निर्माण सम्पन्न नहुँदै कालोपत्र उप्किएपछि ठेकेदारलाई सोधियो सातदिने स्पष्टीकरण

मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङको हटिया–बुर्तिबाङ खण्डमा निर्माण सम्पन्न नहुँदै कालोपत्र उप्किएपछि ठेकेदारलाई सातदिने स्पष्टीकरण सोधिएकाे छ। 

नेपालभ्युज

निर्माण सम्पन्न नहुँदै कालोपत्र उप्किएपछि ठेकेदारलाई सोधियो सातदिने स्पष्टीकरण
फाइल तस्वीर

गलकोट। राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङको हटिया–बुर्तिबाङ खण्डमा निर्माण सम्पन्न नहुँदै कालोपत्र उप्किएपछि ठेकेदारलाई सातदिने स्पष्टीकरण सोधिएकाे छ।

निर्माण कम्पनीले कालोपत्र गरेर सडक नबुझाउँदै सडकमा खाल्डा परेको, मापदण्डअनुसार कालोपत्र नसकेको र आवश्यक पूर्वाधार सम्पन्न नगरेको भन्दै मध्यपहाडी राजमार्ग आयोजना कार्यालय पर्वतले निर्माणको जिम्मा पाएको स्वच्छन्द–शङ्करमाली जेभीलाई स्पष्टीकरण सोधेको हो।

मध्यपहाडी राजमार्ग आयोजना कार्यालय पर्वतले निर्माण व्यवसायीका नाममा आज एक सूचना प्रकाशित गर्दै सात दिनभित्र कार्यालयमा आई लिखित स्पष्टीकरण पेश गर्न भनेको छ। स्वच्छन्द–शङ्करमाली जेभीका आधिकारिक प्रतिनिधि ई. हेमराज गुभाजुका नाममा आयोजनाले सात दिनभित्र आधिकारिक प्रतिनिधि स्वयं कार्यालयमा उपस्थित भई स्पष्टीकरण पेश गर्न र सडक मर्मत तथा निर्माणको काम चाँडो सम्पन्न गर्न सूचना जारी गरेकाे छ।

कालोपत्र भएको सडकसमेत खाल्डा परेको, फिनिसिङ नगरेको र सम्झौताअनुसारको पूर्वाधार नबनाएको तथा पटक–पटक आयोजनाको निर्देशनलाई अटेरी गरेकाले स्पष्टकीकरण सोधेको मध्यपहाडी राजमार्ग आयोजना कार्यालयका प्रमुख नारायणदत्त भण्डारीले जानकारी दिए।

सात दिनभित्र निर्माण कम्पनी कार्यालयमा आएर उचित जवाफ नदिए प्रचलित कानुन एवं ठेक्का सम्झौताका शर्तबमोजिम कारबाही प्रक्रिया अघि बढाउने आयोजनाले चेतावनीसमेत दिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved