नीति कार्यक्रममा गेटा मेडिकल कलेज नसमेटिएपछि सुदूरपश्चिममा आन्दोलन

कैलालीको अत्तरियामा स्वःस्फुर्त रुपमा उठेको आन्दोलनले संयुक्त संघर्ष समितिसमेत घोषणा गरेको छ। स्थानीय लोकराज पाण्डेयको संयोजकत्वमा गठित ३५ सदस्यीय संघर्ष समितिले आन्दोलनलाई अझ कडा रुपमा अघि बढाउने समेत घोषणा गरेको छ।

नीति कार्यक्रममा गेटा मेडिकल कलेज नसमेटिएपछि सुदूरपश्चिममा आन्दोलन

धनगढी। सुदूरपश्चिम प्रदेशको गेटा मेडिकल कलेज सञ्चालनबारे सरकारले नीति र कार्यक्रममा सम्बोधन नगरेपछि जनस्तरमा आन्दोलन शुरु भएको छ।

विशेषज्ञ स्वास्थ्य सेवासहितको मेडिकल कलेज सञ्चालन गर्न सरकारले आलटाल गरेको भन्दै कैलालीको अत्तरिया, धनगढी लगायतका स्थानमा बुधबारदेखि सडक प्रदर्शन, चक्काजाम, धर्ना तथा सरोकारवालाहरुको बृहत भेला लगायतका कार्यक्रम भएका छन्। यस्तै, आज बिहीबार पनि बिहानैदेखि विभिन्न ठाउँमा धर्ना, हस्ताक्षर अभियान र प्रर्दशन भइरहेका छन्।

सुदूरपश्चिम प्रदेशका कैलालीसहित विभिन्न स्थानबाट स्थानीयहरुले सामाजिक सञ्जालमार्फत सरकारले गेटा मेडिकल कलेज सञ्चालनमा उदासिनता देखाएको भन्दै कडा रुपमा अभिव्यक्ति दिइरहेका छन्।

सात वर्षदेखि बन्न लागेको मेडिकल कलेजको भौतिक संरचना निर्माण कार्य करीब ९० प्रतिशत पूरा भइसक्दा पनि सरकारले आर्थिक वर्ष २०७९÷८० को नीति तथा कार्यक्रममा सञ्चालनका लागि सम्बोधन नगरेपछि आक्रोसित सुदूरपश्चिमबासीले जनताको आवाज नसुने आन्दोलनलाई व्यापक र कडा बनाउने चेतावनी दिएका छन्।

सरकारको आगामी वर्षको नीति तथा कार्यक्रममा निर्माण कार्य लगभग पूरा भइसकेको गेटा मेडिकल कलेज सञ्चालनबारे कुनै उल्लेख नगरी डडेल्धुरामा मेडिकल कलेज सञ्चालन गर्ने घोषणा गरेको छ।

सात वर्षदेखि गेटा मेडिकल कलेज पूर्वाधार निर्माण विकास समितिमार्फत भौतिक संरचना निर्माण जारी रहे पनि अझैं सो संस्था कुन मोडलमा सञ्चालन गर्ने भन्नेमा सरकारले स्पष्ट नीतिगत प्रबन्ध गरेको छैन।

पछिल्ला वर्षहरुमा सो संस्थालाई स्वास्थ्य विज्ञान प्रतिष्ठान, स्वास्थ्य विज्ञान विश्वविद्यालय वा मेडिकल कलेज कुन मोडलमा सञ्चालन गर्ने भन्नेमा विभिन्न तहमा बहस भए पनि सरकारले अझै कुनै नीतिगत टुङ्गो लगाएको छैन।

कैलालीको अत्तरियामा स्वःस्फुर्त रुपमा उठेको आन्दोलनले संयुक्त संघर्ष समितिसमेत घोषणा गरेको छ। स्थानीय लोकराज पाण्डेयको संयोजकत्वमा गठित ३५ सदस्यीय संघर्ष समितिले आन्दोलनलाई अझ कडा रुपमा अघि बढाउने समेत घोषणा गरेको छ।

संयोजक पाण्डेयले भने, “हामी अरु जिल्लामा मेडिकल कलेज खोल्नु हुँदैन भन्ने पक्षमा होइनौँ। तर, हाम्रो एउटै माग गेटा मेडिकल कलेज छिटो सञ्चालनमा ल्याउनुपर्यो भन्ने मात्रै हो।”

यता धनगढीमा स्वास्थ्य क्षेत्रका विशेषज्ञ, चिकित्सक, नागरिक अभियन्ता, शिक्षक, प्राध्यापक, बुद्धिजीवी, पेसाकर्मी, व्यवसायी, सञ्चारकर्मी, अधिकारकर्मी, लगायतको बृहत भेलाले मेडिकल कलेज सञ्चालनका लागि उठेका सबै आन्दोलनहरुलाई एकजुट बनाउँदै व्यापक संघर्षका कार्यक्रम अघि बढाउने निर्णय गरेको छ।

स्वास्थ्य क्षेत्रका विशेषज्ञ तथा अन्य सरोकारवालाहरुले सरकारले अनेक बहानामा गेटा मेडिकल कलेज सञ्चालनमा उदासीनता देखाइरहेको आरोप लगाएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved