डेब्युमै फाइनल पुगेको गुजरात र राजस्थान आईपीएल उपाधिका लागि भिड्दै

पहिलो सिजनमा नै शानदार खेल प्रदर्शन गरेको गुजरातले अघिल्ला २ खेलमा राजस्थानलाई पराजित गरिसकेको छ। त्यसैले राजस्थानलाई तेस्रो पटक हराउन आजको खेलमा गुजरातको आत्मविश्वास पक्कै बलियो हुनेछ।

नेपालभ्युज

डेब्युमै फाइनल पुगेको गुजरात र राजस्थान आईपीएल उपाधिका लागि भिड्दै

काठमाडौं। इण्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) २०२२ को उपाधिका लागि आज राति गुजरात टाइटन्स् र राजस्थान रोयल्सबीच फाइनल भिडन्त हुँदैछ।

यसै सिजनदेखि आईपीएल खेल्न थालेको नवप्रवेशी क्लब गुजरात डेब्यू सिजनमा नै उपाधि उचाल्दै इतिहास रच्न चाहन्छ। उता सन् २००८ को पहिलो संस्करणमा उपाधि उचाले यता नजितेको राजस्थान भने दोस्रो उपाधिको खोजीमा छ। राजस्थान पहिलो संस्करणयता फाइनलमा पुगेको नै यो पहिलो पटक हो।

फाइनल खेल अहेमदावादको नरेन्द्र मोदी स्टेडियममा नेपाली समयअनुसार साझ ७ः४५ बजे शुरु हुनेछ। विश्वको सबैभन्दा ठूलो यस क्रिकेट स्टेडियमको दर्शक क्षमता एक लाख ३२ हजार रहेको छ। आजको फाइनल खेलमा करिब एक लाख २५ हजार दर्शक उपस्थित रहने बताइएको छ।

पहिलो सिजनमा नै शानदार खेल प्रदर्शन गरेको गुजरातले अघिल्ला २ खेलमा राजस्थानलाई पराजित गरिसकेको छ। त्यसैले राजस्थानलाई तेस्रो पटक हराउन आजको खेलमा गुजरातको आत्मविश्वास पक्कै बलियो हुनेछ।

राजस्थान भने सिजनमा गुजरातसँग भोगेका दुई हारको बदला एकैपटक फाइनलमा आएर लिने तयारीमा छ। लिग चरणको खेलमा राजस्थानलाई ३७ रनले हराएको गुजरातले पहिलो क्वालिफायरमा पनि सात विकेटको जित निकालेको थियो।

दुवै खेलको जितमा गुजरातको मिडिल अर्डरको ब्याटिङ निर्णयक बनेको थियो। यो लिगभरी गुजरातको हतियार भनेको नै अलराउण्डरको विष्फोटक ब्याटिङ नै हो।

भारतिय अलराउण्डर हार्दिक पाण्डेको कप्तानीमा रहेको गुजरातले फाइनलमा पनि हार्दिकसँगै डेभिड मिलर, रासिद खान र राहुल तिवतियाको ब्याटिङको भर परेको छ। बलिङका हालका विश्वका सर्वोत्कृष्ठ स्पिनिर रासिद खानका किफायती बलिङले गुजरातको बलिङ अर्डरलाई बलियो बनाएको छ।

यता जारी लिगमा सर्वाधिक रन जोड्ने ब्याटर जस बट्लर र सर्वाधिक विकेट लिने खेलाडी युजवेन्द्र चहल दुवै आफ्नो टिममा हुनु राजस्थानको प्लस प्वाइन्ट हो। चहलले २६ विकेट लिइसकेका छन् भने बट्लर एक्लैले ८२४ रन जोडेका छन्।

हालसम्म लिगमा ४ सतक प्रहार गरिसकेका बट्लरको ब्याट फाइनलमा पनि चलोस भन्ने राजस्थानको कामना छ। टप अर्डर ब्याटिङमा बढी निर्भर राजस्थानलाई बलिङमा भने चहलसँगै फाष्ट बलर ट्रेन्ट बोल्टको भर छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved