पाँच वर्षका लागि म्यान्चेष्टर सिटीमा अनुबन्धित भए हाल्याण्ड

नेपालभ्युज

पाँच वर्षका लागि म्यान्चेष्टर सिटीमा अनुबन्धित भए हाल्याण्ड

काठमाडौं। चर्चित युवा स्ट्राइकर एर्लिङ हाल्याण्डलाई इंग्लिस क्लब म्यान्चेष्टर सिटीले अनुबन्धित गरेको छ। इंग्लिस प्रिमियर लिग विजेता सिटीले पाँच वर्षका लागि हाल्याण्डसँग सम्झौता गरेको आफ्नो आधिकारिक वेभसाइटमार्फत घोषणा गरेको हो।

नर्वेका २१ वर्षीय स्ट्राइकर हाल्याण्ड यूरोपियन फुटबलका पछिल्लो समयका सबैभन्दा प्रभावशाली युवा खेलाडी हुन्। उनीमाथि धेरै ठूला क्लबहरूको आँखा थियो, जो उनका लागि ठूलो रकमसहित लगानी गर्न तयार थिए। जसमा स्पानिस क्लब बार्सिलोना र रियल मड्रिड पनि अग्रपंक्तिमा थिए।

तर आफ्नो बाबुकै पदछाप पछ्याउदै हाल्याण्डले सिटीसँग सम्झौता गरे। एर्लिङ हाल्याण्डका बाबु एल्फे हाल्याण्ड सिटीका पूर्वकप्तान थिए। ठीक १२ वर्षअघि सिटीले एल्फे हाल्याण्डलाई क्लबमा अनुबन्धित गरेको थियो। सन् २००० मा सिटीमा आवद्ध भएका एल्फेले तीन वर्ष सिटीबाट खेलेका थिए।

छोरा एर्लिङ हाल्याण्डसँग भने सिटीले २०२७ सम्मको लागि सम्झौता गरेको छ। ५१.२ मिलियन पाउण्डमा जर्मन क्लब बोरुसिया डर्टमण्डबाट उनलाई सिटीले टिममा भित्राएको हो। डर्टमण्डबाट खेलेका ८९ खेलमा उनले ८६ गोल गरेका छन्।

सिटीसँगको सम्झौता पत्रमा हस्ताक्षर गरेपछि उनले आफ्नो लक्ष्य पूरा गर्न सही ठाउँमा आइपुगेको प्रतिक्रिया दिए।  ‘‘सिटीसँग आवद्ध हुनु मेरो लागि मात्र होइन हाम्रो परिवारको लागि पनि ठूलो गर्वको विषय हो,’’ उनी भन्छन्।

‘धेरै वर्षदेखि हाल्याण्डमाथि हाम्रो नजर थियो, त्यसैले उनलाई म्यान्चेष्टर सिटीमा भित्र्याउन पाउँदा हामी निकै पुलकित भएका छौ। उनी यूरोपका पछिल्ला वर्षका उत्कृष्ठ स्ट्राइकर मध्येका एक हुन्,’’ हाल्याण्डसँगको सम्झौता पछि सिटीका फुटबल डाइरेक्टर टेसीकी बेगिरिस्टेनले बताए, ‘‘उनीसँग गोल गर्न सक्ने निकै असाधारण क्षमता छ। बोरुसिया डर्टमण्ड र विशेषगरी च्याम्पियन्स् लिगमा उनले गरेको प्रदर्शनले उनी निकै सफल खेलाडी बन्ने प्रमाणित गरिसकेको छ।’’

हाल्याण्ड यूरोपियन च्याम्पियन्स् लिगमा सबैभन्दा छिटो र कम उमेरमा २० गोल पूरा गर्ने खेलाडी हुन्। गत आइतबार मात्र उनले नर्वेका लागि २१ खेलमा २० गोल पुरा गरे। युफा नेसन्स् लिगको खेलमा स्विडेनलाई ३–२ ले हराउँदा उनले दुई गोल गरेका थिए।

२१ वर्षको उमेर नर्वेको राष्ट्रिय टिमको उच्च गोलकर्ता बन्न उनी मात्र १४ गोल पछाडि छन्।

उनलाई सिटीका सर्वाधिक सफल स्ट्राइकर सर्जियो अग्युरोको उत्तराधिकारीको रूपमा हेरिएको छ। साथै उनको आगमानपछि सिटीको उपाधिको सूचीमा खड्किएको यूरोपियन च्याम्पियन्स् लिग उपाधि जिताउन प्रशिक्षक पेप गुआर्डिओलालाई धेरै मद्दत पुग्ने आकलन छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved