भूसालमाथिको कारबाही सिफारिसले पुन: ब्यूँतिएला एमालेभित्र गुट

भूसाललाई अनुशासनको कारबाही गर्न विभागले गरेको सिफारिसमा पार्टी पदाधिकारीबीच मतैक्यता नभएको खण्डमा पार्टीमा दुई धार देखिनेछ।

नेपालभ्युज

भूसालमाथिको कारबाही सिफारिसले पुन: ब्यूँतिएला एमालेभित्र गुट

काठमाडौं। नेकपा एमाले स्थायी कमिटी सदस्य घनश्याम भूसाललाई पार्टीको अनुशासन विभागले कारबाहीको सिफारिस पार्टी सचिवालयलाई गरेको छ।

भूसाललाई अनुशासनको कारबाही गर्न विभागले गरेको सिफारिसमा पार्टी पदाधिकारीबीच मतैक्यता नभएको खण्डमा पार्टीमा दुई धार देखिनेछ।

मंसीरमा चितवनमा भएको पार्टीको १० औँ महाधिवेशनपछि पार्टीलाई एक ढिक्का रुपमा सञ्चालन गर्ने एमाले अध्यक्ष केपी शर्मा ओलीको चाहनामा धक्का लाग्नेछ। एक ढिक्का बनाएर पार्टी सञ्चालन गर्ने पार्टी अध्यक्ष ओलीको इच्छा भए पनि पार्टीभित्र गुट सक्रिय रहेको बताइन्छ। स्थानीय तहको निर्वाचनमा पार्टीभित्रै स्पष्ट गुट देखिँदा भूसालको कारबाही सिफारिससँगै पार्टीभित्रको गुट अझ बढी सक्रिय भएर जाने देखिन्छ।

स्थानीय तहको निर्वाचनमा पार्टी पराजित भएसँगै पार्टी अध्यक्ष ओलीले पदबाट राजीनामा दिनुपर्ने भूसालको माग थियो। एक टेलिभिजन कार्यक्रममा दिएको अन्तर्वार्तामा भूसालले स्थानीय तहको निर्वाचनमा पार्टी पराजित भएसँगै पार्टी अध्यक्षले त्यसको जिम्मेवारी लिनुपर्ने बताएका थिए।

भूसालले उक्त अन्तर्वार्तामा पार्टीको केन्द्रीय समितिमा स्थानीय तहको निर्वाचनमा पार्टीले करीब १६० स्थानीय तह मात्रै जित्ने तथ्यांक आएको पनि बताएका थिए। स्थानीय तहको निर्वाचनमा पार्टी नेतृत्वले लिएको नीतिकै कारण पार्टी पराजित भएको भन्दै उनले नेतृत्वको विकल्प खोजिनुपर्ने धारणा राखेपछि उनको अभिव्यक्तिलाई लिएर पार्टीको अनुशासन विभागले कारबाहीको सिफारिस गरेको हो।

पार्टीको अनुशासन विभाग प्रमुख केशव बडालले भूसाललाई कारबाही गर्न पार्टीको सचिवालयलाई सिफारिस गरेका छन्। विभागले गरेको सिफारिसउपर सचिवालयले लिने निर्णयमा भने पार्टीभित्र दुई धार देखिने स्पष्ट संकेत देखिएको हो। विभागले भूसाललाई कारबाहीको सिफारिस गरेसँगै पार्टी सचिव योगेश भट्टराईले समाजिक सञ्जालमार्फत नै त्यसको विरोध गरेका छन्।

भट्टराईले भनेका छन्, “अप्ठेरो बेलामा सबै सम्हालिनुपर्छ। आवेग, उत्तेजना र आग्रहमा गरिने कुनै पनि क्रिया र प्रतिक्रियाले सही ठाउँमा पुर्‍याउँदैन।” भट्टराईले आवेगमा नआउन सुझाव दिँदै नेतृत्वलाई भूसालको कारबाहीका विषयमा विचार गर्न आग्रह गरेका छन्।

पार्टीको पदाधिकारी सदस्य रहेका भट्टराईसहित अन्य नेता भूसाललाई पार्टीले कारबाही गर्न नहुने पक्षमा छन्। यसअघि सङ्लो एमाले हुँदा माधवकुमार नेपाल गुटमा रहेका नेताहरू भूसालको कारबाहीको विपक्षमा उत्रिने सम्भावना छ। हाल पार्टीको पदाधिकारी रहेका उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे, सचिवहरू भट्टराई, गोकर्ण विष्टलगायत नेताहरू भूसालको कारबाहीको विपक्षमा रहने सम्भावना छ।

हाल १९ जना रहेका पार्टीका पदाधिकारीमध्ये केही नेता विपक्षमा उत्रिएको खण्डमा पार्टीले एकमत भएर भूसाललाई कारबाही गर्ने सम्भावना देखिँदैन। पदाधिकारीमध्ये अन्य सदस्यले पनि भूसालको कारबाहीको विपक्षमा मत राख्ने सम्भावना रहेको एमाले नेताहरु नै बताउँछन्।

यसले गर्दा पार्टीलाई एक ढिक्का बनाएर सञ्चालन गर्ने अध्यक्ष ओलीको चाहनामा अर्को धक्का लाग्नेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved