म्यानपावर कम्पनी तोडफोड गरेको भन्दै युट्युबरविरुद्ध उजुरी

युट्युबरले कार्यालयमा रहेकी महिला कर्मचारीलाई समेत अर्को कोठामा लगेर दुर्व्यवहार गरेको आरोप सञ्चालकले लगाएका छन्।

नेपालभ्युज

म्यानपावर कम्पनी तोडफोड गरेको भन्दै युट्युबरविरुद्ध उजुरी

काठमाडौं। आफूलाई ‘युट्युबर’ र ‘सामाजिक अभियन्ता’ बताउने समूहले काठमाडौंको महाराजगन्जस्थित एक म्यानपावर कम्पनीमा प्रवेश गरी तोडफोड गरेको भन्दै प्रहरीमा जाहेरी परेको छ। आफ्नो कार्यालय तोडफोड गरी कर्मचारीलाई दुर्व्यवहार गरेको भन्दै महाराजगन्जस्थित म्यानपावर कम्पनी-  नासा ह्युमन रिर्साेस प्रालिले ‘युट्युबर’विरुद्ध प्रहरीमा किटानी जाहेरी दिएको छ।

१५ जेठमा दिउँसो १ बजे मा ‘क्राइम टिभी युट्युब च्यालन’ का व्यक्तिहरूले तोडफोड गरेको महानगरीय प्रहरी वृत्त महाराजगन्जले जनाएको छ। म्यानपावर सञ्चालक युवराज गुरुङले म्यानपावरसँग विदेश जाने व्यक्तिहरू लगिदिने एजेन्टसमेत रहेका ‘सामाजिक अभियन्ता’ को समूह र युट्युबर मिलेर कार्यालय तोडफोड गरेको भन्दै किटानी जाहेरी दिएका छन्।

इलामका ३१ वर्षीय योङहाङ लिम्बु, उदयपुरका ३२ वर्षीय प्रकाश तामाङ, सुर्खेत दशरथपुरका रत्नबहादुर अधिकारी र क्राइम टिभी नामको च्यानल चलाउने कास्कीको पोखरा लामाचौरका कुशल खत्रीलगायतले जबरजस्ती कार्यालयमा घुसेको गुरुङको आरोप छ।

‘‘वैयक्तिक तथा संस्थागत गोपनीयताको समेत ख्याल नगरी जबरजस्ती बल प्रयोग गरी सुरक्षा गार्ड समेतलाई लत्याई भित्र प्रवेश गरी म जाहेरवाला र संस्थाको कर्मचारीलाई गालीगलौज गरी हातपात र लछारपछार गर्दै टेबल कुर्सी तोडफोड गरेको क्षति पुर्‍याई डर धाकधम्की दिई मानसिक यातना  दिएकाले मुलुकी अपराध संहिता २९७४ को दफा १सय १८ को  उपदफा २ बमोबोजिम हदैसम्मको कारबाही गरी पाऊँ,’’ जाहेरीमा उल्लेख छ।

युट्युबरले कार्यालयमा रहेकी महिला कर्मचारीलाई समेत अर्को कोठामा लगेर दुर्व्यवहार गरेको आरोप सञ्चालकले लगाएका छन्।


Comment

One thought on “म्यानपावर कम्पनी तोडफोड गरेको भन्दै युट्युबरविरुद्ध उजुरी

  1. yububers ले अराजकता फैलाएर समाजलाइ भद्रगोलमा फसाउदैछन । एउटा क्यामेरा, मोबाइल र लोगोको भरमा मानवीय भावनामाथी खेलवाड गरिरहेका छन । मानओ उनिहरुमा मान्छेमा हुनुपर्ने गुण नै छैन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved