श्रीलंकामा औषधि अभाव, बिरामीको जीवन संकटमा

आर्थिक संकट झेलिरहेको श्रीलंकामा औषधिकाे चरम संकट देखिएकाे छ। 

नेपालभ्युज

श्रीलंकामा औषधि अभाव, बिरामीको जीवन संकटमा

कोलम्बो। अकल्पनीय आर्थिक संकट झेलिरहेको श्रीलंकामा औषधिकाे चरम संकट देखिएकाे छ। जीवनदायी आवश्यक औषधिको अभावमा अस्पतालहरूले बिरामीको उपचार नै स्थगन गर्नु परेकाे चिकित्सकले बताएका छन्।

श्रीलंकाले ८० प्रतिशतभन्दा बढी औषधिको आपूर्ति आयातबाट गर्दै आएको भए पनि संकटका कारण विदेशी मुद्रा सञ्चिति सकिएको छ। औषधि भण्डार र पसल रित्तिएका छन् भने स्वास्थ्य सेवा प्रणाली ध्वस्त हुने अवस्थामा पुगेको छ।

राजधानी कोलम्बोको बाहिरी भागमा रहेको ९५० शय्याको एपेक्षा क्यान्सर अस्पतालमा परीक्षण र शल्यक्रियालगायत प्रक्रिया स्थगन गर्नुपर्ने परिस्थिति उत्पन्न भएको छ। क्यान्सरका बिरामीका लागि यो स्थिति ज्यादै जटिल भएको डा. रोशन अमरतुङ्गा बताउँछन् ।

“कहिलेकाहीँ हामी शल्यक्रियाको लागि योजना बनाउँछौँ तर त्यो दिन शल्यक्रिया गर्न असमर्थ हुन्छौँ”, उनले भने, किनकि औषधिको आपूर्ति छैन। औषधिको चरम अभावले बिरामीको ज्यान जोखिममा परेको छ।”

भारत, जापानलगायत बहुपक्षीय दाताले औषधि आपूर्तिमा मद्दत गरिरहेका भए पनि अस्पतालमा ती जीवनदायी औषधि आउन चार महिना लाग्न सक्ने उनी बताउँछन्। सरकारले पनि स्वदेश र विदेशमा रहेका निजी दातालाई सहयोगको लागि आह्वान गरेको उनले बताए। यदि स्थितिमा शीघ्र सुधार भएन भने धेरै बिरामीले मृत्युदण्डको सामना गर्नुपर्ने उनले बताए।

सन् १९४८ मा श्रीलंका स्वतन्त्र भएपछि सबैभन्दा ठुले आर्थिक संकटको सामना गरिरहेको छ। कोविड–१९ का कारण पर्यटन–निर्भर अर्थतन्त्रमा नराम्रो असर मात्र परेन तेलको मूल्यमा वृद्धि, लोकप्रिय कर कटौती र रासायनिक मलको आयातमा गरिएको प्रतिबन्धले कृषि क्षेत्रलाई पनि तहसनहस पारेको छ।

स्वास्थ्य सामग्री खरिदमा काम गर्ने एक सरकारी अधिकारीले डायलाइसिसका बिरामीका लागि सुई, प्रत्यारोपण गरेका बिरामीका लागि औषधि र क्यान्सरका केही औषधिलगायत करिब १८० औषधि क्रमशः सकिँदै गएको बताएका छन्।

भारतले हालै २५ टन औषधिसहितका चिकित्सा सामग्री आपूर्ति गर्नुका साथै अन्य सहायता उपलब्ध गराएकाे छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved