गर्मी बढेपछि बन्द हुन थाले कैलाली र कञ्चनपुरका विद्यालय

गर्मी बढेपछि बन्द हुन थाले कैलाली र कञ्चनपुरका विद्यालय
फाइल तस्वीर

धनगढी। तराईंमा बढेको अत्यधिक गर्मी बढेपछि कैलाली कञ्चनपुरका विद्यालयहरु बन्द हुन थालेका छन्। अत्यधिक गर्मी भएपछि पठनपाठनमा समस्या भएकाले विद्यालय बन्द हुन थालेका हुन। कैलालीको धनगढीमा पनि विद्यालयले केही दिनका लागि बिदा दिन थालेका छन्।

धनगढीमा रहेको एक्सिस विद्याश्रमले ३१ जेठसम्मका लागि विद्यालयमा बिदा गरेको छ। गर्मीका कारण विद्यार्थी र शिक्षकलाई पठनपाठन गर्न समस्या भएपछि शुक्रबारदेखि चार दिनका लागि विद्यालय बन्द गरिएको विद्यालयका प्रिन्सिपल अनिता पन्तले बताइन्। उनले वार्षिक बिदाबाट कटौती हुने गरी गर्मी बिदा गरिएको जानकारी दिइन्।

कैलालीको गोदावरी नगरपालिकाले पनि ३१ गतेसम्मका लागि विद्यालयमा बिदा दिएको छ। भारतको उत्तरप्रदेश लगायतका राज्यमा लु बढेपछि नेपालको तराई क्षेत्रमा केही दिन यता अध्यधिक गर्मी छ। नेपालमा २२ जेठमा नै मनसुन प्रवेश गरे पनि सुदूरपश्चिममा अझै आइपुगेको छैन। लामो समयदेखि पानी नपर्दा गर्मीले कैलाली, कञ्चनपुरको जनजीवन प्रभावित भएको छ।

यस्तै धनगढी उपमहानगरपालिका मेयर गोपाल हमालले बिद्यालयले आफ्नो अनुकुलता अनुसार बर्खे बिदा र हिउदे बिदाबाट मिलान गर्ने गरि गर्मी बिदा गर्न सक्ने जानकारी गराएका छन्। मेयर हमालले विगत केही दिन देखि बढदै गएको गर्मीका कारण सामाजिक संजालमा विद्यालय बिदाका लागि दिएको सुझावमा आफ्नो ध्यानाकर्षण भएको भन्दै आवश्यकता अनुसार बिदा गर्न सुझाव दिएका हुन।

उनले आफ्नो फेसबुक पोस्टमा लेखेका छन्, ‘‘बर्खे बिदा र हिउदे बिदामा मिलान गर्ने गरि स्वयं विद्यालयले बिदा दिन सक्ने प्रावधान शिक्षा नियमावली– २०५९ को परिच्छेद १५ को दफा ८५ रहेको व्यहोरा जानकारी गर्दछु। साथै कुनै पनि विद्यालयले अधिकारीक रुपमा बिदाका लागि नभनेकाले पनि विद्यालय बिदाको सुचना गर्न असमर्थ थियौं। बिद्यालयले आफ्नो अनुकुलता अनुसार बर्खे बिदा र हिउदे बिदाबाट मिलान गर्ने गरि बिदा गर्न सक्ने जानकारी सबैमा गरिन्छ।’’

यस्तै कञ्चनपुरका विभिन्न स्थानीय तहले यसअघि नै गर्मीका कारण विद्यालयमा बिदा दिइसकेका छन्। धेरैजसो पालिकामा जेठ मसान्तसम्म बिदा गरिएको छ। गर्मीका कारण विद्यार्थीलाई विद्यालयमा समस्या भइरहेको छ। यसैगरी, शिक्षकलाई पठनपाठन गराउन समस्या भइरहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved