मन्त्री परिवर्तनको निर्णयले नेकपा (एस) भित्र विवाद : मन्त्री झाँक्रीले भनिन्, ‘फिर्ता बोलाएको आधिकारिक जानकारी छैन’

“पार्टीले मन्त्री भएका नेताहरुलाई फिर्ता बोलाउने निर्णय गरेको सञ्चारमाध्यमबाट जानकारी पाएको छु,” मन्त्री झाँक्रीले भनिन्, “मलाई मन्त्री पदबाट फिर्ता बोलाएको आधिकारिक जानकारी छैन।”

नेपालभ्युज

मन्त्री परिवर्तनको निर्णयले नेकपा (एस) भित्र विवाद : मन्त्री झाँक्रीले भनिन्, ‘फिर्ता बोलाएको आधिकारिक जानकारी छैन’

काठमाडौं। नेकपा (एकीकृत-समाजवादी) पार्टीले सरकारमा रहेका आफ्नो पार्टीका मन्त्रीहरूलाई फिर्ता गरी नयाँलाई पठाउने निर्णय गरे पनि सोको कार्यान्वयनमा बाधा परेको देखिएको छ। फिर्ता हुनुपर्ने मन्त्रीले आफूलाई पार्टीको निर्णयबारे जानकारी नभएको बताएपछि सो पार्टीभित्र संकट देखिएको हो।

एकीकृत-समाजवादीबाट मन्त्री बनेका नयाँ मन्त्रीहरुको आज (सोमबार) शपथ ग्रहण गराउने कार्यक्रम तय भएको थियो तर विवादकै कारण प्रधानमन्त्री शेरबहादुर देउवाले नयाँ मन्त्रीको नाम राष्ट्रपति कार्यालयमा पठाउन ढिलाइ गरेका छन्।

राष्ट्रपति कार्यालयले भने यस विषयमा कार्यालयमा कुनै जानकारी नभएको बताएको छ। राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले भने, “मन्त्रीहरुको शपथ ग्रहणको सूचना हामीसँग आएको छैन।”

तर, एकीकृत समाजवादी पार्टीका उपमहासचिव डा. विजय पौडेलले भने आज शपथ ग्रहण हुने बताउँछन्। “पार्टीबाट नयाँ बन्ने मन्त्रीहरुको नाम प्रधानमन्त्री कार्यालयमा आइतबार मैले नै पठाएको हो। आज शपथग्रहण गर्ने कार्यक्रम थियो। आजै शपथ ग्रहण हुने मैले विश्वास गरेको छु”, उपमहासचिव पौडेलले भने।

पार्टीबाट मन्त्री भएका नेताहरुलाई एकीकृत समाजवादीले फिर्ता बोलाउने निर्णय गरेको बताउँदा शहरी विकासमन्त्री रहेकी पार्टीकी केन्द्रीय सचिव रामकुमारी झाँक्रीले फिर्ता बोलाउने विषयमा आफूलाई जानकारी नभएको बताइन्। “पार्टीले मन्त्री भएका नेताहरुलाई फिर्ता बोलाउने निर्णय गरेको सञ्चारमाध्यमबाट सुनेकी छु,” मन्त्री झाँक्रीले नेपालभ्यूज सँग  भनिन्, “मलाई मन्त्री पदबाट फिर्ता बोलाएको आधिकारिक जानकारी छैन।”

पार्टी उपमहासचिव डा. विजय पौडेलले भने नयाँ मन्त्रीहरुको नाम पठाइसकिएको दाबी गरे। “पार्टीका नेताहरुलाई जानकारी दिएर नै पार्टीले आफ्नो पार्टीका नेतालाई मन्त्रीबाट फिर्ता बोलाएको हो र नयाँ मन्त्रीहरुको नयाँ नाम पठाएको हो”, उनले भने।

पार्टीले भने आइतबार नै आफ्नो कोटाबाट मन्त्री भएका मन्त्रीहरुलाई फिर्ता बोलाउने निर्णय गर्दै नयाँ मन्त्रीहरुको नाम प्रधानमन्त्री कार्यालयमा पठाएको छ। एकीकृत समाजवादीले संस्कृति पर्यटन तथा नागरिक उड्यान मन्त्री प्रेम आलेका ठाउँमा पार्टीका प्रमुख सचेतक जीवनराम श्रेष्ठलाई मन्त्री बनाउने निर्णय गरेको छ।

हाल शहरी विकास मन्त्री रहेकी रामकुमारी झाँक्रीको स्थानमा मेटमणी चौधरीलाई नयाँ मन्त्री बनाउने पार्टीले निर्णय गरेको छ। यस्तै विरोध खतिवडा मन्त्री रहेको स्वाथ्य मन्त्रालयमा एकीकृत समाजवादीले भवानी खापुङलाई पठाउने निर्णय गरेको छ, जी सोही मन्त्रालयमा राज्यमन्त्री छन्।

हाल किसान श्रेष्ठ मन्त्री रहेको श्रम, रोजगार तथा समाजिक सुरक्षामन्त्रीको रुपमा शेरबहादुर कुँवरलाई मन्त्री बनाउने पार्टीले निर्णय गरेको छ। उनी गैरसांसद् हुन्। हीरा केसीलाई स्वास्थ्य राज्यमन्त्री बनाउने पार्टीले निर्णय गरेको छ।

मन्त्री परिवर्तन गर्न नामसहितको सिफारिशपत्र नेकपा एसका अध्यक्ष माधव नेपालले आइतबार नै प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाइसकेका छन् तर पार्टीभित्र मन्त्री परिवर्तनको विषयमा विवाद देखिएपछि सपथग्रहणका लागि राष्ट्रपति कार्यालयमा नाम नपठाइएको स्रोतको दाबी छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved