अछाममा उग्र बन्दै चुनावी विवाद : कार्यकर्ताबीचको झडपमा सर्वसाधारणको मृत्यु, तीन दिनदेखि उठेन शव

अछामको पञ्चदेवल विनायक नगरपालिकाको चुनावी विवादले उग्ररूप लिएको छ।

नेपालभ्युज

अछाममा उग्र बन्दै चुनावी विवाद : कार्यकर्ताबीचको झडपमा सर्वसाधारणको मृत्यु, तीन दिनदेखि उठेन शव

धनगढी। अछामको पञ्चदेवल विनायक नगरपालिकाको चुनावी विवादले उग्ररूप लिएको छ।

स्थानीय निर्वाचनका क्रममा नेकपा (एमाले) र नेपाली कांग्रेसका कार्यकर्ताहरुबीचको झडपमा परी एक सर्वसाधारणको मृत्यु भएको छ।

दुई पक्षबीच विवाद बढ्दै गएपछि जेठ १७ गते राति झडप भएको थियो। झडपका क्रममा केही व्यक्तिहरुलाई प्रहरीले नियन्त्रणमा समेत लिएको थियो। त्यही दिनदेखि बेपत्ता भएका १६ वर्षीय स्थानीय विनोद शाहीको शव शनिबार बिहान नगरपालिका-४, कालिकास्थानको तल्लो कुच्ची भिरमा मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कैलाश सिंह विष्टले जानकारी दिए।

किशोरको हत्यामा कांग्रेसका नेता तथा कार्यकर्ताको संलग्नता रहेको मृतकका आफन्तको आरोप छ। आफन्तले जिल्ला प्रहरी कार्यालयमा १८ जनाविरुद्ध किटानी जाहेरी समेत दिएका छन्।

मृतकका आफन्तले आइतबार विनायक बजारमा प्रदर्शन गरेका थिए। आक्रोशित भिडलाई नियन्त्रणमा लिन ८ राउण्ड हवाई फायर समेत गरिएको प्रहरीले जनाएको छ। जिल्लाबाट खटिएको टोलीलाई घटनास्थल जान समेत अवरोध गरिएको थियो।

मृतकका आफन्तले दोषीलाई नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अघि नबढाएसम्म आन्दोलन जारी राख्ने तथा मृतकको शव उठाउन नदिने बताएका छन्। मृतकका आफन्त एमाले पक्षधर हुन्।

स्थलगत अनुसन्धानका लागि अहिले धनगढीबाट सुदूरपश्चिम प्रदेश प्रमुखको टोली घटनास्थल प्रस्थान गरेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved