अतिविशिष्टिकृत सेवा लिन सकिने पौडेलले बताए। सुपरस्पेशलिष्ट क्लिनिक सञ्चालन गर्ने उपत्यका बाहिर भरतपुर अस्पताल पहिलो भएको उनको दाबी छ। उनका अनुसार सुपरस्पेशलिष्ट अन्तर्गत कलेजो रोग, मुत्रासयसम्बन्धी, मुटुसम्बन्धी, मिर्गौलासम्बन्धी, टाउको तथा नसासम्बन्धी, हाडजोर्नीसम्बन्धी, घुँडा तथा जोर्नीसम्बन्धी, जोर्नी प्रत्यारोपणसम्बन्धी, नवजात शिशुसम्बन्धी, गिजासम्बन्धी र अनुहारको हाडजोर्नीसम्बन्धी सेवा रहेका छन्।

अस्पतालले बिरामीको चाप बढ्दै गएपछि बिहान ८ देखि बेलुका ५ बजेसम्म जनरल बहिरङ्ग सेवा (जीओपीडी) सेवा शुरु गरेको छ। अस्पतालमा दन्त सेवाको बहिरङ्ग सेवा पनि बिहान ९ः३० देखि बेलुका ५ बजेसम्म सञ्चालन गरिएको छ। प्रा डा पौडेलका अनुसार अन्य नियमित बहिरङ्ग सेवा, शल्यक्रिया, क्लिनिकल सेवा बिहान ९ः३० देखि दिउँसो २ः३० बजेसम्म सञ्चालन हुनेछन्।

बहिरङ्ग र जीओपीडीको टिकट काट्ने समय पनि परिवर्तन गरिएको छ। सबैखाले बहिरङ्ग सेवाको टिकट बिहान ७ः३० देखि १२ बजेसम्म हुनेछ भने जीओपीडी तथा पेइङ ओपीडीको टिकट पुनः दिउँसो १ देखि २ बजेसम्म काट्न सकिने व्यवस्था गरिएको छ। हरेक शुक्रबार भने ओपीडीको जाँच १ः३० बजेसम्म र जीओपीडी तथा पेइङ ओपीडीको दिउँसो ३ बजेसम्म कायम रहने अस्पतालले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved